दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल « Khabarhub

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप बढेको छ । यहाँका खुल्ला बजारमा दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न पुगेका ग्राहकको चहलपहल अन्य समयको तुलनामा बढेको हो ।

दसैँका लागि परिवारका सदस्य, आफन्त तथा बालबालिकाका लागि नयाँ कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या बढेपछि भृकुटीमण्डप लगायतका बजारमा व्यापारीसमेत व्यस्त देखिएका छन् । 

भृकुटीमण्डप लगायतका विभिन्न पसलमा ग्राहक कपडा छनोट गर्दै, मूल्यबारे जानकारी लिँदै तथा आफूलाई आवश्यक सामग्री खरिद गर्नेको चाप बढेको भृकुटीमण्डपस्थित खुला बजारका फेन्सी पसलका व्यापारी अशोक खतिवडाले बताए । 

उनका अनुसार केही दिनयता बजारमा ग्राहकको आवागमन बढ्न थालेको छ । विशेषगरी बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि आवश्यक कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या उल्लेख्य रूपमा बढेको उनले बताए । 

‘दसैँ नजिकिँदै गएपछि कपडा किन्ने ग्राहकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । आज बिहानदेखि बजारमा पहिलेभन्दा बढी चहलपहल देखिएको छ’, खतिवडाले भने ।

दसैँमा नयाँ कपडा लगाउने नेपाली परम्परा रहेकाले पनि चाडपर्वको समयमा कपडाको व्यापार बढ्ने गरेको अर्का व्यापारी श्यामप्रकाश अधिकारीले बताए । 

उनका अनुसार ग्राहकको चाप बढेसँगै व्यापारीलाई सामान देखाउने, ग्राहकको रोजाइअनुसार कपडा छनोट गराउने, मूल्य बताउने तथा बिक्री व्यवस्थापन गर्न भ्याइनभ्याइ हुने गरेको छ ।

‘भृकुटीमण्डपमा दसैँका लागि आवश्यक कपडादेखि जुत्ता, चप्पल, बालबालिकाका सामग्री तथा दैनिक उपभोगका विभिन्न सामान खरिद गर्ने ग्राहकको समेत उपस्थिति बढेको छ’, उनले भने ।

एउटै स्थानमा विभिन्न प्रकारका सामान उपलब्ध हुने तथा ग्राहकले आफ्नो बजेटअनुसार सामान छनोट गर्न सक्ने भएकाले खुला बजारमा किनमेल गर्नेको सङ्ख्या बढेको व्यापारीहरूको भनाइ छ । चाडपर्वको समयमा सीमित आम्दानी भएका परिवारका लागि सस्तो बजार रोजाइमा पर्ने गरेको व्यापारीहरू बताउँछन् । 

काठमाडौँ उपत्यकाका विभिन्न खुला बजार तथा सडक किनारका रात्रिकालिन पसल तथा सपिङमल तथा ठूला व्यापारिक केन्द्रको तुलनामा केही सस्तोमा लुगा, कपडा तथा अन्य सामग्री पाइने भएकाले ग्राहकको आकर्षण बढ्ने गरेको व्यापारीहरूको भनाइ छ ।

सुन्धारास्थित रात्रिकालीन सडकपेटीमा लुगा, कपडा बिक्री गर्दै आएकी सङ्गीता न्यौपानेले पनि दसैँ नजिकिएसँगै ग्राहकको आवागमन बढेको बताइन् ।

उनका अनुसार चाडपर्वमा परिवारका सबै सदस्यका लागि कपडा खरिद गर्नुपर्ने भएकाले ग्राहकले मूल्य र गुणस्तर दुवैलाई ध्यान दिने गरेका छन् ।

दसैँसँगै मौसममा समेत क्रमिक रूपमा सुधार हुन थालेकाले चिसो मौसमका लागि आवश्यक लुगा, कपडा खरिद गर्ने ग्राहक पनि बजारमा देखिन थालेका छन् । 

विशेषगरी ज्याकेट, स्विटर, ट्र्याकसुट, हुडी तथा अन्य न्यानो कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या पनि बढ्दै गएको व्यापारी हरिकृष्ण कँडेलले बताए ।

दसैँलगायत चाडपर्व नजिकिँदै जाँदा काठमाडौँ उपत्यकाका भृकुटीमण्डप, असन, इन्द्रचोक, न्यूरोड, सुन्धारा, नयाँसडकलगायत बजारमा ग्राहकको चाप थप बढ्ने व्यवसायीको अपेक्षा छ । 

चाडपर्वका लागि आवश्यक सामग्री खरिद गर्न उपत्यकाका साथै बाहिरी जिल्लाबाट काठमाडौँ आएका नागरिकसमेत किनमेलमा व्यस्त हुन थालेका छन् ।

व्यापारीहरूले दसैँलाई लक्षित गरी विभिन्न प्रकारका सामानको मौज्दातसमेत बढाएका छन् । ग्राहकको मागअनुसार बालबालिका, महिला तथा पुरुषका लागि विभिन्न डिजाइन, रङ र मूल्यका कपडा बजारमा राखिएको उनीहरू बताउँछन् । ग्राहकले आफ्नो बजेट र रुचिअनुसार सामान छनोट गर्ने गरेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ३ : ३३ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश