काठमाडौं – ‘प्रविधिसँगै हुर्किएका जेन-जी पुस्ता स्मार्ट छन्’
के यो भनाइ फिल्म क्षेत्रमा लागु हुन्छ त ?
पक्कै हुन्छ । जेन-जी पुस्ता अभिनयमा आउन सुरुमा आफूलाई त्यही क्षेत्रमा प्रशिक्षित गर्छन् वा एउटा आधार तयार गर्छन् ।
आफू जुन क्षेत्रमा जाने हो त्यही विषयको अध्ययनमा चासो राख्छन् ।
फिल्मको कामका लागि दशक पहिला जस्तो निर्देशकको ढोका चाहार्ने अभ्यासमा उनीहरु वास्ता र विश्वास राख्दैनन् ।
उनीहरु अभिनयमा आउन मन भए आफूसँगै भएको सुविधाको प्रयोग गर्छन् । जस्तो– मोबाइलले भिडियो खिचेर आफ्नो अभिनय कैद गर्छन् । यसले उनीहरुको वृत्ति विकासमा सहयोग गर्छ । मेकिङबारे पनि केही ज्ञान अवश्य मिल्छ ।
अहिले फिल्म क्षेत्रमा जेनजी हिरो अबिषेक खड्काको प्रवेश भएको छ । उनी लिड हिरो रहेको फिल्म ‘कुमारी’ यही साता प्रदर्शनमा आउँदै छ ।
अबिषेककोअभिनय यात्राले जेनजीहरु कसरी सुझबुझका साथ फिल्ममा आउँछन् भन्ने विषयलाई प्रकाश पार्छ ।
जेनजी हिरो अबिषेकले अभिनयमा आउनका लागि के गरे त ?
अभिनयमा आउन पहिला यसतर्फ रुचि हुनुपर्यो । अबिषेकको हकमा उनको एक मात्रै दृढ, इच्छा, सपना र रुचि अभिनय थियो ।
उनी भन्छन्, ‘मैले फिल्म गर्ने बाहेक केही इच्छा राखिनँ । मेरो एकमात्रै दृढता अभिनय हो ।’
दाइ-दिदीसँग अबिषेकको एज ग्याप ठूलै छ । अबिषेक सानै हुँदा दाइ-दिदी किशोरावस्थाको उत्तरार्द्धमा थिए ।
दाइ-दिदीले हेर्ने हलिउड फिल्महरुले उनलाई अभिनयको चस्का दिलायो ।
अबिषेक भन्छन्, ‘दाइ-दिदीहरु फिल्म हेर्नुहुन्थ्यो । मलाई पनि त्यही हिरो जस्तो बन्न लाग्थ्यो । त्यहीँबाट मैले अभिनय गर्ने प्रण लिएको हुँ । म अभिनय नै गर्छु भनेर सोच बनाउँदा १२ वर्षमै कुदिरहेको थिएँ ।’
जब उनी कक्षा ९ मा पुगे त्यसपछि अभिनयको आधार तयार गर्न थाले । नृत्य प्रशिक्षकलाई आग्रह गरेर अभिनय सिक्न थाले ।

उनी भन्छन्, ‘म डान्स सिक्थेँ । हिरो बन्न इच्छा भएपछि अभिनय सिक्न पर्यो । झापामा सिक्ने ठाउँ थिएन । अनि डान्स टिचरलाई आग्रह गरेर अभिनय सिकाउने मान्छे ल्याउन लगाएँ ।’
प्रशिक्षणमा सहभागी भएपछि अभिनय प्रति थप चासो बढेको उनी सेयर गर्छन् । भन्छन्, ‘त्यसपछि फिल्मका स्क्रिप्ट नक्कल गरेर साथीहरुसँग भिडियो बनाउन थालियो । दुई तीन मिनेटको भिडियो बनाइन्थ्यो ।’
ती भिडियो अबिषेकले युट्युबमा पनि राखेका थिए । पछि अभिनयमा ज्ञान भएपछि ती भिडियो अति नै ‘कच्चा’ लागेर प्राइभेट (अरुले हेर्न नमिल्ने) गरेको उनी सेयर गर्छन् ।
अर्थात्, अबिषेकले आफ्नो अभिनयको इच्छा रहरमै सीमित गरेनन् । उनी त्यसलाई अगाडि बढाउन स्कुल पढ्दै आधार तयार गर्न अग्रसर देखिए ।
उनी जेनजी हुन् नि त !
