हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै « Khabarhub

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै



काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको आधारमा पक्राउ गरेको भन्दै केही दिनअघि एक जना युवती सडक आन्दोलनमा उत्रिइन् । भदौ २३ मा भएको जेन–जी आन्दोलन घटनाको छानिबनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको सिफारिसका आधारमा ओलीलाई पक्राउ गरिएको विरोधमा उनी आन्दोलनमा उत्रिएकी थिइन् ।

प्रदर्शनका क्रममा उनले प्रतिशोध साँधेर ओलीलाई पक्राउ गरेको अभिव्यक्ति दिएकी थिइन् । नयाँ सरकारको आलोचना नगरी केबल ‘केपी ओली रिहा गर’ भन्ने नारा लगाएकी उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । यसलगत्तै उनी सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा परिन् । उनीमाथि सामाजिक सञ्जालमा दुर्व्यवहार भयो । उनलाई ज्यान मार्ने, बलात्कार गर्ने धम्की आउन थाल्यो ।

उनलाई बलात्कारपछि मारिएकी १३ वर्षीया निर्मला पन्तको हालत बनाइदिने र केही समयअगाडि सुर्खेतमा सामूहिक बलात्कार गरी हत्या गरिएकी १६ वर्षीया इनिसा विकको अवस्थामा पुर्‍याइदिने सम्मका धम्की आए । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले ओलीकी कान्छी श्रीमती भन्दै एआईबाट सिन्दुर हालेको, चुम्बन गरेको फोटोहरु समेत हालेका छन् ।

साइबर बुलिइङले सीमा नाघेपछि अन्ततः उनी न्यायको लागि साइबर ब्यूरो पुगिन् ।

यस्तै, केही समयअगाडि नेकपा एमालेकी नेता रामकुमारी झाँक्री पनि न्याय माग्दै ब्यूरो पुगेकी थिइन् । अनेरास्ववियुको विद्यार्थी राजनीति हुँदै केन्द्रिय राजनीतिमा आएकी झाँक्री सबैभन्दा धेरै साइबर बुलिइङको शिकार हुने नेतृमा पर्छिन् ।

एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी स्थापना भएदेखि नै उनीमाथि बुलिइङ हुन थालेको थियो । प्रहरीको अनुसन्धान टोलीले झाँक्रीमाथि भएका साइबर आक्रमण, साइबर हिंसा र साइबर दुर्व्यवहारबारे लामो अनुसन्धान समेत गरेको थियो ।

अनुसन्धानका क्रममा उनीमाथि विभिन्न पेसा, वर्ग, जातजाति, लिङ्ग र सबै क्षेत्रमा बस्ने व्यक्तिहरूले व्यक्तिगत रूपमा अपशब्द प्रयोग गरेर गालीगलौज गरेको देखिएको थियो । झाँक्रीमाथि हमला गर्नेमध्ये लैङ्गिक हिसाबमा प्रायः महिलाहरू, महिलाका नाम र महिलाको प्रोफाइल फोटो राखेका नक्कली आईडीहरु धेरै छन् ।

त्यस्तै, केही दिनअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै ब्यूरोमा उजुरी दिए । सुनिता खड्का नामक टिकटक आईडीबाट साम्पाङको घरसमेत जलाउने धम्की आएको थियो । खड्काले टिकटकमार्फत हर्कले आफ्नो अभिव्यक्तिमा सुधार नगरे मारेर फाल्दिने धम्की दिएकी थिइन् ।

जेन–जी आन्दोलनपछि आम चुनावमार्फत नयाँ सरकार बनेको छ । तर आन्दोलनपछि समाजमा सहिष्णुता हराउँदै गएको भन्ने चर्चा हुने गरेको छ । फरक विचारलाई सम्मान गर्ने संस्कार हराउँदै गएको छ भने डिजिटल माध्यमबाट हुने हिंसा बढ्दै गएको छ ।

साइबर ब्यूरोको तथ्याङ्क अनुसार हरेक वर्ष साइबर बुलिइङको दर बढ्दै गएको देखिन्छ । विगत पाँच वर्षमा ८ हजार १३६ जना बुलिइङको शिकार भएको भन्दै न्यायको लागि साइबर ब्यूरो पुगेका छन् ।

साइबर ब्यूरोको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/७९ मा ९७९ जनाको उजुरी परेको थियो । त्यस्तै, २०७९/८० मा त्यो उजुरी बढेर एक हजार ६५६ पुग्यो । २०८०/८१ मा एक हजार २२, २०८१/८२ मा एक हजार ८०१ जनाको उजुरी परेको थियो । त्यसैगरी आर्थिक वर्ष २०८२/०८३ अर्थात् ८२ चैत १९ गतेसम्मको तथ्याङ्कमा २ हजार ६७८ जनाको उजुरी परेको छ ।

साइबर ब्यूरोको प्रवक्ता दिलिपकुमार गिरीले पछिल्लो आर्थिक वर्षमा सबैभन्दा धेरै साइबर बुलिइङको उजुरी आएको छ । खबरहबसँग कुरा गर्दै उनले भने, ‘यो वर्ष आन्दोलन र चुनाव दुवै पर्‍यो । यो समयमा राजनीतिक बहस बढी हुन्छ । आरोप प्रत्यारोपमा कार्यकर्ता र समर्थक अरुबेला भन्दा एक्टिभ हुन्छन् । त्यसकारण घटनाको सङ्ख्या बढेको देखिन्छ ।’

उनका अनुसार पछिल्लो समय साइबर अपराधसँगै उजुरी गर्नुपर्ने चेतना पनि बढेको छ । ‘सेलिब्रेटी हुन् वा सामान्य नागरिक, उजुरी लिएर आएका सबैलाई न्याय दिएका छौँ ।’ उनले भने, ‘सेलिब्रेटीहरुको उजुरी मिडियामा आउने भएका कारण उनीहरुले मात्रै साइबर न्याय पाउँछन् कि भन्ने लाग्न सक्छ । तर जोकोही पीडितले न्याय पाउँछ ।’

नक्कली आईडीमार्फत भएका बुलिङबाट पनि अपराधी जोगिन नसक्ने गिरीको भनाइ छ । उनी सञ्जालमा केही पोष्ट वा कमेन्ट गर्नुअघि सजग हुन सुझाव दिन्छन् । उनी भन्छन्, ‘तपाईंको अभिव्यक्तिविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गर्छ । पक्राउ परेपछि यस्तो गर्नु हुँदैन भन्ने थाहा थिएन भनेर कतिपय रोइरहेका हुन्छन् । तर कानून जान्दिनँ वा अपराध जान्दिनँ भन्न पाइादैन । कतिपयले कुटेको, पिटेको र मारेको होइन, सञ्जालमा बोलेको त हो नि भनेर समेत उम्किन खोज्छन्, त्यसरी उम्किन पाइँदैन ।’

साइबर अपराधसम्बन्धी ज्ञानको अभावमा पनि अपराध भइरहेको उनको भनाइ छ । ‘स्कुल, कलेज र मिडियाले नै साइबर अपराध के–के हुन् भन्नेबारे सचेत गर्नुपर्ने हुन्छ । साथै, अभिभावक आफैँ पनि सञ्जालको नियमन बारेमा बेखबर देखिन्छन् । कतिपय छोराछोरीले अभिभावकै नक्कल गरिरहेका हुन्छन् । हिंसा र अपराधको प्रकृति परिवर्तन हुँदै गएको छ । हातमा खुकुरी बोक्नेभन्दा धेरै ठूलो अपराध मोबाइल बोक्नेले गरिरहेका छन्’, उनले भने ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ५ : ५५ बजे

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको