काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको रणनीति लागू गरेपछि युक्रेनले जवाफ स्वरूप रुसी तेल प्रशोधन केन्द्रहरूमा आक्रमण दोब्बर पार्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घोषणा गरेका छन् । यद्यपि युक्रेनले नागरिक क्षेत्रहरूलाई भने लक्षित नगर्ने उनले स्पष्ट पारेका छन् ।
युक्रेनी गुप्तचर निकायले प्राप्त गरेका कागजात अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हिउँदअघि नागरिक पूर्वाधारहरूमा व्यापक आक्रमण गर्न ‘नयाँ सिद्धान्त’ (न्यु डक्ट्रिन) जारी गरेको जेलेन्स्कीले रोयटर्सलाई दिएको अन्तर्वार्तामा बताएका छन् ।
उक्त नीति अनुसार सडक, विद्यालय, अस्पताल, पूर्वाधार र ढुवानी क्षेत्रलगायत सहर तथा गाउँहरूमा आक्रमण गर्ने अनुमति दिइएको छ ।
राजधानी किभ र अन्य सहरहरूबाट नागरिकहरूलाई भाग्न बाध्य पार्नु नै रुसको यस सैन्य कारबाहीको मुख्य लक्ष्य रहेको जेलेन्स्कीले दाबी गरेका छन् ।
एक प्रमुख फ्रन्टलाइन क्षेत्रमा रुसी सेना पछि हटिरहेको र ठूलो क्षति व्यहोरिरहेको अवस्थामा आफूलाई बलियो देखाउन पुटिनले यो नीति परिवर्तन गरेको उनको भनाइ छ ।
यस विषयमा मस्कोबाट तत्काल कुनै प्रतिक्रिया नआए पनि रुसी परराष्ट्र मन्त्रालयले विदेशी नागरिकहरूलाई किभ छाड्न आग्रह गर्दै हालैका महिनाहरूमा युक्रेनले गरेका आक्रमणको जवाफ स्वरूप योजनाबद्ध प्रहार जारी राख्ने जनाएको छ ।
हालैका साताहरूमा मस्कोले किभका ऊर्जा, दूरसञ्चार, सडक तथा रेल पूर्वाधारहरूमा ड्रोन र क्षेप्यास्त्रमार्फत निरन्तर प्रहार गरिरहेको छ। रुसले पहिलोपटक पूर्वी र पश्चिमी किभलाई जोड्ने निप्रो नदीका पुलहरूलाई समेत निशाना बनाएको छ ।
मस्कोको फेरिएको रणनीतिको युक्रेनले डटकर सामना गर्ने तर जथाभाबी नागरिक पूर्वाधारमा प्रहार नगर्ने जेलेन्स्कीले बताएका छन् ।
युद्ध सञ्चालन गर्न रुसलाई वित्तीय स्रोत जुटाउने मुख्य युक्रेनले सञ्चालन गरेको ‘भिवाल्डी’ नाम दिइएको सफल जवाफी सैन्य कारबाहीबाट पूर्वी डोन्बास क्षेत्रको करिब १४० वर्ग किलोमिटर (५४ वर्ग माइल) भुभाग फिर्ता ल्याइएको र उक्त कारबाही जारी रहेको जेलेन्स्कीले जानकारी दिएका छन् । यता रुसले भने शान्ति सम्झौताका लागि डोन्बास क्षेत्र पूर्ण रूपमा आफ्नो नियन्त्रणमा हुनुपर्ने सर्त राख्दै आएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चार वर्ष लामो यस युद्ध अन्त्य गर्न वार्ता पुनः सुरु गराउने प्रयास गरेको छ । अमेरिकी नेतृत्वले रुसी तेल संरचनामा आक्रमण नगर्न युक्रेनलाई आग्रह गर्दै यसले विश्वव्यापी डिजेलको मूल्य बढाएको बताएको थियो । तर जेलेन्स्कीका अनुसार रुस वा पुटिन शान्ति वार्ता वा ऊर्जा पूर्वाधारमा युद्धविराम गर्न इच्छुक रहेको कुनै संकेत पाइएको छैन ।