अभिनय पढ्न काठमाडौं भित्रिँदाको माहोल
हिरो बन्ने सोच आएपछि अबिषेक फिल्म कलेजको खोजी गर्न थाले । धरानमा जन्म र झापामा हुर्केका उनलाई फिल्म पढ्न काठमाडौं आउनुको बिकल्प रहेन ।
तर, स्नातक मात्रै फिल्म पढ्न पाइने थाहा पाएपछि उनी लामो पर्खाइमा बस्न बाध्य थिए ।
उनी नजिकका एक दाइ फोन सम्पर्कमा हुन्थे । कारण उनी- नेपाल फिल्म क्याम्पसमा शिक्षक थिए ।
अबिषेक भन्छन्, ‘मेरो सोच नै फिल्म पढ्ने थियो । दाइलाई फोन गरेर स्नातक पढ्न तपाईंको कलेज आउँछु भनिरहन्थेँ ।’
संयोग फिल्म क्याम्पसले अबिषेकले एसईई सकिएकै वर्ष प्लसटूमा फिल्म पढाउने अनुमति पायो । उनलाई उक्त जानकारी फिल्म कलेजका तिनै दाइले दिए ।
अबिषेक भन्छन्, ‘फिल्म कलेजले पढाइ ढिला सुरु गर्यो । साथीहरु ११ मा ६ महिना पढिसकेका थिए । फिल्म पढ्ने भनेर म अन्त भर्ना भइनँ । साथीहरुले ११ आधा भ्याइसक्दा म बल्ल फिल्म कलेज जान थालेँ ।’
कलेजमै उनी पहिलो पटक नाटकसँग साक्षात्कार हुन पाए । कारण– वरिष्ठ रंगकर्मी अनुप बरालको ‘एक्टर्स स्टुडियो’ अबिषेक पढ्ने कलेजमै थियो ।
‘मलाई नाटक भनेको थाहै थिएन । त्यहाँ रिहर्सल गरेको देखेँ । बुझ्दा नाटकको तयारी भएको रहेछ,’ अबिषेक भन्छन्, ‘एक्टर्स स्टुडियोले आफ्ना विद्यार्थीलाई त्यही पढाउँदो रहेछ ।’
नाटक रिहर्सल देखेपछि अबिषेकलाई लाग्यो– अभिनय सिक्ने स्थान त नाटक रहेछ ।
कलेजको पढाइ दिउँसो र एक्टर्स स्टुडियोको बिहान भएको समय पनि मिल्यो । पढ्न वातावरण मिलाइदिन कलेजमै दाइ थिए । तर, उमेर बाधा बन्यो ।
अबिषेक भन्छन्, ‘एक्टर्स स्डुडियोमा पढ्न १८ वर्ष पुग्नुपर्ने रहेछ । म त्यसबेला १६ वर्षको थिएँ ।’
उमेरमा ‘छक्का पञ्जा’ गरेरै एक्टर्स स्टुडियो र कलेजको पढाइसँगै अगाडि बढाएको उनी बताउँछन् ।
‘एक्टर्स स्डुडियो’को पढाइले अबिषेकलाई पहिलो पटक रंगमञ्चमा उभ्यायो । अनुप बराल निर्देशित नाटक ‘एउटा सपनाको अवसान’को कलाकार बनेर उनी मण्डला थिएटरको मञ्चमा पहिलो पटक उक्लिए ।
जसको कलाकार नायिका दिया मास्के र नायक दिव्यदेव पन्त पनि थिए । उनीहरु फिल्मको स्थापित नाम थिए ।
अबिषेक भन्छन्, ‘मैले त उहाँहरु जस्तो नाम चलेको कलाकारसँगै डेब्यूमै मञ्च सेयर गर्न पाएँ ।’
यो नाटकका लागि अबिषेकलाई अनुप बरालले नै अवसर दिएका थिए ।

बरालले अवसर दिनुबारे अबिषेकको बुझाइ छ, ‘मैले अभिनय सिकाइमा अनुप सरको मन जितेरै हो कि जस्तो लाग्छ ।’
झापामा रहँदै सिकेको अभिनयले एक्टर्स स्टुडियोमा बरालको नोटिसमा पर्न सहज भएको उनी बताउँछन् ।
भन्छन्, ‘ममा केही बेसिक ज्ञान त थियो । त्यसले मलाई अनुप सरले सिकाएको कुरा बुझ्न सहज भयो । छिटो टिप्ने भएँ । यही कारण उहाँले मलाई नाटकमा लिएको हुनुपर्छ ।’
सिनेमाको पुल बन्यो नाटक
