समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी « Khabarhub

समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले हर्मुज जलघाँटीबाट प्रतिबन्धित मार्ग हुँदै पार गर्न खोजेका चारवटा तेल ट्याङ्कर समुद्री बारुदी धरापमा परेर ध्वस्त भएको दाबी गरेको छ। ती ट्याङ्करमा आगलागी भएको र अझै आगो निभिनसकेको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले जनाएको छ।

आईआरजीसीले बुधबार सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा हर्मुज जलघाँटीको दक्षिणी भागमा रहेको प्रतिबन्धित मार्गबाट जान खोजेका चारवटा तेल ट्याङ्कर नौसैनिक बारुदी धरापमा परेको उल्लेख गरेको छ। इरानले अन्य दुईवटा जहाजलाई समेत रोकेको र जलघाँटी क्षेत्रमा एउटा ड्रोन खसालेको दाबी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक गणतन्त्रमाथि अमेरिकाले आक्रमण गरेको बताएको एक दिनपछि इरानको यस्तो दाबी सार्वजनिक भएको हो। यसअघि हर्मुज जलघाँटीको सबैभन्दा ठूलो टापु केशममा अमेरिकी आक्रमण भएको विवरण सार्वजनिक भएको थियो।

तेहरानले हर्मुज जलघाँटीमाथि आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आएको छ। युद्ध सुरु भएयता आफ्नो अनुमति नलिई उक्त जलमार्ग पार गर्न खोज्ने जहाजलाई इरानले निशाना बनाउँदै आएको छ।

गत फेब्रुअरीमा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि सुरु भएको द्वन्द्व महिनौँदेखि जारी छ। अमेरिका र इरानबीच मध्यस्थकर्तामार्फत अप्रत्यक्ष वार्ता भइरहे पनि कूटनीतिक समाधानको ठोस सङ्केत देखिएको छैन। इरानले लामो समयदेखि राख्दै आएका मागमा वासिङ्टन सहमत भए मात्रै हर्मुज जलघाँटी पुनः खोल्न तयार रहेको जनाएको छ।

अमेरिकासँगको वार्तामा इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालीबाफले आफ्नो देश युद्धका लागि तयार रहेको बताए। उनले इस्लामिक गणतन्त्रले ‘युद्धको ट्रिगरमा औँला राखेको’ टिप्पणी गरेका छन्।

यद्यपि, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले वार्तामार्फत सङ्कट समाधान गर्न आफ्नो सरकार इच्छुक रहेको बताए। मङ्गलबार उनले पुनः युद्ध सुरु भए त्यसबाट कुनै पनि पक्षलाई फाइदा नहुने चेतावनी दिएको थियो।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  १ : ४० बजे

नेपाल प्रहरीको आईजीपीमा डा. मनोजकुमार केसी नियुक्त

काठमाडौँ – सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा डा.

दिल्लीमा वायु प्रदूषण डब्लुएचओको सीमाभन्दा ३० गुणा बढी

नयाँदिल्ली-  भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन

दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

एजेन्सी– चीनका विदेशमन्त्री वाङ यीले दक्षिण चीन सागरको विवादमा सतर्क

समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौँ– सात वटा समस्याग्रस्त सहकारीले  १२२ जनाको बचतकर्ताको बचत रकम

आईजीपी दानबहादुर कार्कीको जिम्मेवारी खोसियो

काठमाडौँ – सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट