काठमाडौं- अमेरिकाको एटलान्टामा आयोजित जी–२० विदेशमन्त्रीस्तरीय बैठकको सन्दर्भ पारेर क्वाड राष्ट्रका विदेशमन्त्रीहरूबीच महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। सन् २०२६ मा नयाँ दिल्ली र मनिलापछिको यो तेस्रो विदेशमन्त्रीस्तरीय बैठक हो, जसले यसै महिना फिलिपिन्सको मनिलामा हुने भनिएको बहुप्रतीक्षित क्वाड शिखर सम्मेलनको आधार तयार पारेको छ।
अक्टोबर ३१ मा सम्पन्न उक्त बैठकले इन्डो–प्यासिफिक क्षेत्रमा विश्वसनीय कृत्रिम बुद्धिमत्ताको पहुँच विस्तार गर्न ८ करोड ५० लाख अमेरिकी डलरभन्दा बढीको प्राविधिक तथा वित्तीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसैगरी, भारत र आसियान राष्ट्रहरूमा फोहोरबाट महत्वपूर्ण खनिज पुनःप्रशोधन गर्ने पूर्वाधार निर्माणका लागि अमेरिकाले १ करोड डलर सहयोग गर्ने घोषणा गरेको छ । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा विश्वव्यापी आपूर्ति शृङ्खलामा अवरोध पुर्याउने निर्यात प्रतिबन्ध र गैर–बजार नीतिहरूप्रति क्वाड राष्ट्रहरूले गम्भीर चासो व्यक्त गरेका छन् ।
सन् २०२५ मा नयाँ दिल्लीमा तय भएको शिखर सम्मेलन स्थगित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछिको यो पहिलो शीर्ष बैठक हुने भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ । बैठकले निजी क्षेत्रको सहकार्यका लागि पहिलो पटक ‘क्वाड बिजनेस लिडर्स फोरम’ गठन गर्ने निर्णय समेत गरेको छ ।
यसअघि सन् २०२६ भरि भएका विभिन्न पहलअन्तर्गत क्वाडले आसियानको इन्डो–प्यासिफिक दृष्टिकोणलाई पूर्ण समर्थन जनाउनुका साथै इरान सङ्कट र हर्मुज जलडमरूमध्यको तनावलाई मध्यनजर गर्दै ऊर्जा सुरक्षाका लागि ‘क्वाड इन्धन सुरक्षा फोरम’ समेत सञ्चालनमा ल्याइसकेको छ। सन् २०२६ का तीनवटा मन्त्रीस्तरीय बैठकमार्फत क्वाडले आफ्ना संयुक्त प्राथमिकताहरूलाई ठोस कार्यान्वयनको चरणमा लगेको र अब आगामी शिखर सम्मेलनमार्फत त्यसलाई थप व्यापकता दिने लक्ष्य राखेको छ।














प्रतिक्रिया