अनुप बरालको नाटककै कारण अबिषेकले सहायक भूमिकाबाट फिल्ममा डेब्यू गर्न पाए । उनको पहिलो फिल्म ‘बेहुली फ्रम मेघौली’ हो ।
त्यहाँ उनी नायिका स्वस्तिमा खड्काको भाइको चरित्रमा छन् । फिल्ममा उनको स्क्रिन टाइम कमजोर छ ।
उनी भन्छन्, ‘नाटक हेर्न स्वस्तिमा खड्का आउनुभएको थियो । उहाँले नै मलाई फिल्ममा अवसर दिनुभएको हो ।’
पहिलो फिल्ममा अवसर पाउनुको जस उनी रंगमञ्चलाई नै दिन्छन् ।
फिल्ममा अभिनय गर्नुअघि नै उनले दर्जन सर्ट फिल्ममा अभिनय गरिसकेका थिए ।
उनी भन्छन्, ‘क्यामेरा सामना गर्ने बानी परिसकेको थियो । यसले फिल्ममा सहजै भयो ।’
चार नाटक, तीन म्युजिक भिडियो र दुई दर्जन बढी सर्ट फिल्ममा काम अभिनय गरेको अनुभव आफूसँग रहेको अबिषेक बताउँछन् ।
उनले र्यापर युनिक पोएटको गीत ‘शुभ प्रभात’ र परिवर्तन ब्यान्डको गीत ‘मन त मरिसक्यो’को भिडियोमा मोडलिङ गरेका छन् ।
अबिषेक भन्छन्, ‘सर्ट फिल्महरु भने सार्वजनिक छैनन् । कलेजको आर्काइभमा छन् । एक नाटककमा चाहिँ लिड रोल गरेको छु ।’

अनि बने लिड हिरो
अबिषेकको लिड हिरोमा फिल्म ‘कुमारी’बाट डेब्यू गर्दैछन् ।
यस लभस्टोरी फिल्मको निर्देशक दिनेश राउत हुन् । राउत लभ स्टोरी फिल्मको लिगेसी बोकेका निर्देशक हुन् ।
राउतको प्रशंसामा भन्ने गरिन्छ, ‘लभ स्टोरी फिल्मका किङ निर्देशक ।’
नायक आर्यन सिक्देलका हिट लभस्टोरी फिल्म ‘आई एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’का निर्देशक उनी नै हुन् । अबिषेकले उनै निर्देशकसँग करिअरको सुरुवातमै काम गर्न पाए ।
अबिषेक भन्छन्, ‘दिनेश दाइको फिल्मबाट डेब्यू गर्न पाउनु मेरो करिअरकै टर्निङ प्वाइन्ट हो जस्तो लाग्छ । डेब्यू फिल्ममा उहाँ जस्तो मेकरसँग काम गर्न पाउने ठूलो अवसर हो ।’
यस फिल्मका लागि दिनेश राउतसँगको भेट गराउने पुलको काम पनि नाटकले नै गरेको अबिषेक सेयर गर्छन् ।
उनी भन्छन्, ‘म लिड रोलमा रहेको नाटक ‘सिक रुम’ दिनेश दाइको टिमले हेर्नु भएको रहेछ । त्यहीको प्रस्तुतीका कारण फिल्ममा मेरो नाम सिफारिस भएको रहेछ ।’
‘कुमारी’ प्रस्ताव आउँदा अबिषेकले जस्तो र जत्रो रोल आए पनि फिल्म गर्ने मनस्थितिमा थिए ।
उनी भन्छन्, ‘जस्तो र जत्रो रोल आए पनि फिल्म गर्छु । त्यहीबाट मेकरहरुसँग नोटिस हुन्छु भन्ने सोच बनाइरहेका बेला उनलाई ‘कुमारी’ अफर आएको हो ।’
‘कुमारी’ टिमबाट फोन आउँदा अबिषेकलाई लागेको थियो- सहायक भूमिकाका लागि होला । तर, निर्देशक राउतले उनलाई ‘कुमारी’को लिड रोलको अफर गरे ।
अबिषेक भन्छन्, ‘लिडको प्रस्ताव आउँछ भनेर सोचेकै थिइनँ । दिनेश दाइले लिड रोल भन्दा अक्कमक्क भएँ ।’
निर्देशक राउतले लिड रोलका लागि अडिसन दिन भोलि आउनु भनेर पठाएको रात अबेरसम्म निद्रा नलागेको अबिषेक सेयर गर्छन् ।
