काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली सरकारले देशभरका सरकारी कार्यालयबाट लाइन हटाउने घोषणा गरेको एक महिना हुन लागिसकेको छ।
अस्पताल, यातायात कार्यालय र मालपोत कार्यालय सबैतिरबाट सेवाग्राहीलाई लाइन बस्ने अवस्था आउन नदिने रास्वपाको बाचा अझैसम्म अलपत्र छ।
रास्वपाले बाचाअनुसार काम गर्न नसकेको दृश्य हेर्न अहिले यातायात कार्यालय र सरकारी अस्पतालहरूमा पुगे हुन् । रास्वपाले आफ्नो चुनावी प्रचारमै पनि राज्यका हरेक क्षेत्रमा ‘लाइन होइन, अनलाइन’को नारा चर्काएको थियो ।
नेपाली कांग्रेस र नेपका एमालेसहितका पुराना दलले ३५ वर्षसम्म देशलाई अस्तव्यस्त पारेको दाबी गर्ने रास्वपा अहिले उसकै बाचामा चुकेको दृश्य अस्पतालमा देखिएको चर्को लाइनले देखाउँछ ।
सोमबार वीर अस्पताल पुग्दा रास्वपाको त्यही नारा र एजेन्डा अलपत्र परेको देखिन्थ्यो । सर्वसाधरण र भुइँमान्छेहरूले सस्तोमा उपचार खोज्न जानेमध्ये एक हो वीर अस्पताल । जहाँ टिकट काउन्टरदेखि पैसा बुोझाउने काउन्टरसम्म बालबालिका, गर्भवतीदेखि वृद्धवृद्धालेसमेत अझै लामो लाइनबाट गुज्रिनुपर्छ।

उपचारका लागि पुगेका विरामीहरू जो केही बरे पनि लाइन बस्न सक्ने अवस्थामा हुँदैनन्, उनैले घण्टासम्म उभिएर पुर्जा काट्ने र पैसा बुझाउनुपर्ने बाध्यता अझै पनि उस्तै छन् । यद्यपि स्वास्थ्य मन्त्री निशा मेहताले अस्पतालको अनुगमन गरेर सुधारको सुरूवात भइसकेको दाबी गर्न छाडेकी छैनन्।
अझै पनि सरकारी अस्पतालको समस्या कस्तो छ भने सरसाउँदो मान्छे पनि उभिँदा उभिँदा बिरामी हुने अवस्था छ। अर्कातिर बिरामी भएरै पुगेका वृद्धवृद्धालाई समेत लाइनमा उभ्याइदिँदा अस्पतालमै झन् बिरामी पर्नुपर्ने विडम्बना नयाँ जनादेशसहितको शक्तिशाली सरकारले हटाउन सकेको छैन।
उनै ‘लाइन होइन अनलाइन’ भन्नेहरूको सरकार चलाइरहेकाहरूलाई सोमबार वीर अस्पताल परिसरमा भएको एउटा घटनाले गिज्याइदिएको छ ।
सोमबार मध्याह्न वीर अस्पतालमा पुग्दा बिरामीको भिड थेगि सक्नुको थिएन । अस्पताल परिसरको ग्राउन्डदेखि हरेक विभागका कोठाहरू बिरामी र आफन्तले भरिभराउ थिए । आकस्मिक कक्षमा शय्यासमेत खाली छैनन् ।
त्यही अस्पतालमा बिहानैदेखि ओपीडीको टिकट लिन गएका बिरामी र तिनका आफन्तहरूको लाइन सर्पजस्तै आकारमा फनफनी घुमेर परैसम्म पुगिसकेको थियो । लामो समय लाइनमा उभिँदा उभिँदा च्यापिएर श्वास फेर्नसमेत अप्ठ्यारो भएको पीडा बिरामी र उनका आफन्त पोखिरहेका थिए ।

