जथाभावी सप्लिमेन्ट : अनावश्यक सेवनले मिर्गौला र युरिक एसिडको जोखिम « Khabarhub

पोषणविद् डा. भुपाल बानियाँसँग संवाद

जथाभावी सप्लिमेन्ट : अनावश्यक सेवनले मिर्गौला र युरिक एसिडको जोखिम

सप्लिमेन्टको बढ्दो मोह : शरीरलाई पूरक आहार कि 'स्लो पोइजन' ?


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय जिम जाने युवा हुन् वा ‘फिट’ र स्वस्थ देखिन चाहने धेरैले कुनै न कुनै सप्लिमेन्टको प्रयोग गरिरहेको पाइन्छ । सामाजिक सञ्जालमा देखिने ‘फिटनेस आइकन’, छिटो नतिजा पाउने लोभ र बजारको आक्रामक प्रचारका कारण चिकित्सक वा पोषणविद्को सल्लाहबिनै भिटामिन, प्रोटिन र मिनरल्सयुक्त सप्लिमेन्ट सेवन गर्ने प्रवृत्ति बढ्दो छ ।

सन्तुलित आहारबाटै पर्याप्त पोषण पाउन सकिने अवस्थामा पनि कृत्रिम सप्लिमेन्टतर्फको यो आकर्षण अहिले फेसनजस्तै बनेको छ । तर, शरीरलाई सप्लिमेन्ट कहिले आवश्यक पर्छ ? आवश्यकता नहुँदा सेवन गरिने यस्ता पूरक आहारले मिर्गौला, युरिक एसिड र अन्य स्वास्थ्य समस्याको जोखिम कत्तिको बढाउँछ ? सप्लिमेन्टको बढ्दो दुरुपयोग, यसको आवश्यकता र यसले निम्त्याउन सक्ने जोखिमबारे ओम अस्पतालमा कार्यरत पोषणविद् डा. भुपाल बानियाँसँग गरिएको कुराकानी :

पछिल्लो समय सन्तुलित आहारभन्दा पनि सप्लिमेन्ट प्रयोगतिर मानिसको आकर्षण बढिरहेको छ । यो सप्लिमेन्ट भनेको के हो ?
सप्लिमेन्ट भन्ने शब्दको अर्थ नै ‘अतिरिक्त’ भन्ने हुन्छ । हामीले दैनिक रूपमा खाने खानाबाट कहिलेकाहीँ शरीरलाई चाहिने आइरन, भिटामिन ए, फोलिक एसिड वा अन्य मिनरल्सको मात्रा नपुग्न सक्छ । त्यस्तो कमीलाई पूरा गर्नका लागि ‘सप्लिमेन्टेसन’ गरिन्छ । यो एक प्रकारको खाद्य पदार्थ नै हो, जुन औषधीय गुणसहित क्याप्सुल वा पाउडरका रूपमा उपलब्ध हुन्छ ।

सप्लिमेन्टको दुरुपयोग भइरहेको छ भनिन्छ । यसको दुरुपयोग हुनुको कारण के हो ?
अहिले मानिसमा सप्लिमेन्टको आवश्यकता छ कि छैन भनी नबुझिकनै सेवन गर्ने होड चलेको छ । म फिट देखिन चाहन्छु, म बलियो बन्न चाहन्छु भन्ने सोच राखेर चिकित्सक वा पोषणविद्को सल्लाहबिना नै सप्लिमेन्ट खानु शरीरका लागि हानिकारक हुन सक्छ । आहारबाटै प्राप्त गर्न सकिने तत्वका लागि सप्लिमेन्टमा भर पर्नु उचित होइन ।

जथाभावी सप्लिमेन्ट खाँदा हाम्रो स्वास्थ्यमा के–कस्तो जोखिम हुन्छ ?
विशेष गरी ‘प्रोटिन सप्लिमेन्ट’ मा मानिस बढी आकर्षित छन् । सामान्यतया, एक स्वस्थ व्यक्तिलाई प्रति केजी तौलको आधारमा १ ग्राम प्रोटिन आवश्यक पर्छ । तर, बजारमा पाइने प्रोटिन पाउडरमा निकै उच्च मात्रामा प्रोटिन हुन्छ । शरीरलाई चाहिनेभन्दा बढी प्रोटिन खाँदा युरिक एसिड बढ्ने र मिर्गौलामा गम्भीर समस्या निम्तिन सक्छ । त्यस्तै भिटामिन र मिनरल्सको हकमा पनि यही नियम लागू हुन्छ; आवश्यकताभन्दा बढी भए शरीरलाई फाइदा होइन, नोक्सानी नै गर्छ ।

प्राकृतिक स्रोत अर्थात् खानाबाट यो कसरी प्राप्त गर्न सकिन्छ ?
हामीले खाने फलफूल, सागसब्जी, सलाद, दूध, अन्डा र माछा–मासुमा नै प्रचुर मात्रामा भिटामिन र मिनरल्स हुन्छन् । उदाहरणका लागि, माछामा हुने ‘ओमेगा–३ फ्याटी एसिड’ दिमागका लागि अति उपयोगी हुन्छ । तर मानिस माछा नखाएर त्यसको सट्टा सप्लिमेन्ट खान खोज्छन् । शाकाहारीको हकमा भिटामिन बी–१२ को कमी हुन सक्छ, जसका लागि दही वा गुन्द्रुकजस्ता खानेकुरा नै उत्तम विकल्प हुन् । यदि प्राकृतिक खानेकुराले पनि नपुगेको खण्डमा मात्रै विशेषज्ञको सल्लाहमा सप्लिमेन्टमा जानु उपयुक्त हुन्छ ।

