काठमाडौं – सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) तालिमप्रति युवाहरूको आकर्षण उल्लेख्य देखिएको छ । तालिममा सहभागी हुन ६८ हजारभन्दा बढीले आवेदन दिएका छन्।
सुरुमा दुई हजार युवालाई मात्रै तालिम दिने लक्ष्य राखिएको भए पनि आवेदनकर्ताको संख्या अपेक्षाभन्दा धेरै भएपछि सरकारले सबैलाई सहभागी गराउने तयारी गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘ःमास्टर्सिङ एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ तालिमका लागि ठूलो संख्यामा आवेदन परेको हो।
प्रतिष्ठानका अनुसार पहिलो चरणमा ४२ हजारभन्दा बढीले आवेदन दिएका थिए। त्यसपछि पुनः आवेदन खुला गरिएपछि थप २६ हजार ५०० भन्दा बढी युवाले नाम दर्ता गराएका छन्। यससँगै कुल आवेदकको संख्या ६८ हजार नाघेको छ।
आवेदनकर्ताको संख्या उच्च भएपछि कसैलाई पनि अवसरबाट वञ्चित नगर्ने उद्देश्यले सबैलाई तालिममा सहभागी गराउने व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ।
तालिममा सहभागी हुन इच्छुकहरूले आवेदन फाराममा छनोट गरेको सत्रअनुसार अनलाइन कक्षामा जोडिन सक्नेछन्। कक्षामा सहभागी हुने लिंक सुरु हुनुभन्दा दुई घण्टाअघि एसएमएसमार्फत पठाइने व्यवस्था गरिएको छ। सहभागीहरूले मोबाइल वा ल्यापटप प्रयोग गरी घरबाटै प्रत्यक्ष अनलाइन कक्षामा सहभागी हुन सक्नेछन्।














प्रतिक्रिया