अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित « Khabarhub

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत अतिविपन्न दलित परिवारका बालबालिकाका लागि अङ्ग्रेजी माध्यमको अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । त्यस्ता बालबालिकाको सिकाइ सुधारका लागि वडा कार्यालयको सहयोगमा कक्षा सञ्चालन गरिएको हो ।

हाल यहाँ कक्षा १ देखि ३ सम्म अध्ययनरत ६६ जना दलित तथा अतिविपन्न परिवारका बालबालिकालाई समेटेर अतिरिक्त कक्षा सञ्चालन गरिरहेको वडाअध्यक्ष लालबहादुर ऐरले जानकारी दिए । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका परिवारका अभिभावक मजदुरीका लागि अन्यत्र जाने र बालबालिकालाई पनि सँगै लैजाने गरेका कारण धेरै बालबालिकाले विद्यालय छाड्ने अवस्था छ । 

केही महिना मजदुरी गरेर फर्किएपछि बालबालिकाको सिकाइ सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन गरिएको उनले बताए। 

‘अभिभावक मजदुरीका लागि बाहिर जाँदा बालबालिका पनि सँगै जाने र विद्यालय छोड्ने अवस्था छ । पुनः विद्यालयमा फर्किंदा कोर्स पढाइ धेरै अगाडि बढिसकेको हुन्थ्यो । हामीले त्यसको पूर्ति गर्न अतिरिक्त कक्षा सञ्चालन गरेका हौँ’, वडाअध्यक्ष ऐरले भने। 

हाल कक्षा ३ सम्मका बालबालिकाका लागि विद्यालयका दक्ष शिक्षकको व्यवस्था गरी पठनपाठन गरिएको र  आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई समेटेर कार्यक्रम विस्तार गर्ने योजना रहेको वडा कार्यालयले जनाएको छ । हाल अतिरिक्त कक्षा सञ्चालनका लागि वडा कार्यालयले चार लाख विनियोजन गरेको छ । 

दलित समुदायका बालबालिका विद्यालय समयमा नियमित र त्यसपछि अतिरिक्त कक्षामा थप अध्ययन गर्ने व्यवस्था गरिएको छ । त्यस्ता बालबालिकाका लागि वडाबाट वर्षभरि पुग्ने शैक्षिक सामग्री, अङ्ग्रेजी विषयका पाठ्यपुस्तक, झोला, पोसाक, ट्रयाकसुट, जुत्ता, मोजालगायत सामग्री उपलब्ध गराइएको वडाअध्यक्ष ऐरले जानकारी दिए।

विद्यालयका शिक्षक भरतबहादुर ऐरका अनुसार बालबालिकालाई दुईवटा कक्षामा विभाजन गरेर पठनपाठन गरिँदै आएको छ । अतिरिक्त कक्षा सञ्चालन भएपछि बालबालिकाको पढाइमा उल्लेखनीय सुधार देखिएको उनले बताए। 

‘पहिले धेरै बालबालिका पढाइमा कमजोर थिए, विद्यालय पनि नियमित आउँदैनथे’, ऐरले भने, ‘हाल बालबालिका नियमित विद्यालय आउन थालेका छन् र पढाइमा पनि सुधार भइरहेको छ ।’

यस कार्यक्रमले विद्यालयमा घट्दै गएको विद्यार्थी सङ्ख्या बढाउन पनि सहयोग पुगेको विद्यालय प्रशासनले जनाएको छ । वडा कार्यालयले आगामी दिनमा अझ प्रभावकारी रूपमा दलित तथा अतिविपन्न बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने योजना बनाएको छ । 

विद्यालयमा छात्रावास निर्माण कार्य पूरा भएपछि अतिविपन्न दलित बालबालिकालाई छनोट गरी आवासीय रूपमा राखेर पढाइ गराउने योजना रहेको वडाअध्यक्ष ऐरले बताए।

‘छात्रावास बनेपछि टाढाका र अतिविपन्न परिवारका बालबालिकालाई आवासीय रूपमा राखेर पढाउने योजना छ’, उनले भने, ‘वडा कार्यालयले विपन्न बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन अभिभावक बनेर काम गरिरहेको छ र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ ।’

वडास्तरबाट लक्षित वर्गका बालबालिकाका लागि सञ्चालन गरिएको यस्तो कार्यक्रमले शिक्षामा पहुँच विस्तार, विद्यालय छाड्ने दर घटाउने र शैक्षिक गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ । आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुने अवस्थामा रहेका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको यस्तो कार्यक्रमले स्थानीय अभिभावक पनि खुसी छन् । 

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ६ : ५७ बजे

पाल्पामा बारी जोत्ने ट्याक्टरमा च्यापिएर एक जनाको मृत्यु

पाल्पा – पाल्पाको रामपर-३, गैलुकमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना

प्रधानमन्त्रीलाई वर्षमानले भने : भैरहवा एयरपोर्ट चलाउन भारतसँग हवाई मार्गबारे कुरा गर्नुस्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा