काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास उत्सर्जक राष्ट्रसँग जलवायु क्षतिपूर्ति माग्नुपर्न आवाज उठिरहेका बेला चीनले जलवायु परिवर्तन विश्वव्यापी चुनौती भएकाले यसको सामना सबैको सामूहिक प्रयासबाट गर्नुपर्ने जनाएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चीन जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक प्रभाव न्यूनीकरणका लागि नेपाल तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
नेपालमा भदौ १० गते भोटेकोशी नदीमा आएको घातक बाढी र त्यसपछि उठेको जलवायु क्षतिपूर्तिको मागबारे सोधिएको प्रश्नमा गुओले चीन विश्वव्यापी हरित विकास प्रवर्द्धनमा निरन्तर योगदान पुर्याउँदै आएको दाबी गरे ।
उनले चीनले कार्बन उत्सर्जनको उच्चतम बिन्दु र कार्बन तटस्थताको लक्ष्य हासिल गर्न सक्रिय रूपमा काम गरिरहेको तथा कार्बन उत्सर्जन तीव्रतामा विश्वकै ठूलो कटौती गर्ने अपेक्षा गरिएको बताए ।
विश्वका ठूला हरितगृह ग्यास उत्सर्जक मुलुकहरू अमेरिका, भारत र चीनबाट नेपालजस्ता जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेका देशलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग उठिरहेका बेला चीनले भने विकासशील देशहरूको अधिकार र हितको संरक्षणमा जोड दिएको छ ।
गुओले चीन विश्वको सबैभन्दा ठूलो विकासशील राष्ट्र भएकाले विकासशील देशहरूको वैधानिक अधिकार र हितको दृढतापूर्वक समर्थन गर्ने बताए ।
उनले निष्पक्ष र समानतामूलक विश्वव्यापी जलवायु शासन प्रणाली निर्माणका लागि चीनले प्रयास गरिरहेको र दक्षिण(दक्षिण सहकार्यमार्फत अन्य विकासशील देशलाई आफ्नो क्षमताअनुसार सहयोग प्रदान गर्दै आएको उल्लेख गरे ।
‘जलवायु परिवर्तन विश्वव्यापी चुनौती हो, जसको सामना सबै पक्षको सामूहिक प्रयासबाट गर्नुपर्छ,’ गुओले भने ।
नेपाल र चीनबीच हिमाल तथा नदीले जोडिएको साझा भविष्यको सम्बन्ध रहेको उल्लेख गर्दै उनले हालको सीमापार विपद्बाट चीन पनि गम्भीर रूपमा प्रभावित भएको बताए ।
जलवायु परिवर्तनका नकारात्मक असरलाई संयुक्त रूपमा रोक्न र न्यूनीकरण गर्न चीन नेपाल तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।
यसैबीच, विनाशकारी बाढीपछि चीनले नेपाललाई आपत्कालीन सहायता तथा प्राविधिक सहयोग निरन्तर विस्तार गरिरहेको जनाएको छ ।
गुओका अनुसार चीनका मौसम विज्ञान तथा जलस्रोतसम्बन्धी निकायहरूले नेपाली निकायसँग नियमित रूपमा अनुगमनसम्बन्धी सूचना आदानप्रदान गरिरहेका छन् ।
चीनको मौसम विज्ञान प्रशासनले नेपालका लागि ‘माजु’ प्रणालीको विशेष क्लाउड संस्करणसमेत विकास गरेको छ, जसबाट विपद्प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि मौसमसम्बन्धी सूचना उपलब्ध हुने जनाइएको छ।
उता चीनले बिहीबार नेपालका लागि आपत्कालीन राहत सामग्रीको तेस्रो खेप पनि पठाएको छ। उक्त सामग्रीमा पाल, कम्बल, शव संरक्षणका लागि प्रयोग हुने रेफ्रिजेरेटर, स्वास्थ्य सुरक्षासम्बन्धी पोसाक तथा स्याटेलाइट सञ्चार उपकरण रहेका छन्।
त्यही विमानमार्फत चिनियाँ डीएनए पहिचान विशेषज्ञहरूको दोस्रो टोली पनि नेपाल आइपुगेको छ। टोलीले विपद्मा मृत्यु भएका तथा बेपत्ता भएकाहरूको पहिचानमा नेपाली निकायलाई सहयोग गर्नेछ।
नेपालले चीनको सहयोगप्रति गहिरो प्रशंसा व्यक्त गरेको उल्लेख गर्दै गुओले यसलाई दुई छिमेकीबीचको निकट मित्रताको प्रतिबिम्बका रूपमा व्याख्या गरे।
चीनले नेपालको आवश्यकता र प्राथमिकताका आधारमा आगामी दिनमा पनि आपत्कालीन सहायता जारी राख्ने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
नेपालमा जलवायु परिवर्तनको प्रभावबाट हुने बाढी, पहिरो र अन्य प्राकृतिक विपद्को जोखिम बढिरहेका बेला जलवायु क्षतिपूर्तिको विषय पुनः अन्तर्राष्ट्रिय बहसको केन्द्रमा आएको छ।
न्यून कार्बन उत्सर्जन गर्ने नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोग्नुपरेको भन्दै प्रमुख उत्सर्जक राष्ट्रले यसको आर्थिक र मानवीय क्षतिको जिम्मेवारी लिनुपर्ने माग बढ्दै गएको छ।












प्रतिक्रिया