एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद « Khabarhub

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)ले वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिन फितलो र विवादास्पद रहेको टिप्पणी गरेको छ । एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै सरकारको एक सय दिन फितलो, अपरिपक्क र विवादस्पद रहेको निष्कर्ष निकालेको हो । सरकारले चुनावी घोषणापत्र र नीतिमा विरोधाभाषपूर्ण व्यवहार देखाएको आरोप एमालेले लगाएको छ ।

संविधान संशोधन जस्तो गम्भीर विषयमा राजनीतिक दलहरूसँग परामर्श नगरी अपारदर्शी ढंगले अघि बढ्न खोज्नु र संघीयता विरोधी अभ्यास गर्दै केन्द्रबाट प्रत्यक्ष शासन चलाउन खोज्नुलाई एमालेले गम्भीर त्रुटि ठहर गरेको छ । वक्तव्यमा भदौ २३ र २४ गतेका विध्वंसात्मक घटनाहरूको अनुसन्धान फितलो रहेको र सरकार प्रतिशोध साध्न मात्र केन्द्रित भएको उल्लेख छ । राष्ट्रिय मानवअधिकार आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई कारबाही गर्नुको साटो सरकारले संरक्षण दिएर मानवअधिकारको उपहास गरेको एमालेको दाबी छ ।

सरकारले सुशासनको नाममा राजनीतिक दलहरूमाथि प्रतिशोधपूर्ण आक्रमण सुरु गरेको विज्ञप्तिमा उल्लेख छ । पर्याप्त तथ्यबिना नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने प्रयास गरिएको तर १३ दिनसम्म पनि अभियोजनको आधार समेत देखाउन नसकेको भन्दै एमालेले सरकारको कडा आलोचना गरेको छ । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदाहुँदै सस्तो लोकप्रियताका लागि असंवैधानिक रूपमा सम्पत्ति छानबिन आयोग गठन गरिएको र त्यसको प्रयोग विपक्षीलाई तर्साउन गरिएको आरोप लगाइएको छ ।

एमालेले प्रशासनिक सुधारका नाममा मन्त्रालयमा सल्लाहकार र स्वकीयहरूको फौज भर्ना गरेर आर्थिक भार थपिएको बताएको छ । नागरिक सेवा केन्द्र स्थापना गर्ने, एक सय दिनभित्र पासपोर्ट, नागरिकता र सवारी लाइसेन्स घरघरमै पुर्याउने जस्ता डिजिटल गभर्नेन्सका १५ बुँदे प्रतिवद्धताहरू कागजमै सीमित भएको एमालेको ठहर छ । उल्टै अहिले पासपोर्ट वितरणमा कटौती र नियन्त्रण सुरु गरिएको भन्दै सरकारको कार्यक्षमतामा प्रश्न उठाइएको छ ।

दलित, उत्पीडित र सुकुम्बासीका समस्या समाधान गर्नुको साटो सरकारले डोजर आतंक सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ । सहकारी पीडितहरूको बचत फिर्ता गर्ने प्रक्रिया सुस्त रहेको, महिला सुरक्षाका लागि सीसीटीभी जडान र ‘ब्लु बस’ सञ्चालन गर्ने योजना कहाँ पुग्यो थाहा नभएको एमालेले जनाएको छ ।

आर्थिक क्षेत्रमा प्रतिगामी कर प्रणाली लागू गरिएको, शेयर बजारलाई शिथिल बनाइएको र कृषि क्षेत्रमा किसानले उखु र दूधको भुक्तानी नपाएको विषयलाई एमालेले प्रमुखताका साथ उठाएको छ । परराष्ट्र नीतिका सवालमा सरकार गम्भीर रूपमा चुकेको एमालेको निष्कर्ष छ । प्रधानमन्त्रीले नेपाललाई ‘बफर स्टेट’ का रूपमा चित्रण गर्नु र छिमेकी मुलुकसँगको सम्बन्धमा विवादास्पद अभिव्यक्ति दिनुले देशको स्वाभिमान कमजोर बनाएको वक्तव्यमा उल्लेख छ ।

प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरू भ्रष्टाचारमा जोडिएको र सरकार मुलुकको आर्थिक संकट समाधान गर्न तथा विधिको शासन कायम गर्न असफल भएको एमालेको दाबी छ । बालेन सरकार सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्णतः असफल देखिएको निष्कर्ष एमालेले निकालेको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ५ : २५ बजे

नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा

काठमाडौं– नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुग्न

डा. केसीले अनशन फिर्ता नलिए प्रतिअनशन बस्ने संघर्ष समितिको चेतावनी

धनगढी– शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

 काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ ।

रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय सांसदहरूको स्वकीय सचिव

विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर-  झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८