नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार « Khabarhub

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो टुङ्गिएकोजस्तो लाग्छ । सपना अधुरै रोकिन्छन् ।  भविष्य अँध्यारो लाग्ला । तर, त्यही अँध्यारोभित्र उज्यालो पनि हुन्छ, जसलाई देख्ने आँट गर्नुपर्छ । शिशिर दाहालको कथा त्यही उज्यालो खोज्ने साहसको कथा हो ।

सिन्धुलीमा जन्मिएका शिशिर अहिले भक्तपुरको दधिकोटमा आफ्नो जीवनका सपनालाई पछ्याइरहेका छन् । २५ वर्षको उमेरमै उनले जीवनका उकाली–ओराली नजिकबाट भोगिसके । २०७८ साल शिशिरका लागि जीवनको एउटा कठोर मोड बन्यो । उनी दुर्घटनामा परे ।  मेरुदण्डमा चोट लागेपछि शारीरिक रूपमा अपाङ्गता बने । अहिले शिशिर हुइलचियरको सहाराले बाँचिरहेका छन् । शरीरले साथ दिन छोडेपछि मन पनि कहिलेकाहीँ थाक्थ्यो । ‘अब के गर्ने ?’ ‘कसरी बाँच्ने ?’

यी प्रश्नहरू उनको मनभित्र उभिरहन्थे घरिघरि । वरपरका मानिसहरूका शब्दहरू पनि कम पीडादायी थिएनन् । कसैले सहानुभूति देखाउँथे, कसैले निराशा । ‘अब त जीवन जिउन गाह्रो हुन्छ’, भन्ने आवाजहरू बारम्बार कानमा पर्थे शिशिरका । ती शब्दहरू कहिलेकाहीँ घाउभन्दा पनि गहिरो लाग्थे शिशिरलाई ।

दुर्घटनाले शरीर कमजोर बनायो शिशिरको तर  सपनालाई भने बलियो बनायो । त्यसैले त आज शिशिर दाहाल आफ्नै मेहनतले उभिएका छन्, अरूका लागि प्रेरणा बनेर । ‘के म यही अवस्थालाई नियति मानेर बस्ने कि फेरि केही गरेर उठ्ने ?’ भन्ने लाग्यो शिशिरलाई । त्यही प्रश्नले उनको जीवनको दिशा बदल्यो । अनि बने, नर्सरी व्यवसायी । परिवारकै पहिलो नर्सरी व्यवसायी बन्ने उनको सपना सामान्य थिएन । तर त्यो सपना पछाडि उनको आत्मनिर्भर बन्ने चाहना थियो ।

कृषि विषय अध्ययन गरेका उनले दुई वर्षसम्म किसानलाई तालिम दिए । अरूलाई उत्पादन सिकाउने, आत्मनिर्भर बन्न प्रेरित गर्ने उनको कामले उनलाई सन्तुष्टि दिन्थ्यो ।

दुर्घटनापछि अरूकोमा गएर काम गर्न गाह्रो थियो । ‘आफ्नै केही गरौँ’ भन्ने सोच उनको मनमा आयो । आफू आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने अठोटले २०७९ सालदेखि शिशिरले नर्सरी व्यवसाय सुरु गरे । सुरुवात सजिलो थिएन । शरीरले सधैँ साथ दिँदैनथ्यो । स्रोतसाधन सीमित थिए, र नीतिगत झन्झटहरू आफ्नै ठाउँमा थिए । तर, उनले हार मानेन् । माटोसँग खेल्दै, हरियाली बिरुवासँग रमाउँदै शिरिरले आफैँलाई पुनः उभ्याए । उनको नर्सरीमा फुल्ने हरेक बिरुवाले व्यवसाय मात्रै नभएर शिरिरको सङ्घर्षको कथा बोकेको छ । अहिले उनले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन् । शिशिर भन्छन्, ‘मेहेनत गरे विदेश जानै पर्दैन । नेपालमै भविष्य छ । गाह्रो त छ, तर गर्न सकिन्छ । नीतिगत रूपमा केही चुनौती छन्, तर यदि दृढ भएर लागियो भने भोलिको दिन पक्कै राम्रो हुनेछ ।’

