कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव « Khabarhub

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ ।

असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले मालढुङ्गाबाट घाँसासम्म करिब ५० किलोमिटर दूरीमा ४६ भन्दा बढी ठाउँमा सडक अवरुद्ध बनाएको थियो ।

मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग तातोपानी र पर्वतको मालढुङ्गाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मतपछि एकतर्फी यातायात सञ्चालन भएको छ । 

रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह र स्विचयार्ड परिसरमा रहेको ‘ग्यान टिटावर’ हटाउन भएको ढिलाइ र मौजुदा इन्धन सकिएपछि मर्मतमा चुनौती सिर्जना भएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बताए।

‘तिल्केनीचौर(पोखरेबगर खण्डमा पहिरो पन्छाउने, पहाड काट्ने र फिलिङ गर्न डोजर, लोडर, ब्याकहो लोडर, टिप्पर चलाउन डिजेलको अभाव भएको छ’, उनले भने, ‘तिल्केनीचौरमा टावर हटाउन भएको ढिलाइले दुई दिनदेखि सडक बनाउने काम प्रभावित बनेको छ ।’

मुस्ताङतर्फबाट इन्धन ढुवानी गर्न अन्तरजिल्ला समन्वय, टावर हटाउन राहुघाट जलविद्युत् आयोजनामार्फत माथिल्लो निकायमा पहल र उच्चस्तरीय टोलीबाट पहिरो प्रभावित सडकको निरीक्षण गरेर सहजीकरण भएको प्रमुख शर्माले उल्लेख गरे।

रघुगङ्गाको पिप्ले-भगवती-बेग हुँदै बेगखोला जोड्ने वैकल्पिक बाटो खुलाएर साना सवारी सञ्चालन र इन्धन ढुवानीका लागि काम भइरहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । सडक विभागका महानिर्देशक डा विजय जैसीसहितको प्राविधिक टोलीले शुक्रबार पहिरोबाट प्रभावित सडकको निरीक्षण गरेर मर्मतका लागि स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

राहुघाट जलविद्युत् आयोजनाका प्रमुख राजबहादुर विष्टले टावर हटाउने विषयमा आफ्नो तहबाट निर्णय गर्न नसकिने भएकाले माथिल्लो निकायको स्वीकृति लिनुपर्ने बाध्यता रहेकाले सोका बारेमा जानकारी नबुझी सुरक्षाकर्मी परिचालन नगर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

तिल्केनीचौरमा राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृहबाट पानी फाल्न बनाइएको ‘टेलरेस डक’, सडक, निर्माण कम्पनीका उपकरण तथा क्याम्पमा बाढीले कटान गरेर क्षति पुर्‍याएको छ । राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ र रातोपानीमा सडक कटान गरेको छ भने पोखरेबगरको सडक पुलको पहुँचमार्ग बाढीले बगाएको छ ।

रसुवा र तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि एक मात्र विकल्प बनेको कोरला नाकासँगको यातायात सम्पर्क पनि सडक अवरुद्ध भएपछि टुटेको छ । मुख्य याममा पर्यटकीय गतिविधि ठप्प भएकाले बेनी-जोमसोम सडक खुलाउन सरकारले उच्च प्राथमिकता दिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ३ : ०५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४