काठमाडौं– दिवङ्गत प्राडा बाबुराम शर्मा पोख्रेलका दुई कृति ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ र ‘स्तुति पुष्पाञ्जली’ आज सार्वजनिक भएका छन् ।
वरिष्ठ समालोचक एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा वासुदेव त्रिपाठी, प्राडा विद्यानाथ उपाध्याय, प्राडा जीवेन्द्रदेव गिरी र प्रा नीलमणि ढुङ्गाना, प्रा केदार न्यौपाने र डा दिनेशचन्द्र पोख्रेलले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् ।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका पुराण विभागका संस्थापक डा पोख्रेलको निधनको ११ वर्षपछि उनका छोरा पूर्वप्रहरी महानिरीक्षक एवं वरिष्ठ चिकित्सक दिनेशचन्द्र पोख्रेलले पुस्तक प्रकाशन गरेका हुन् ।
डा पोख्रेलले पिएचडी गर्दाको विषयलाई संस्कृतमा लेख्नुभएको उक्त अनुसन्धानलाई प्रा नीलमणि ढुङ्गानाले नेपाली भाषामा अनुवाद गरी उक्त पुस्तक प्रकाशित गरिएको हो । पुराणहरूमध्ये स्कन्द पुराणमा ८१ हजार स्लोक रहेका र त्यसको उपपुराणमा ५० खण्ड रहेकामध्ये एक खण्ड हिमवत्खण्ड रहेको ढुङ्गानाले बताए ।
वरिष्ठ समालोचक प्राडा त्रिपाठीले नेपालमा पुराणका प्रवर्तक नै प्राडा पोख्रेल रहेको उल्लेख गर्दै हिमवत्खण्डमा मूल रूपमा नेपाल खण्ड पाइने बताए ।
प्राडा उपाध्यायले पुराणको शिक्षाले जीवनजगत् अगाडि बढाउन र मार्गदर्शन गर्न मद्दत मिल्ने भन्दै प्राडा पोख्रेल पुराण इतिहासको स्तम्भ भएको बताए । साथै स्तुति पुष्पाञ्जलीले स्तुति गर्न सिकाउने उनको भनाइ छ ।
वक्ताहरू प्राडा गिरी, प्रा न्यौपानेले यो पुस्तकले प्राचीन विषयको अध्ययन गर्न चाहनेहरूका लागि महत्त्वपूर्ण दस्ताबेज रहेको उल्लेख गरे ।
तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा हिमवत्खण्डसम्बन्धी दुईवटा सम्मेलन भएका थिए । प्राडा पोख्रेलको यो पुस्तकले यसबारे झन गहिराइमा पुर्याउने वक्ताहरूको भनाइ छ ।
पञ्चकुमारी सामाजिक गुठीको आयोजना तथा भरोसा अस्पतालको सहआयोजनामा भएको कार्यक्रममा लेखक पोख्रेलका पुत्र डा पोख्रेलले पिताको अर्को पुस्तक आगामी वर्ष प्रकाशित गर्ने बताए । उनले नेपाली साहित्य लेखनमा सम्मानको कमी भएको भन्दै सबैले यथोचित सम्मान पाउनुपर्नेमा जोड दिए ।













प्रतिक्रिया