 भृकुटीमण्डपमा चलिरहेको तेस्रो हर्टिकल्चर मेलामा भेटिएका शिशिरको आवाजमा आत्मविश्वास झल्किन्छ । विश्वास, धैर्य र मानिसको साहसले मान्छे पनि कठिनाइ चिरेर अघि बढ्न सक्छ भन्ने उदाहरण दिएका छन् शिशिरले ।

कीर्तिपुरको शान्त वातावरणमा फैलिएको हरियालीबीच, बुढाथोकी नर्सरीमा बोटबिरुवाका दिनहुँ नयाँ जीवन अंकुराइरहेको छ । यही हरियालीसँगै आफ्नै पहिचान बनाउँदै छिन्, सुरसा ओझाले पनि ।  उनका लागि यो व्यवसाय रोजगारीको माध्यम मात्रै नभएर पुस्तान्तरण हुँदै आएको एउटा सपनासमेत हो ।

फूल र बिरुवाप्रतिको मोहले उनका हजुरबाले सुरु गरेको नर्सरी व्यवसाय अहिले परिवारको पहिचान बनेको छ । ‘सुरुमा त हजुरबाले गर्नुभएको हो, म त पछिल्ला चार वर्षदेखि यसमा लागेको हुँ,’ उनी भन्छिन् ।

सुरसाका लागि यो यात्रा त्यति सहज भने भएन । नेपाली समाजमा अझै पनि हर्टिकल्चर (उद्यान) व्यवसायलाई सम्मानित पेशाका रूपमा हेर्ने चलन बलियो नहुँदा पढेलेखेर अन्य जागिर पो खानुपर्छ, यस्तो कृषिजन्य पेसामा लाग्ने हो र  भन्ने समाजको प्रश्नलाई बेवास्ता गर्दै अगाडि बढिरहेका छिन्, उनी ।

‘यो क्षेत्रमा इज्जत कम हुन्छ, कहिलेकाहीँ हेपिएकोजस्तो पनि महसुस हुन्छ’, सुरसा खुलेर सुनाउँछन् । यद्यपि, उनको दृष्टिकोण फरक छ । चुनौतीलाई कमजोरी होइन, अवसरका रूपमा हेर्ने सुरसाको सोचले नै उनलाई अगाडि बढाएको छ ।

नर्सरीमा फूलका बिरुवा, फलफूलका स्याउला, सजावटी बोटबिरुवादेखि लिएर दुर्लभ प्रजातिसम्म पाइन्छन् । उनका अनुसार, अहिले विस्तारै युवाहरू पनि यस क्षेत्रमा आकर्षित हुन थालेका छन् । सहरको बढ्दो हरियालीप्रतिको चासो, घरमै बगैँचा बनाउने चलन र वातावरणीय सचेतनाले हर्टिकल्चर व्यवसायको सम्भावना बढाएको छ । सुरसाले नर्सरीलाई व्यापारका रूपमा मात्र लिएकी छैनन् । वातावरण संरक्षणसँग जोडिएको अभियानका रूपमा पनि लिएकी छिन् । ‘एउटा बिरुवा रोप्नु भनेको स्वच्छ वातावरणको भविष्य रोप्नुजस्तै हो’, सुरसाको विश्वास छ ।

सामाजिक दृष्टिकोण बदल्नुपर्ने चुनौती अझै बाँकी भए पनि सुरसाजस्ता युवाको पहलले विस्तारै परिवर्तनको सङ्केत देखिँदैछ । हजुरबाबाट सुरु भएको हरियालीको यात्रा अहिले नयाँ पुस्ताको आत्मविश्वाससँग जोडिएको छ, जहाँ मेहनत छ, सपना छ र सोच बदल्ने दृढ अठोट पनि ।

ललितपुरका दीपेन्द्र तुलाधर स्वदेशमै सम्भावना खोज्ने अर्का उदाहरणीय उद्यमी हुन् । पहिले विज्ञापन एजेन्सी सञ्चालन गर्दै आएका उनको व्यवसाय कोरोना महामारीसँगै प्रभावित भयो । लक डाउनले बजार ठप्प बनेपछि विज्ञापन क्षेत्र मात्र होइन, धेरै उद्योगहरू धराशायी बने, जसको प्रत्यक्ष असर उनको व्यवसायमा पनि पर्‍याे । परिस्थिति बिग्रँदै जाँदा परिवार र आफन्तले विदेश जाने सुझाव दिन थाले । भाइहरू विदेशमै रहे पनि उनलाई भने विदेशिनु मात्र विकल्प जस्तो लागेन । विदेशमा पनि सजिलो कहाँ छ र भन्ने सोचले तुलाधरलाई स्वदेशमै केही नयाँ गर्ने दिशातर्फ डाेर्‍यायाे ।