अहिले पनि वीर अस्पतालको बहिरङ्ग विभागका प्राय: सबैजसो ढोकाअगाडि बिरामीहरूको भद्रगोल मेला कायमै छ। यस्तो समस्या सुधार्न न त वीर अस्पताल प्रशासन गम्भीर छ न सरकार र स्वास्थ्य मन्त्रीले नै हस्तक्षेप गरेर सुधारको सन्देश दिन सकेका छन् ।
सरकारले अस्पतालमा हुने लाइन कम गर्न अनलाइनबाटै टिकटको नीति लिएको पनि बताएको थियो । लाइन कम गर्ने भनेर टिकटमा अनलाइन प्रणाली लागु गरिए पनि वीर अस्पताल पुगेपछि टोकन लिन र औषधि लिनसम्म लाइनमा नबसी सुख छैन ।
हरेक विभागमा राखिएका कुर्सी भरिएर बिरामी भुइँमै बसेर पालो कुर्न बाध्य छन् । जहाँ वृद्ध, अशक्त र अपांगता भएकालाई लाइन छुट्दै राखिए पनि त्यहाँसमेत थेगिनसक्नु भिड हुन्छ । बिरामी र आफन्तहरू दुई घण्टादेखि लाइनमा उभिएर पैसा तिर्ने काउन्टरमा पुग्न बाध्य छन् ।
अस्पतालले कर्मचारीका लागि छुट्टै बिल तिर्ने काउन्टर बनाएको छ । वृद्ध-अशक्त, आपत्कालीन बिरामीका लागि छ्ट्टाछुट्टै काउन्टर बनाएको छ । तर शनिबार र आइतबार दुई दिन सरकारी कार्यालय बन्द गर्दा त्यसकोअसर अस्पतालमा परेको छ।

बिरामीहरूले भरिएर सधैँजसो मेला झैँ लाग्ने वीर अस्पतालमा पनि हप्तामा दुईदिन बिदाले बिरामीको पीडामा घिउ थपे बराबरको काम गरेको छ।
चौबीसै घण्टा संवेदनशील रहनुपर्ने स्वास्थ्य क्षेत्रमा यो निर्णयले तनाव र अन्योल सिर्जना गरेको छ । चिकित्सकहरूको हितका लागि यो उपयुक्त भनिए पनि शल्यक्रियादेखि अन्य उपचार कुरिरहेका बिरामी भने मारमा परेका छन्।
टिकटलाई अनलाइन व्यवस्था गरिए पनि अझै पैसा तिर्नदेखि टोकन लिनसमेत बिरामीहरू लाइनमा बस्नुपर्दा मारमा परेका छन् । अर्कातिर अस्पतालको १ घण्टे खाजा समय हटेकै छैन । तीन घण्टा उभिएर बल्ल बल्ल आफ्नो पालो आउँदा अस्पतालका कर्मचारीको खाजा खाने १ घण्टे समयले पनि थप मारमा पारेको छ।
जब लाइनमै ढले वृद्ध
वीर अस्पतालका धेरै ठाउँमा नबिल बैंकमा पैसा तिर्ने काउन्टर राखिएका छन् । तर शनिबार र आइतबार दुई दिन बिदापछि खुलेको काउन्टरमा सोमबार असाध्यै लाइन लामो थियो ।
वृद्ध, अशक्त र आपत्काल परेका सबैलाई छुट्टै काउन्टर त थिए तर कुनैमा खुट्टा राख्ने ठाउँ पनि थिएनन् । यति सम्मकि कर्मचारीका लागि राखिएको काउन्टरमा समेत लामो लाइन थियो ।

सोमबार दिउँसो वीर अस्पतालको पट्यार लाग्दो लाइनमा अशक्त र वृद्धदेखि अन्य सर्वसाधारण पनि लाइनमा थिए । तिनै लाइनमा उभिएका थिए एकजना वृद्ध । जो बिरामी भएर उपचारका लागि प्रतिक्षामा थिए । पैसा तिर्न काउन्टर अगाडि लाइनमै बसिरहेका बेला उनी बेहोस भएर अचानक भुइँमा बजारिए ।
लाइनबाटै अचानक ती वृद्ध ढलेपछि केही बेर खैला बैला भयो । ढ्याङ्ङ आवाज आउने गरी ती वृद्ध ढल्दा भिडियो, फोटो खिच्नेको प्रतिस्पर्धै चलिरहेको थियो ।
‘अस्पतालमा डाक्टरले रगत जाँच्न खाली पेटमा आउनु भनेर बोलाउँछन्’, लाइनमै रहेका एकजना बिरामीले भने, ‘खाली पेट नै मध्याह्न १२:३० बजेसम्म बस्दा बिरामी थला नै पर्छ । भोको पेटमै आधा दिनसम्म लाइनमा उभिँदा उभिँदा ती वृद्ध अस्पतालमै बजारिए । धन्न ठूलो चोटपटक लागेन।’
वीर अस्पतालको लाइन मिलाउन त्यहाँ तैनाथ सुरक्षा गार्डलाई हम्येहम्ये पर्छ । ड्युटीमा खटिएका एक सुरक्षा गार्डले भनिन्, ‘बिरामीको लाइन मिलाउन हामी तीन चारजना निरन्तर खुट्नु परेको छ । वृद्ध र अशक्तलाई लामो लाइनमा राख्दा हामीलाई पनि पीडा त हुन्छ, तर अस्पतालको अवस्था नै यस्तै छ ।’


तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी














प्रतिक्रिया