कस्तो अवस्थामा सप्लिमेन्ट आवश्यक पर्छ ?
गर्भवती तथा सुत्केरी महिला, कुनै ठूलो शल्यक्रियापछि छिटो निको हुन चाहने बिरामी वा शरीरमा कुनै गम्भीर कमी देखिएको अवस्थामा मात्रै सप्लिमेन्टको आवश्यकता पर्छ । यस्तो अवस्थामा पनि परीक्षण रिपोर्ट हेरेर चिकित्सक वा पोषणविद्ले सिफारिस गरेअनुसार मात्र खानुपर्छ ।

माछामासुबाट प्रशस्त मात्रामा पोषक तत्व प्राप्त गर्न सकिन्छ भन्नुभयो । शाकाहारीले चाहिँ सप्लिमेन्ट खानैपर्ने हो ?
कहिलेकाहीँ भिटामिन बी–१२ को कमी हुन सक्छ । भिटामिन बी–१२ को कमी दही, गुन्द्रुक लगायतका खानेकुराबाट पूर्ति गर्न सकिन्छ । त्यस्तै शाकाहारीले सप्लिमेन्ट खाने कि नखाने भन्ने कुरा आफ्नो शरीरमा पनि भर पर्छ । जस्तै शरीर राम्रै सञ्चालित छ, केही त्यस्तो समस्या देखाएको छैन भने आवश्यकता नपर्न सक्छ । तर हातखुट्टा झमझमाउने, पोल्ने, थकित हुने भइरहेको छ भने चिकित्सक वा पोषणविद्सँग सल्लाह गरेर खान सकिन्छ ।

जन्मेदेखि १ वर्षमुनिका शिशुलाई अनिवार्य भिटामिन डी वा बी खुवाउन लगाइन्छ, यो कति उपयुक्त हो ?
बच्चाको शरीरमा भिटामिन वा आइरनको कमी हुन सक्छ, त्यो आवश्यकता अनुसार दिइन्छ । तर आवश्यकता नै नपरी खुवाउँदा उपयुक्त हुँदैन । त्यसले फाइदाभन्दा पनि नोक्सानी धेरै गर्छ ।

शरीरमा पोषक तत्वको कमी भएको कसरी थाहा पाउने ?
अत्यधिक थकान, कमजोरी, चक्कर लाग्ने, मांसपेशी बाउँडिने, हातखुट्टा झमझमाउने, पाइताला पोल्नेजस्ता लक्षण देखिन सक्छन् । तर यो भन्दैमा सिधै सप्लिमेन्ट सुरु गर्नु हुँदैन । यी लक्षण क्याल्सियम, पोटासियम, सोडियम, भिटामिनको कमी वा अन्य रोगका कारण पनि हुन सक्छन् । त्यसैले परीक्षण आवश्यक हुन्छ ।

सप्लिमेन्टको बढ्दो अनावश्यक प्रयोगलाई कसरी नियन्त्रण गर्न सकिन्छ ?
यसको नियन्त्रणका लागि जनचेतना नै मुख्य कुरा हो । नियमनकारी निकायले पनि यस्ता उत्पादनको बजारमा नियमन गर्नुपर्छ । साथै, अस्पताल र फार्मेसीमा पनि चिकित्सकले बिरामीलाई “यो अनिवार्य छैन, आवश्यकता परे मात्र खाने हो” भनेर बुझाउनुपर्छ । आफूखुसी औषधि पसलबाट सप्लिमेन्ट किनेर खाने बानी हटाउनुपर्छ ।

अन्त्यमा, सर्वसाधारणलाई के सुझाव दिनुहुन्छ ?
शरीरमा कमजोरी महसुस भयो, हातखुट्टा झमझमाउने वा मांसपेशी दुख्नेजस्ता लक्षण देखिएमा आफैँ सप्लिमेन्ट किनेर खानुको साटो पहिला चिकित्सक कहाँ गएर जाँच गराउनुहोस् । शरीरमा साँच्चै केको कमी छ, त्यो पत्ता लगाउनुहोस् । यदि केही पनि कमी छैन भने साधारण घरमै बनेको पोषिलो खाना नै सबैभन्दा ठूलो सप्लिमेन्ट हो । त्यसैले, विशेषज्ञको सल्लाहविना सप्लिमेन्टको पछि नलाग्न म सबैलाई आग्रह गर्दछु ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ९ : २५ बजे

पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

काठमाडौं– केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्थानीय पहिचान र उद्यम विकासमा उत्साह थपेर सकियो स्वयम्भू महोत्सव 

काठमाडौं– वडाको पहिचान, वडाभित्रका धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचान र

जथाभावी सप्लिमेन्ट : अनावश्यक सेवनले मिर्गौला र युरिक एसिडको जोखिम

काठमाडौँ – पछिल्लो समय जिम जाने युवा हुन् वा ‘फिट’

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक