काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा पत्रकार दिपा दाहाल नियुक्त भएकी छन्। प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ अनुसार उनलाई शुक्रबार उक्त पदमा नियुक्त गरिएको हो।
दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले नियुक्तिसँगै शुक्रबारबाट आफ्नो कार्यभार सम्हालेकी छन्।
सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र सामाजिक न्यायका क्षेत्रमा दाहालको अनुभवलाई उपयोग गर्न उक्त जिम्मेवारी दिएको जनाएको छ।
दाहालसँग रेडियो, टेलिभिजन, छापा तथा अनलाइन माध्यममा २० वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ। उनी पछिल्लो समय उकालो डट कममा वरिष्ठ संवाददाताको रूपमा खोज पत्रकारितामा सक्रिय थिइन्।
शैक्षिक क्षेत्रमा समेत सक्रिय दाहाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी छन्। साथै, उनले पत्रकारिता, सञ्चार सीप र ‘अथेन्टिक लिडरसिप’ विषयमा प्रशिक्षण दिने काम पनि गर्दै आएकी छन्।
‘कोभिड : नसोचेको, नभोगेको संकट’ नामक अनुसन्धानमूलक पुस्तककी लेखिका दाहाल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खोज पत्रकारिता पुरस्कारबाट सम्मानित भइसकेकी छन्।













प्रतिक्रिया