म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक टनेलमा लगाएको भेडेखुर्सानी (क्याप्सिकम) बिक्री गरेर ५० हजार रुपैयाँ आम्दानी गरिन्। ‘एटुजेड’ कृषि फार्मकी सञ्चालक भण्डारी भेडेखुर्सानीको बिक्री सकिएपछि गोलभेडा र रायोसाग लगाउने तयारीमा छिन्।
बसाइँसराइ, श्रमशक्तिको अभाव, बाँदरको उपद्रव र बढ्दो लागतका कारण परम्परागत खाद्यबाली छाडेर डडुवाका किसान अहिले व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन्। आठ वर्षअघि स्थानीय हराभरा कृषि सहकारी संस्थाको पहलमा कास्की र पर्वतका कृषि फार्म अवलोकन भ्रमण गरेपछि यहाँका किसानको खेती गर्ने शैली फेरिएको हो।
अवलोकन भ्रमणलगत्तै कृषि ज्ञान केन्द्रको सहयोगमा प्लास्टिक टनेल निर्माण गरी परीक्षणका रूपमा गोलभेँडाखेती सुरु गरिएको अगुवा कृषक मोहनबहादुर भण्डारीले बताए। “त्यतिबेला दुई वटा टनेलबाट सुरु भएको गोलभेँडाखेती अहिले गाउँभर करिब ५० वटा टनेलमा विस्तार भएको छ,” बहराइनको १० वर्षे वैदेशिक रोजगारी छाडेर हाल ९ वटा टनेलमा गोलभेँडा खेती गरिरहेका भण्डारीले भने, “पहिले तरकारी किनेर खाने डडुवा अहिले बेचेर नगद भित्र्याउने बनेको छ।” करिब ७५ हजार रुपैयाँको लागतमा बन्ने एउटा टनेलबाट एकै याममा १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने किसानको अनुभव छ।
६५ घरधुरी रहेको डडुवाका २० भन्दा बढी किसानले व्यावसायिक रूपमा र बाँकीले घरायसी प्रयोजनका लागि गोलभेँडाका साथै काँक्रो, सिमी, साग, मुला, गाजर र भण्टा खेती गर्दै आएका छन्। यहाँ उत्पादित तरकारी बेनी र पोखराका बजारमा बिक्री हुने गर्छ।
तर, पुलाचौर-डडुवा कच्ची सडकका कारण ढुवानीमा समस्या, सिँचाइको कमी, प्राविधिक सहयोगको अभाव र बिचौलियाका कारण उत्पादनले उचित मूल्य नपाउने चुनौती किसानसामु छ। बजारमा उपभोक्ताले प्रतिकिलो १२० रुपैयाँमा किन्ने गोलभेँडा किसानले भने आधा दाम अर्थात् ६० रुपैयाँमा मात्रै बिक्री गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्।
कृषि विकास कार्यालय म्याग्दीका प्रमुख सञ्जिव बाँस्तोलाले डडुवा तरकारीखेतीमा नमुना बन्दै गएको र कार्यालयले साना सिँचाइ पोखरी, प्लास्टिक घर तथा यान्त्रिक हलोमा अनुदान दिँदै आएको बताए। बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले पुलाचौर–नयाँगाउँ खण्डको सडक स्तरोन्नति गर्ने तयारी भइरहेको र उपजको बजारीकरणका लागि बेनीमा कृषि बजार सञ्चालनको तयारी गरिएको जानकारी दिए।












प्रतिक्रिया