काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ मा आउने सुनामीको सामना गर्न पुराना दलहरूलाई चेतावनी दिएका छन् ।
खुट्टामा चोट लागेर भएको संक्रमण (सेलुलाइटिस) का कारण त्रिवि शिक्षण अस्पतालमा केही दिन भर्ना भएर उपचारपछि घरमा आराम गरेका उनले मंगलबार फेसबुकमार्फत् यस्तो चेतावनी दिएका हुन् ।
उनले अब देशमा हुने परिवर्तन ‘घटना’ मात्र नभई ‘इतिहास’ बन्ने बताएका छन् ।
जनताले मतपत्रबाट यो परिवर्तनको इतिहास लेख्ने उनको दाबी छ। उनले फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचन नेपाली इतिहासको कोशेढुंगा हुने बताए । लामिछानेले पुराना दलहरूको गठबन्धनले पनि ‘सुनामी’ रोक्न नसक्ने घोषणा गरेका छन् ।
नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको दुईतिहाइ सरकारले आफूविरुद्ध ‘विष हालेको’ आरोप लगाउँदै लामिछानेले देशभरका अदालत धाउँदै जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिने बताएका छन्। ‘म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न माग्दैछु,’ उनले भनेका छन् ।
लामिछानेले एकाध पुल, भवन र सडकको प्रचारलाई ‘कस्मेटिक सुधार’ भन्दै त्यसमा आफ्नो रुचि नरहेको बताएका छन्। कुशासनको केन्द्र बनेको सिंहदरबारबाटै ‘निलो क्रान्ति’ सुरु गर्न स्पष्ट जनादेश आवश्यक रहेको उनको भनाइ छ।
अवस्थिरताको जरा नउखेलिँदासम्म कुनै परिवर्तन सम्भव नरहेको उल्लेख गर्दै उनले देशको भविष्य बदल्ने संघर्षका लागि थप त्याग र कठोर तपस्याका लागि तयार रहेको बताएका छन्।
आफ्नो नाम इतिहासमा कहाँ लेखिन्छ भन्नेभन्दा पनि देशका सन्ततिको भविष्य सुरक्षित गर्नु मुख्य उद्देश्य भएको उनले स्पष्ट पारेका छन्।
रास्वपामाथि लाग्दै आएका आरोपप्रति प्रतिक्रिया जनाउँदै उनले पार्टीसँग स्पष्ट विचार, नीति र सिद्धान्त रहेको दाबी गरेका छन्। ‘भारी शब्द प्रयोग गरेर राजनीतिलाई जटिल बनाउन जरुरी छैन,’ उनले लेखेका छन्।
उनले देश ‘अन्तिम सुनामीको तयारीमा’ रहेको उल्लेख गर्दै सबै खालका गठबन्धन गरेर भए पनि यो परिवर्तन रोक्न चुनौती दिएका छन्।
तर जनमतबाट विस्थापित पुरानो संसद षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै प्रयास स्वीकार नहुने चेतावनी पनि दिएका छन्।
लामिछानेले फागुन २१ लाई नेपाली इतिहासको ‘माइलस्टोन’ भन्दै त्यसपछिको संसद नयाँ हुनुपर्ने धारणा राखेका छन्।
‘सर्प एउटा पनि पाल्न सकिँदैन,’ भन्ने अभिव्यक्तिसहित उनले पुराना आपराधिक गिरोहबाट देशलाई सदाका लागि मुक्त गर्ने दाबी गरेका छन्।
के भने रविले ?
अस्पतालबाट फर्किएपछि प्रत्यक्ष जनसमुदायसँग संवाद बढाउने योजना।
सिंहदरबार बदल्न घण्टीमा भोट माग्दै कुशासनको मुख्यालयबाट ‘निलो क्रान्ति’ सुरु गर्ने म्याण्डेटको आवश्यकता।
पुराना दलहरूलाई लक्षित गर्दै भ्रष्टतन्त्रको ठेकेदार भनेर आलोचना, उनीहरूको विचार र कार्यक्षमता देखिसकेको जिकिर।
गिद्धले सिनो लुछेजस्तै लुछिएको देश अब अन्तिम सुनामीको तयारीमा रहेको चेतावनी।
जो-जो मिल्नु छ मिल्न चुनौती दिँदै मत परिणाम स्वीकार्ने तर जनविद्रोहले फालेको पुरानो संसद् फर्काउने कुनै चलखेल, दबाब वा धम्की नस्वीकार्ने ।
फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी पनि नयाँ हुनुपर्ने, ‘सर्प त एउटा पनि पाल्न सकिँदैन’ भन्दै पुराना शक्तिहरूविरुद्ध कडा अडान।













प्रतिक्रिया