उनी भन्छन्, ‘राति निद्रा नै लागेन । अनि दिनेश दाइबारे रिसर्च गरेँ । उहाँको पूराना फिल्महरु हेरेँ । अभिनय सिकेकाले अडिसन पास हुन्छु भन्ने विश्वास थियो । तर, एक्कासी लिड रोलको अफर आएकाले खुसीले छटपटी भएको थियो ।’
हिरोको परिचय पाएपछि…
‘कुमारी’ फिल्म राम्रो बनेको कन्फिडेन्टका साथ निर्माण पक्षले प्रचारका राम्रै लगानी गरेको छ । जसको फाइदा अबिषेकलाई व्यक्तिगतरुपमा पनि मिलेको छ ।
निर्देशक राउतको टिमले देशभर ‘कुमारी’ फिल्मको सांगीतिक टुर गरेको छ । जसमा हिरोका रुपमा अबिषेकको ब्रान्डिङ भएको छ ।
मोफसलका दर्शकसँग फिल्मका प्रचार सामाग्रीकै भरमा भेटिरहेका छन् । यो डेब्यू हिरोका लागि फाइदाकै विषय हो ।
अहिले फिल्मी क्षेत्रमा अबिषेकको चर्चा डेब्यू हिरोका रुपमा राम्रै छन् ।
अबिषेक पनि अन्य फिल्मबाट पनि प्रस्ताव आइरहेको बताउँछन् । एक फिल्म ‘श्रिनिवास’ उनले साइन गरिसके । यस फिल्ममा उनी वरिष्ठ कलाकार हरिवंश आचार्यसँग स्क्रिन सेयर गर्दैछन् ।
भन्छन्, ‘दुई फिल्मको प्रस्ताव मलाई नै आएको छ । दिनेश दाइमार्फत् पनि केही फिल्मको कुरा आएको छ रे । जे होस् राम्रो भएको छ । तर म ‘कुमारी’ रिलिज भएपछि मात्रै अन्य फिल्मको काममा जोडिने तयारीमा छु ।’
०००
अबिषेकको चर्चा अहिले लभर ब्वाय हिरोको रुपमा भएको छ । तर, उनी अन्य जनराको फिल्म पनि गर्ने योजनामा छन् ।
भन्छन्, ‘मलाई सबै जनरामा काम गर्न मन छ । लभ स्टोरी फिल्ममा मात्रै सीमित हुन्नँ ।’
‘कुमारी’ले उनलाई हिरोको परिचय दिएको छ । मेकरहरुले उनको खोजी गर्नु यसैको संकेत हो ।

किशोरावस्थाको सुरुवातमा देखेका ‘हिरो बन्ने सपना’ पूरा भएको छ । किशोरावस्था भरीको एकल दृढता र प्रयासले यो सम्भव भएको हो ।
अब स्थापित हुन्छन् वा गुमनाम हुन्छन् ? त्यो दर्शकको हातमा छ । तर, ठूलो पर्दामा हिरो बनेर देखिने उनको सपना यथार्थमा परिणत भएको छ ।
कारण– उनले जे सपना देखे, त्यही पुग्ने विषय अध्ययन गरे । त्यही अभ्यास गरे । फोरम पाउँदा प्रमाणित गर्न सक्ने गरी आफूलाई तयार गरे ।
अनि त निर्देशक राउतले पत्याए ।
अनि जेनजी ‘स्मार्ट’ छैननन् त ? उनीहरु प्रविधि मैत्री छन् । अध्ययन अनुसन्धानको सजिलो उपाय छ । ‘जुगाड एक्सपेरिमेन्ट’बाटै भए पनि उनीहरु आफूलाई निखार्ने सामार्थ्य राख्छन् । लक्ष्यमा पुग्ने स्पष्ट रेखा कोर्न सक्छन् ।
अबिषेक एक जेन–जी हिरो हुन् । कैयन कुरामा उनलाई भाग्य साथ दियो होला । तर, जेन-जी पुस्ता भएकाले उनले स्पष्ट उद्देश्य राख्ने माहोल पाए ।
यही पुस्तामा हुर्किएकाले उनले अभ्यास, रिसर्च र प्रक्रियाबारे बुझ्ने सहज प्रविधि उपभोग गर्न पाए । जसले उनले कलिलै उमेरमा एक लेभलको एक्सपोजर पाए ।













प्रतिक्रिया