त्यही क्रममा उनले नर्सरी व्यवसाय रोजे । आज उनी यही क्षेत्रमा स्थापित भएका छन् ।  ‘अहिले मासिक ४५ लाखसम्म कमाइ भएको छ’, उनी भन्छन्, ‘मेहेनत गरेमा हर्टिकल्चर व्यवसाय राम्रो छ ।’ भृकुटीमण्डपमा जारी पुष्प प्रदर्शनीमा भेटिएका तुलाधर ग्राहकलाई फूल तथा नर्सरीका बिरुवा बिक्रीमै व्यस्त थिए । व्यापारसँगै उनले ग्राहकलाई बिरुवाको स्याहार–सम्भारसम्बन्धी सीप पनि सिकाइरहेका थिए । कुन बिरुवालाई कति पानी चाहिन्छ, कुन भित्र वा बाहिर राख्नुपर्छ भन्ने जानकारी दिन उनी विशेष ध्यान दिन्छन् ।

नर्सरी क्षेत्रमा ११ अर्बभन्दा बढीको लगानी
नर्सरी व्यवसायी सङ्घ नेपालका अनुसारका अनुसार नर्सरी क्षेत्रमा ११ दशमलव ८३ अर्बको लगानी रहेको छ । तीन हजार ९०० भन्दा बढी नर्सरी व्यवसायीहरू रहेको सङ्घको तथ्याङ्कमा उल्लेख छ । पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी गरी विभिन्न उपक्षेत्रमा फैलिएको नर्सरी व्यवसायले वार्षिक करिब ६.४३ अर्ब रुपैयाँ बराबरको कारोबार गरिरहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । विवरणअनुसार पुष्प नर्सरीतर्फ ७५१ वटा व्यवसायी रहेका छन् । करिब ११.२७ करोड  उत्पादन हुने गरेको छ । वार्षिक २.३० अर्ब रुपैयाँ पुष्प व्यवसायबाट उत्पादन हुने गरेको छ ।

करिब ५५० फलफूलको व्यवसायबाट वार्षिक एक दशमलव ६५ अर्ब रुपैयाँ आम्दानी हुने गरेको छ । त्यस्तै कृषि वन नर्सरीतर्फ सबैभन्दा धेरै दुई हजार २०० व्यवसायी सक्रिय रहेका छन् । यस क्षेत्रबाट शून्य दशमलव ८८ अर्बको कारोबार हुँदै आएको छ । जडीबुटी नर्सरीतर्फ ४०० व्यवसायी संलग्न रहेको र वार्षिक एक दशमलव ६० अर्ब रुपैयाँ आम्दानी हुने गरेको छ ।

नर्सरी व्यवसायमार्फत एक लाख २० हजार नागरिकले रोजगारी तथा आयआर्जनको अवसर पाइरहेका छन् । सङ्घका अध्यक्ष रामजी प्रसाद तिमल्सेनाले नर्सरी व्यवसायलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिँदै यसको सम्भावनाको अध्ययन र प्रवद्र्धनका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

सरकारी नीति, प्रविधि हस्तान्तरण, गुणस्तरीय बीउ–बिजनको उपलब्धता र बजार विस्तारलाई प्राथमिकतामा राखेर दीर्घकालीन विकास रणनीति आवश्यक रहेकामा उनको जोड रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  १० : ५७ बजे

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक

अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौँ– बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना

काठमाडौँ महानगरभित्र १९ सय सहकारी सञ्चालनमा, ५० प्रतिशतले पनि बुझाउँदैनन् प्रतिवेदन

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा) भित्र करिब एक हजार ९०० सहकारी

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

हेटौँडा– जन्मिँदा त कृष्णजस्तै सुन्दर बाबु भनेर सबैले काखमा बोके,