काठमाडौं- बालेन सरकारको डोजर आइतबार काठमाडौंस्थित अनामनगर देवीनगर टोलमा पुग्यो । हजारौँ सङ्ख्यामा मानिसहरु सार्वजनिक जग्गामा बनेको ठूला ठूला भवन भत्काएको हेर्न पुगेका थिए । स्कुल छुट्टीको दिन बच्चाहरुको उपस्थिति पनि बाक्लै थियो । लौरो टेकेर जेष्ठ नागरिकहरु पनि भवन भत्काएको हेर्न पुगेका थिए ।
भीडमा अधिकांशले बालेन सरकारले ठिक गर्यो भन्दै खासखुस गरिरहेका थिए । केहीले यत्रो भवन भत्काउन भन्दा सरकारले आफ्नो स्वाभित्वमा लिएर कुनै प्रयोजनमा लगाएको भए राम्रो हुने थियो भन्दै थिए । कसैले बालेनले भत्काउनबाहेक केही नजान्ने रहेछ भन्ने टिकाटिप्पणी गरिएको सुनिएको थियो । सार्वजनिक खाली गर्ने सवालमा भीडमा मिश्रित अभिव्यक्ति पाइएको थियो ।
त्यसै भिडमा श्रीमती लिएर डोजर हेर्न बागलुङका रुद्रमणी कडेँल आएका थिए । हाल घट्टेकुलोमा बस्दै आएका उनले बालेन सरकार असफल हुने यात्रामा रहेको तर्क गरे । भिडमा हराउने डरले श्रीमतीको हात समातेर लौरो टेक्दै उभिएका ८५ वर्षीय कँडेलले आफूले यसपाली राष्ट्रिय स्वतन्त्र (घण्टी) पार्टीमा भोट हालेको सुनाए । उनी आफ्नो भोट खेर नजाओस् भन्ने पक्षमा देखिन्थे । बालेनले कतै आफूहरुको भोटमाथि गद्दारी गर्ने त होइनन् भन्ने उनको चिन्ता थियो ।
सरकारले सुकुम्वासी वस्ती खाली गर्दैछ, सार्वजनिक जग्गा मिच्ने हुकुमबासीलाई तह लगाउँदैछ, कस्तो लागिरहेछ ? भन्ने खबरहबको प्रश्नमा उनले वास्तविक सुकुम्बासीलाई लालपुर्जा दिन नसके यो सरकार असफल हुने प्रतिक्रिया दिए । उनले भने, ‘बालेन मन पर्छ । तर वास्तविक सुकुम्वासी र हुकुमबासी छानबिन नगरी सबैलाई एकै घानमा हालेको चाहिँ मन परेन ।’
‘सुकुम्वासीलाई बिगार्ने हुकुमबासी हुन् । सुकुम्वासीलाई घर दियो भने बालेन सरकार टिक्छ । होइन भने टिक्दैन । पहिलेकै नेताजस्तो गर्ने हो भने बालेन टिक्न सक्दैनन्,’ उनले थप भने, ‘सुकुम्वासीलाई खान दिएर मात्रै हुँदैन । पूरा व्यवस्थापन गर्न सक्नुपर्यो । पुर्जा दिनुपर्छ । हामी पुरानो कांग्रेस हो । यस पटक हामीले घण्टीलाई भोट हालियो । परिवार आफन्त र चिनेजति सबैलाई घण्टीमा भोट हाल्न भनियो । पार्टीले हाम्रो इज्जत राखिदियोस् ।’