ट्रम्प प्रशासनले डिसेम्बरमा मियामीमा हुने जी२० सम्मेलनमा पुटिनलाई आमन्त्रण गरेपछि जेलेन्स्कीले शान्ति पुनर्बहाली नभएसम्म रुससँगको सम्बन्ध सामान्य नबनाउन वासिङ्टनलाई आग्रह गरेका छन् ।
जी२० सम्मेलनमा पुटिनसँग भेट्न तयार भए पनि डोन्बास नियन्त्रणमा लिँदैमा रुसले युद्ध रोक्छ भन्ने भ्रममा नरहन उनले अमेरिकालाई चेतावनी दिएका छन् ।
आर्थिक र कूटनीतिक सम्बन्धको पुनः सुरुवात रुसले युद्ध अन्त्य गरेपछि मात्र हुनुपर्ने र ‘आर्थिक फाइदाभन्दा शान्ति महत्त्वपूर्ण रहेको’ उनले बताएका छन् ।
रुसले आगामी हिउँदमा बिजुली र खानेपानीका पूर्वाधारमा आक्रमण गर्न सयौँ ब्यालिस्टिक क्षेप्यास्त्र सञ्चित गरेको युक्रेनी अधिकारीहरूले चेतावनी दिएका छन् । गत हिउँदमा रुसी प्रहारका कारण देशका धेरै भागमा दिनौँसम्म बिजुली र तापक्रम प्रणाली बन्द भएको थियो ।
हाल रुसले दैनिक रूपमा तीव्र गतिका ‘साहेद’ ड्रोनहरू प्रहार गरिरहेको छ । युक्रेनले एफ-१६ र मिग लडाकु विमान प्रयोग गरी करिब ६० प्रतिशत जेट-पावर्ड साहेद ड्रोन खसालेको भए पनि विमानका लागि २० मिमि गोलाबारुदको अभाव भइरहेको छ । यसै महिनाको उत्तरार्धमा युक्रेनले साना र सस्ता वायु रक्षा क्षेप्यास्त्रको पहिलो खेप प्राप्त गर्नेछ ।
साथै युक्रेन आफैँले साहेद ड्रोन खसाल्न सक्ने पाँच मोडलका इन्टरसेप्टर ड्रोन विकास गरिरहेको र दुई मोडलको प्रारम्भिक परीक्षण सफल भएको बताएको छ ।
यसै साता युक्रेनले २५० किमी रेन्ज भएको स्वदेशी ब्यालिस्टिक क्षेप्यास्त्र एफपी-७ को पहिलो प्रयोग गरेको घोषणा गरेको छ। साथै मस्कोसम्म प्रहार गर्न सक्ने दीर्घकालीन क्षमताको एफपी-९ क्षेप्यास्त्र पनि यसै शरद ऋतुसम्म तयार भइसक्ने जेलेन्स्कीले बताएका छन् ।
युक्रेनले यस वर्षको रक्षा बजेटमा रहेको २७ अर्ब डलरको घाटा पूर्ति गर्न युरोपेली साझेदारहरूसँग मिलेर योजना बनाएको छ । यसमा बजेटको पुनरावलोकन, द्विपक्षीय सहयोग र युरोपेली युनियनको ९० अर्ब युरोको ऋण सुविधा प्रयोग गरिनेछ ।
ब्रसेल्समा भएको वार्तापछि सन् २०२७ को सुरुका लागि आवश्यक ड्रोन खरिद गर्न बजेट सुनिश्चित भएको र यसलाई जेलेन्स्कीले देशको ठूलो सफलता भनेका छन् । (एजेन्सीको सहयोगमा)














प्रतिक्रिया