गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या « Khabarhub

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै पूर्णता पाउन सकेको छैन । जिल्ला सदरमुकाम तम्घासमा निर्माणाधीन ५० शय्याको अस्पताल बनाउन चार पटकसम्म म्याद थप गरिए पनि हालसम्म काम सम्पन्न नहुँदा अस्पतालमा आउने बिरामी समस्यामा परेका छन् ।

लामो समयसम्म भवन निर्माणमा ढिलाइ हुँदा अस्पतालको सेवा विस्तार प्रभावित हुनुका साथै दैनिक सेवा प्रवाहमा समस्या परेको अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए । विसं २०७८ असार १८ गते स्वच्छन्द–बानियाँ जेभी, मकवानपुरले उक्त अस्पतालको नयाँ भवन निर्माणको जिम्मा लिएको थियो । रु २५ करोड ९४ लाख लागतमा निर्माण हुन लागेको भवन तोकिएको समयमा सम्पन्न नभएपछि पटकपटक म्याद थप गर्नुपरेको हो ।

सघन सहरी तथा भवन निर्माण आयोजना पाल्पाका सूचना अधिकारी पुष्पराज भट्टका अनुसार हालसम्म भवनको भौतिक प्रगति ८५ प्रतिशत र वित्तिय ७२ प्रतिशत भएको छ । सम्झौताअनुसार निर्माण कम्पनीले विसं २०८० असार १७ गतेभित्र काम सम्पन्न गर्नुपर्नेमा निर्धारित समयमा काम नसकिएपछि पहिलो पटक विसं २०८० असार १८ देखि पुस १७ गतेसम्म म्याद थप गरिएको थियो ।

दोस्रो पटक विसं २०८० पुस १८ देखि विसं २०८१ पुस १७ गतेसम्म, तेस्रो पटक विसं २०८१ पुस १८ देखि विसं २०८२ कात्तिक ७ गतेसम्म र चौँथो पटक विसं २०८२ कात्तिक ९ गतेदेखि गत जेठ १७ सम्म म्याद थप गरिएको थियो । बाँकी काम सम्पन्न गर्न पाँचौँ पटक म्याद थप गर्ने प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।

‘भवन बाहिरको संरचनालाई अन्तिम रुप दिन तथा ट्रान्सफर्मर, जेनेरेटर जडानलगायत काम अझै बाँकी छन् । निर्माण व्यवसायीले कम जनशक्ति राखेर निर्माण गरिरहेकाले पनि कामले गति लिएको छैन’, सूचना अधिकारी भट्टले भने । उनका अनुसार निर्माण व्यवसायीलाई शीघ्र भवन सम्पन्न गराउन पत्राचार र ताकेता गर्दै आएको छ ।

भवन निर्माणमा भएको ढिलाइले अस्पतालको दैनिक सेवा सञ्चालनमा समस्या थपिएको छ । पचास शय्यामा स्तरोन्नति भइसक्दा पनि पुरानै संरचनाबाट सेवा दिनुपरेकाले सेवाग्राही र स्वास्थ्यकर्मी दुवैले सास्ती भोग्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।

गुल्मी अस्पतालमा दैनिक २५० जनाभन्दा बढी बिरामीले सेवा लिँदै आएका अस्पतालका प्रमुख विभव बस्यालले जानकारी दिए । बिरामी जाँच गर्ने कोठा पर्याप्त नहुँदा एउटै कोठाबाट सेवा दिनुपर्ने बाध्यता रहेको उनले बताए । निर्माण कम्पनीले रङरोगन, विद्युतीय उपकरण जडान, फिनिसिङ्लगायत काम समयमा नगरिदिँदा सेवा प्रवाह प्रभावित हुँदै आएको उनको भनाइ छ ।

अस्पतालका प्रमुख बस्यालले निर्माण सुस्त गतिमा भइरहेकाले भवन अभावका कारण अस्पतालको सेवा विस्तार र व्यवस्थापनमा चुनौती थपिएको बताए । सघन उपचार कक्ष (आइसियु) सञ्चालन तथा मिर्गौलाको डायलाइसिस सेवा विस्तार गर्न समस्या भइरहेको भन्दै बिरामीका लागि प्रतिक्षा गर्ने स्थान पनि अभाव रहेको उनको भनाइ छ ।

नयाँ भवन सम्पन्न भई सञ्चालनमा ल्याउनका लागि रेसुङ्गा नगरपालिकाले पनि पटकपटक निर्माण कम्पनीका प्रतिनिधिलाई ताकेता गरिरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । गुल्मी अस्पतालबाट हाल अर्घाखाँची, बागलुङ र प्युठानसम्मका बिरामीहरुले सेवा लिँदै आइरहेका छन् ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  १० : १० बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय