काठमाडौँ– ल्याटिन अमेरिकी राजनीतिमा केही यस्ता पात्र छन्, जसको जीवन आफैँमा एउटा राजनीतिक उपन्यास जस्तै लाग्छ। तीमध्ये एक हुन् निकोलस मादुरो। साधारण श्रमिक परिवारमा जन्मिएका, कहिल्यै विश्वविद्यालयको डिग्री नलिएका मादुरो करिब १३ वर्ष ८ महिनासम्म भेनेजुएलाको सत्तामा रहे। तर यो लामो शासनको अन्त्य अत्यन्तै नाटकीय भयो। गत शनिबार अमेरिकी विशेष बलद्वारा नियन्त्रणमा लिएर देशबाहिर लगिएको छ ।
६३ वर्षीय मादुरो अमेरिकी हिरासतमा छन्। उनीमाथि लागूऔषध तस्करी, अन्तर्राष्ट्रिय अपराध, शक्ति दुरुपयोग र व्यापक भ्रष्टाचारका गम्भीर आरोप लगाइएका छन्। कहिले आफूलाई अमेरिकी साम्राज्यवादविरुद्धको कट्टर क्रान्तिकारी भन्दै प्रस्तुत गर्ने नेता आज त्यही अमेरिकाको नियन्त्रणमा हुनु राजनीतिक विडम्बनाको स्पष्ट उदाहरण बनेको छ।
श्रमिक बस्तीबाट उठेको राजनीतिक चेतना
निकोलस मादुरोको जन्म २३ नोभेम्बर १९६२ मा राजधानी काराकास नजिकैको एल भाले नामक श्रमिक बस्तीमा भएको थियो। त्यो बस्ती गरिबी, संघर्ष र श्रमको प्रतीक मानिन्थ्यो। उनी कुनै राजनीतिक परिवारका सन्तान थिएनन्। बाल्यकालदेखि नै अभावसँग जुध्दै हुर्किएका मादुरोको जीवनले उनीभित्र सङ्घर्षशील सोच विकास गर्यो।
विद्यालय पढ्दाखेरि नै उनी नेतृत्व क्षमताका कारण चिनिन थाले। जोसे एभालोस हाई स्कुलमा विद्यार्थी युनियनको अध्यक्ष बनेपछि उनी राजनीतितर्फ आकर्षित भए। औपचारिक शिक्षा स्नातक तहसम्म नपुगे पनि भीडलाई संगठित गर्ने, भाषणमार्फत मानिसलाई प्रभावित पार्ने र सहकर्मीहरूसँग नजिक हुने क्षमता उनीमा प्रष्ट देखिन्थ्यो।
सन् १९८६ मा क्युबा पुगेपछि उनको सोचले वैचारिक मोड लियो। त्यहाँ उनले समाजवादलाई केवल सिद्धान्त नभई आफ्नो राजनीतिक पहिचानका रूपमा अपनाए। क्युबाबाट फर्किएपछि उनले काराकासको सबवे प्रणालीमा बस चालकको रूपमा काम सुरु गरे, तर उनको ध्यान कामभन्दा बढी युनियन, आन्दोलन र संगठन निर्माणमै केन्द्रित रह्यो।
चाभेजसँगको भेटले मोडिएको बाटो
सन् १९९० को दशक मादुरोको जीवनमा निर्णायक बन्यो। यही समयमा उनी ह्युगो चाभेज नेतृत्वको राजनीतिक आन्दोलनमा जोडिए। सैन्य विद्रोहपछि राजनीतिको मूलधारमा आएका चाभेज गरिब र श्रमिक वर्गका लागि आशाको प्रतीक थिए।
चाभेजका लागि मादुरो साधारण कार्यकर्ता मात्र रहेनन्। उनी विश्वासका पात्र, रणनीतिक सहयात्री र विचारधारात्मक उत्तराधिकारी बन्दै गए। सन् १९९८ मा चाभेज राष्ट्रपति बनेपछि मादुरोको राजनीतिक उडान तीव्र भयो-पहिले सांसद, त्यसपछि विदेशमन्त्री र अन्ततः उपराष्ट्रपति।
चाभेजको भाषण शैली, अमेरिकी विरोधी धारणा र ‘समाजवादी क्रान्ति’को नारालाई मादुरोले पूर्ण रूपमा आत्मसात् गरे। सन् २०१३ मा क्यान्सरका कारण चाभेजको निधन हुनुअघि उनले जनतालाई ‘मेरो उत्तराधिकारी निकोलस मादुरो हुन्’ भन्दै स्पष्ट सन्देश दिएका थिए । यही वाक्यले मादुरोलाई राष्ट्रपतिको कुर्सीसम्म पुर्यायो ।
राष्ट्रपति बनेपछि अविराम संकट