कँडेलका अनुसार पुराना दलहरुले नगरेको काम बालेन सरकारले सुरु गरेको छ । ‘खाने र बस्ने व्यवस्था नगरी सुकुम्वासीको घर भत्काएर मात्रै समस्याको समाधान हुन्न । राज्यले एक जना जनतालाई पनि बिचल्ली पार्न पाउँदैन । लालपुर्जा दिएर व्यवस्थापन गर्यो भने ठीक छ । तर यत्तिकै छोड्यो भने बालेन सरकार असफल हुन्छ ।’ उनले भने ।
‘सबैले पुरानो दलजस्तो हुँदैन भनेर चुनावमा जिताएका हुन् । त्यो कुरा नयाँ सरकारले बिर्सन हुँदैन । शक्ति देखाउनतिर नलागेर नागरिकको सुख दुखमा बस्नुपर्छ । घण्टी पार्टी असफल भएको हामीलाई हेर्नु छैन । यो उमेर मत परिवर्तन गरियो । थुक्क भन्ने नपारुन भन्नेमा हामी छौँ, उनले भने ।
त्यसैगरी, भिडमा भेटिएका घट्टेकुलोकै स्थानीयबासी टेकप्रसाद चापाँगाईले नेताहरुका आश्वासनले नै सुकुम्बासीले ठूला घर बनाएको बताए । हरेक चुनावमा जग्गाको लाजपुर्जा दिलाउँछौ भन्दै भोट माग्ने भएकाले सुकुम्वासीले ठूलो रकम खर्च गरेर घर बनाएको उनले बताए ।
चापागाँँइले भने, ‘नेता र महानगरपालिकाले आश्वासन दिएर बसेका हुन् । लाखौं र करोडौं रुपैयाँ खर्च गरेर घर बनाए । केही कामै लागेन । त्यो पनि दुःखै भयो नागरिकलाई । धनीहरुले आफ्नो व्यवस्थापन पहिलेदेखि गर्दै आएका थिए । सर्लक्क गए । तर भन्ने बित्तिकै साँचो सुकुम्बासी कहाँ जाने ?,’ उनले प्रश्न गरे ।
उनले लालपुर्जा नभएको जग्गामा धेरै पैसा खर्च गरेर महल बनाउने गल्ती नागरिकले पनि गर्न नहुने बताए । ‘अनामनगरमा धेरै हुकुमबासीको रजाइँ थियो । यहाँ बढीमा पाँच प्रतिशत वास्तविक सुकुम्बासी छन् । थोरै भएपनि उनीहरुको व्यवस्थापन गरेर भत्काउनुपर्ने थियो । हरेक दिन काम गरेर बेलुका हातमुख जोर्ने समुदायमाथि डोजरको त्रास किन देखाउनु ?’ उनले सरकारलाई प्रश्न गरे ।
लौरो टेक्दै त्यही भिडमा भेटिएका अर्का ज्येष्ठ नागरिक टेकबहादुर थापाले सुकुम्वासी रोएको देख्दा आफ्नो मन खिन्न भएको सुनाए । जीवनको उतारार्द्धतिर रहेका उनी आफूले लामो समय बैंकिङ क्षेत्रमा बिताएको बताउँछन्। हाल उनी रिटायर्ड जीवन बाँचिरहेका छन् । तर उनलाई साना बच्चा, सुत्केरी महिला तथा बुढाबुढीको समेत ख्याल नगरी सुकम्वासी बस्ती खाली गरेकोमा चित्त बुझेको छैन ।
डोजरले सात तलाको घर खर्याखुरुम पारेको दृश्यले विचलित हुन पुगेका थापाले पुराना दलहरुमाथि रिस पोख्न थाले । उनले भने, ‘यो दिन पुराना दलहरुले निम्त्याएका हुन् । जसको भएपनि लगानी छ । गलत जग्गा भएपनि लगानी गर्नेको सम्पत्ति खेर गयो । पुराना नेताहरु अहिले दुलोभित्र पसेका छन् । कुन नैतिकताले सुकुम्वासीका बारेमा बोलुन् । नयाँ सरकारले आफ्नो क्षेत्राधिकार प्रयोग गर्यो । हामीले भन्ने ठाउँ नै छैन ।’
त्यसैगरी पुर्ख्यौली घर इलाम भइ हाल घट्टेकुलोमा बस्दै आएका दुर्गाप्रसाद अधिकारीले टेकबहादुरकै भनाइलाई समर्थन गर्दै कांग्रेस र एमालेले गर्दा यो अवस्था आएको बताए । खबरहबसँग कुरा गर्दै उनले भने, ‘कांग्रेस र एमालेले नै सुकुम्बासी पहिले हटाएर व्यवस्थापन गर्नुपर्ने थियो । पछि माओवादीले व्यवस्थापन गर्ने प्रयास गर्यो । तर सकेन । सुकुम्वासी समस्या आजसम्म आइपुग्न दिनु नै गल्ती हो । पुराना दलहरुले भोटका लागि यिनिहरुलाई यहाँ राखेका हुन् ।’
‘खोलाको किनार खाली गराउने सरकारको निर्णयको विरोध गरेको होइन । खोला किनार खाली हुँदा शहर राम्रो देखिन्छ । तर गरिबको लासमाथि राजनीति गर्ने लक्ष्य हो भने शोभनिय हुँदैन,’ अधिकारी भन्छन्, ‘धनीहरुबाट सुकुम्बासी जग्गा फिर्ता ल्याउने अभियान चलाउँदा वास्तविक सुकुम्बासीमाथि पनि डोजर चल्यो । यो विल्कुल गलत छ । लडाउन सजिलो, बनाउन दुख छ । धनीमानीका विल्डिङ लडेर के भो ? अर्को ठाउँमा गएर बस्छ । सुकुम्बासीलाई पहिले बस्ने ठाउँ दिनुपर्यो । गरिबहरुले दुःख पाए ।’
त्यसै भिडमा डोजर हेर्न आएका सिन्धुलीका रामप्रसाद सापकोटाले भने फरक विचार राखे । उनले भने, ‘ऐलानी जग्गामा जानीजानी घर बनाउनु नागरिकको कमजोरी हो । सहि बोलेँ कि गलत बोलेँ थाहा भएन । तर लालपुर्जा नभएको जग्गामा पैसा लगानी गर्नु गल्ती भयो । यो देशमा कानून छ । कानून अनुसार नागरिकले पनि चल्नुपर्छ । पुर्जाबिनाको जग्गामा घर बनाउँदा हालत के भयो ?’ उनले त्यहाँ घर बनाउनेहरुलाई नै प्रश्न गरे ।

‘हामी छिमेकीले हेर्दा पनि नराम्रो भयो । यत्रा यत्रा घर खण्डहरमा परिणत हुँदा दुख लाग्यो । सुकुम्बासीलाई घडेरी दिनुपर्छ । त्यसपछि यो डोजर चलाएपनि अन्याय हुँदैन । अलपत्र छोड्यो भने फेरि अन्याय हुन्छ । बालेन सरकारले अन्यायको ख्याल राखोस्,’ सापकोटाले भने ।














प्रतिक्रिया