काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जाने–नजाने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र दुई धार देखिएको छ। प्रधानमन्त्री शाह सेप्टेम्बर ८ देखि हुने राष्ट्रसंघको महासभामा नजाने पक्षमा छन् । तर रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री महासभामा जानुपर्ने पक्षमा छन्।
बिहीबार बसेको पार्टी सचिवालय बैठकपछि केही नेताहरूले यसबारेमा अनौपचारिक रूपमा कुराकानी गरेका थिए। एक नेताका अनुसार सभापति लामिछानेले प्रधानमन्त्रीलाई भेटेर महासभामा भाग लिनु भन्ने तयारी गरेका छन्।
‘सभापतिज्यूको लाइन प्रधानमन्त्री महासभामा जानुपर्छ भन्ने हो। विपक्षी दलहरू र विज्ञहरूले पनि जानुपर्छ भन्ने आवाज उठाइरहनुभएको छ। त्यसकारण सभापति पनि यो कुरामा क्लियर हुनुहुन्छ,’ लामिछाने निकट ती नेताले भने, ‘प्रधानमन्त्री पनि नजाने भन्ने अडानमा त हुनुहुन्न। केही मिसअन्डरस्ट्यान्डिङ भएको हुन सक्छ। दुई नेताले टुङ्गो लगाउनुहुन्छ।’
ती नेताले प्रधानमन्त्री र सभापतिबीच महासभाबारे अहिलेसम्म औपचारिक रूपमा कुरा नभएको बताए।
‘हामीले अघि पनि उहाँसँग बुझेका थियौँ। त्यसकारण प्रधानमन्त्रीलाई सभापतिले भेटेर एकपटक आग्रह गर्ने कुरा भएको छ,’ उनले भने।
यस विषयमा पार्टीको आधिकारिक धारणा के हो भनेर खबरहबले पार्टी प्रवक्ता जगदीश खरेललाई सम्पर्क गरेको थियो। खरेलले पनि सभापति र प्रधानमन्त्री बसेर यो विषय टुङ्गो लगाउने जानकारी गराए।
‘आज बसेको सचिवालय बैठकमा यो विषयमा कुरा भएन। तर सभापति र प्रधानमन्त्री भेटेर छलफल हुन बाँकी छ। अबको केही दिनभित्रै उहाँहरूबीच छलफल होला,’ खरेलले खबरहबसँग भने।
‘पार्टीको आधिकारिक लाइन के हो भन्ने तपाईंले प्रश्न गर्नुभयो। यसबारेमा खासै पार्टीभित्र औपचारिक छलफल हुनै पाएको छैन। प्रधानमन्त्रीले एकपटक निर्णय गर्नुभयो, त्यसपछाडि यत्रो विपत्ति आएको छ। त्यसैले केही न केही छलफल होला,’ उनले भने।
पन्छिए सरकारी प्रवक्ता
परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भूमिमन्त्री प्रतिभा रावल, कानुनमन्त्री सोबिता गौतमलगायतका नेताहरू प्रधानमन्त्री महासभामा भाग लिन जानुपर्ने पक्षमा छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे औपचारिक कुराकानी नभए अनौपचारिक कुराकानी भने भएको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले पनि प्रधानमन्त्री आजसम्म नजाने पक्षमा रहेको बताए । तर पत्रकारहरूसामु अनिर्णितजस्तो अवस्थामा रहेको प्रतिक्रिया दिएका छन् ।
मन्त्रिपरिषद् बैठकपछि प्रवक्ता पोखरेललाई यसबारे प्रश्न गर्दा उनले को जानेभन्दा पनि कस्तो विषय उठाउने भन्ने कुरा महत्त्वपूर्ण रहेको बताए। ‘प्रधानमन्त्री जाने–नजानेभन्दा पनि हाम्रो आवाज विश्वमा पुर्याउनु बढी महत्त्वपूर्ण कुरा हो,’ पोखरेलले भने।
कुन माध्यमबाट र कसरी आवाज उठाउने भन्ने विषयमा छलफल हुन बाँकी रहेको उनको भनाइ थियो।
महासभामा जानुपर्ने दबाब
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा यही सेप्टेम्बर ८ मा सुरु हुँदैछ। महासभामा प्रधानमन्त्री नै उपस्थित भएर नेपालको जलवायु परिवर्तन र पछिल्लो बाढीपहिरोलगायतमा आवाज उठाउनुपर्ने माग बढ्दो छ। अझ भदौ १० को भोटेकोसी संकट विश्वभर राख्न प्रधानमन्त्री जानैपर्ने स्वर उठेको छ ।
विश्वका राष्ट्र तथा सरकार प्रमुखहरू न्यूयोर्कमा भेला हुन लाग्दा नेपालबाट परराष्ट्रमन्त्री शिशिर खनाल जाने यसअघि जानकारी गराइएको थियो। तर सत्तापक्षसँगै विपक्षी दलहरूले पनि प्रधानमन्त्री नै महासभामा जानुपर्ने माग गरेपछि सरकार अनिर्णित देखिएको हो।
संयुक्त राष्ट्रसङ्घको औपचारिक अधिवेशन ८ सेप्टेम्बरमा सुरु भएर उच्चस्तरीय बहस २२ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२६ सम्म चल्नेछ।
प्रधानमन्त्रीले यो महासभामा सहभागी नहुनु देशका लागि ठूलो घाटा हुन सक्ने विश्लेषण हुन थालेको छ।
बिहीबार प्रतिनिधिसभामा सत्तारुढ दलकै सांसद मनिष झाले पनि प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको महासभामा जानुपर्ने सुझाव दिएका थिए। विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे, रामबहादुर थापा बादल, पुष्पकमल दाहाल प्रचण्डलगायतले पनि महासभामा प्रधानमन्त्री नै गएर नेपालको समस्याबारे स्पष्ट रूपमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने माग गरिरहेका छन्।
भदौ १० गते बुधबार रसुवागढीस्थित नेपाल–चीन सीमामा गएको पहिरोका कारण नेपालका चार जिल्ला प्रत्यक्ष प्रभावित भएका छन्। नेपालले भोगिरहेको विपत्तिको क्षतिपूर्ति विकसित देशसँग माग्नुपर्ने आवाज सत्तारुढ दल र विपक्षी दुवै पक्षबाट उठिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले त विकसित देशल नेपाललाई क्षतिपूर्ति दिनुपर्ने प्रष्ट धारणा राखिसकेका छन्
प्रधानमन्त्री शाहलाई ढिला नगरी अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको मुद्दा उठाउन आग्रह गरिएको छ। विज्ञसहित विपक्षी र सत्तापक्षकै नेताहरूले सुझाव दिइरहँदा पनि प्रधानमन्त्रीले महासभामा जानेबारे आधिकारिक निर्णय गरेको देखिँदैन।
यही विषयमा सुझाव दिन लामिछानेले प्रधानमन्त्री शाहलाई भेट्दै छन्।












प्रतिक्रिया