मादुरोले सन् २०१३ को राष्ट्रपति निर्वाचन अत्यन्तै झिनो मतान्तरले जिते। तर सत्ता सम्हालेसँगै उनी आलोचनाको केन्द्र बने। धेरैले उनलाई चाभेजजस्तो प्रभावशाली नभएको भन्दै टिप्पणी गरे । विपक्षीहरूले व्यङ्ग्य गर्दै ‘चाभेजको भाषण दोहोर्याउने राष्ट्रपति’को संज्ञा दिए।
उनको कार्यकालको सुरुवातमै आर्थिक संकट, राजनीतिक अस्थिरता र सामाजिक असन्तोष चर्किंदै गयो। विपक्षी नेतृ मारिया कोरिना माचाडोको नेतृत्वमा देशव्यापी प्रदर्शन भए। ती आन्दोलनमाथि सुरक्षा बलले कठोर दमन गर्दा ४३ जनाको मृत्यु , सयौँ घाइते र दर्जनौँ पक्राउ परेका थिए ।
सन् २०१५ मा सत्तारूढ दलले राष्ट्रिय सभामा बहुमत गुमाउनु मादुरोका लागि ठूलो झट्का बन्यो। यसको जवाफस्वरूप उनले संविधान सभा गठन गरेर विपक्षी नियन्त्रणमा रहेको संसद् निष्क्रिय बनाए। यो कदमलाई विपक्षी र अन्तर्राष्ट्रिय समुदायले लोकतन्त्रको हत्या भन्यो ।
संविधान सभा गठनपछि आन्दोलन झन् चर्कियो। सुरक्षा बल र अर्धसैनिक समूहको दमनमा एक सयभन्दा बढी नागरिक मारिए र सयौँ जेल परे। यी घटनापछि अन्तर्राष्ट्रिय फौजदारी अदालतले मानवता विरुद्धको अपराधको प्रारम्भिक अनुसन्धान सुरु गर्यो ।
अमेरिका र युरोपेली मुलुकहरूले मादुरो शासनमाथि कडा आर्थिक प्रतिबन्ध लगाए। तेल उद्योग, सरकारी संस्था र शीर्ष नेताहरू लक्षित प्रतिबन्धले देशको अर्थतन्त्रलाई झनै कमजोर बनायो।
हत्या प्रयास र धराशायी अर्थतन्त्र
सन् २०१८ मा काराकासमा आयोजित सैन्य परेडका क्रममा विस्फोटक जडित ड्रोन हमला भयो। यो मादुरोमाथिको प्रत्यक्ष हत्या प्रयास थियो। उनी जोगिए, तर यसले सत्ता कति असुरक्षित भइसकेको छ भन्ने स्पष्ट सन्देश दियो। त्यस समयसम्म भेनेजुएलाको अर्थतन्त्र लगभग धराशायी भइसकेको थियो। तेल उत्पादन दैनिक ४ लाख ब्यारेलभन्दा कम , मुद्रास्फीति नियन्त्रणबाहिर , खाद्यान्न र औषधिको चरम अभाव पश्चात परिणामस्वरूप लाखौँ भेनेजुएलावासी देश छोडेर पलायन भए।
२०१८ र २०२४ का राष्ट्रपति निर्वाचनहरू मादुरो शासनका सबैभन्दा विवादास्पद अध्याय बने। विपक्षी दलहरूलाई चुनावबाट टाढा राखियो, केही नेता जेल परे, केही निर्वासनमा गए। मतदानपछि विस्तृत परिणाम सार्वजनिक नगरी मादुरोलाई विजेता घोषणा गरियो। धेरै देशहरूले ती निर्वाचनलाई मान्यता दिएनन्। तर सेना, अर्धसैनिक समूह र सत्तारूढ पार्टीको समर्थनका कारण मादुरो सत्तामा टिकिरहे।
२०२५ जनवरीमा उनले तेस्रो कार्यकालको शपथ लिए। तर त्यही समय डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा पुनरागमन र क्यारिबियन क्षेत्रमा अमेरिकी सैन्य सक्रियताले परिस्थितिलाई निर्णायक मोडमा पुर्यायो। अन्ततः अमेरिकी विशेष बलद्वारा मादुरोलाई नियन्त्रणमा लिएपछि उनको लामो शासन एकाएक समाप्त भयो।
परिवार, शक्ति र इतिहासको फैसला
मादुरोको सत्ता यात्रामा उनकी पत्नी सिलिया फ्लोरेस पनि प्रभावशाली पात्र थिइन्। उनी पनि अमेरिकी नियन्त्रणमा परेको बताइन्छ।
बस चालकदेखि राष्ट्रपति, अनि राष्ट्रपति देखि बन्दी—निकोलस मादुरोको जीवन अब सत्ताको होइन, पतनको कथा बनेको छ। उनको राजनीतिक भविष्य सकिएको देखिए पनि, भेनेजुएलाको इतिहासमा उनको नाम दमन, संकट र एक युगको अन्त्यसँग सधैं जोडिएर रहनेछ।













प्रतिक्रिया