काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म एक्लै भएँ’ भन्नु सामान्य भइसक्यो । अहिले फिल्म ‘पार्वती’की नायिका तथा निर्माताले एक्लो महसुस गरेर स्ट्याटस लेख्न भ्याएकी छन् ।
पहिलो सातामा जति हल्ला–खल्ला गरे दोस्रो साताले फिल्मको वास्तविकता देखाइहाल्छ । कमजोर व्यापार गर्ने फिल्मको शो संख्या कटौती भइहाल्छ । अनि बल्लतल्ल भरिएको एकाध हल पुगेर गरेको ‘हल भिजिट’को फन्डा त्यही बेकामे ठहर हुन्छ ।
‘पार्वती’को हकमा त्यही भएको छ । कमजोर अकुपेन्सीका साथ यो फिल्म चलेको छ । व्यापार उत्साहपूर्ण छैन । अनि दर्शक भेट्न मोफोसलको हलमा निस्किएकी नीताले नेपालगञ्जबाट फेसबुकमा लेखिन्, ‘म एक्लै छु । मेरो यात्रामा एक्लै उभिएकी छु । तर, तपाईंहरूको साथ, माया र हौसलाले मलाई निरन्तर ऊर्जा दिइरहेको छ ।’
नीताले ‘एक्लै छु’ भन्नुको अर्थ यही क्षेत्रका व्यक्तिहरूले फिल्म प्रदर्शनमा क्रममा साथ नदिएको अर्थ जान्छ । उनले महसुस गरेको पनि त्यही हो ।
यही बुझाइले कलाकार तथा निर्माता दीपकराज गिरीले नीताको कमेन्टमा लेखे, ‘यहाँ निर्माताको पीडा नै यही हो । जब चलचित्र रिलिजको मुखमा आउँछ, त्यसपछि ऊ लगभग एक्लै हुन पुग्छ । लड्ने एक्लै हो । तिम्रो मन राम्रो छ । राम्रो मान्छेलाई अन्ततः राम्रै हुन्छ ।’
तर, रोचक कुरा दीपकको कमेन्टको रिप्लाई गर्न नीताको सट्टा अर्का निर्माता तथा निर्देशक सन्तोष सेन आइपुगे । रिप्लाई गर्नु सामान्य नै होला ! तर, जुन विषयमा दीपक र सन्तोषको दुस्मनी भयो, त्यसैसँग सम्बन्धित नीताको पोस्टमा उनले कटाक्ष पूर्ण रिप्लाई गरे ।
सन्तोषले दीपकलाई रिप्लाई दिएका छन्, ‘उहाँलाई त प्रहार कसैले गरेनन् र यहाँ त आफ्नै क्षेत्रका मानिसहरू धात धोएर लाग्छन् । त्यो नि समूह बनाएर ।’
यो पनि : दीपकराजको हललाई बहिष्कार गर्ने सन्तोषको गोप्य योजना
दीपक र सन्तोषबीच के भएको थियो ?
सन्तोष र दीपकको सम्बन्ध पछिल्लो दुई वषदेखि राम्रो छैन । ०८१ को दशैँमा दीपकको फिल्म ‘छक्का पञ्जा ५’सँग विराज भट्टका छोरा समीरको डेब्यू फिल्मले बक्स अफिस प्रतिस्पर्धा गरेदखि नै उनीहरूको दुस्मनी सतहमा आएको हो ।
त्यसबेला ‘छक्का पञ्जा ५’को समर्थक र ‘१२ गाउँ’ समर्थकबीच सामाजिक सञ्जालमा राम्रै भनाभन चल्यो । धेरै यो साइबर सेनाबाट भएको नाटक हो भन्ने बुझे ।
यता दीपकले पनि फिल्म हलबाट उत्रिएपछि सन्तोषमाथि आरोप लगाए, ‘साइबर सेना कमान्डर’ ।
समीरलाई फिल्म ‘बलिदान’मा साइन गरिसकेको व्यवासायिक फाइदाका लागि उनलाई ब्रान्डिङ गर्न सन्तोषले साइबर सेना खटाए कि ? भन्ने आशंका त्यसबेला भएकै हो ।
०८२ को दशैँमा सन्तोषको फिल्म ‘बलिदान’ प्रदर्शनमा आयो । यो पटक दीपकको फिल्म थिएन । तर, यी दुईको शत्रुता फेरि देखियो । फेसबुकमा बाजाबाज गरे ।
दीपकले सन्तोष लक्षित गरी भनेका थिए, ‘आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरुको फिल्मलाई गाली गर्न लगाउने काम बन्द गरौं ।’
काउन्टरमा सन्तोषले दीपकलाई नै साइबर सेना परिचालन गरेको आरोप लगाए । ‘पापी र तुच्छ’सम्म भन्न भ्याए । दीपकले पनि सन्तोषलाई ‘व्यङ्ग्य र बौद्धिकता थाहा नभएको’ भन्दै खसाले ।
अर्थात्, यी दुईबीच सम्बन्ध बिग्रिएको कारण हो– अस्वस्थ व्यवसायिक प्रतिस्पर्धा ।
उनीहरूका लागि एक अर्का ‘आफ्नो फिल्म चलाउयन प्रतिस्पर्धामा आएको फिल्मलाई खुइल्याउन लागि पर्ने व्यक्ति’ हुन् ।
अझ समूह नै निर्माण गरेर आफूविरुद्ध अर्को पक्ष लाग्ने उनीहरूको बुझाइ छ ।
यो अवस्थामा दीपकको कमेन्ट रिप्लाई गर्न सन्तोष पुगे । त्यो पनि पुरानै कुरा सम्झाउने गरी ।











प्रतिक्रिया