पश्चिम बंगालमा तृणमूलको गढ भत्किँदा केरलामा वाम पत्तासाफ, तामिल नाडुमा थलपति विजयको अभूतपूर्व उदय « Khabarhub

भारतमा विधान सभा निर्वाचन

पश्चिम बंगालमा तृणमूलको गढ भत्किँदा केरलामा वाम पत्तासाफ, तामिल नाडुमा थलपति विजयको अभूतपूर्व उदय


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका विभिन्न ५ राज्य तथा केन्द्रशासित क्षेत्रमा सम्पन्न विधानसभा निर्वाचनमा व्यापक राजनीतिक परिवर्तन देखिएको छ । राज्यमा पुराना र स्थापित दलहरुको गढ भत्किँदा केन्द्रमा शासन चलाइरहेको भारतीय जनता पार्टीले उल्लेख्य जित हासिल गरेको छ । अप्रिल महिनामा भारतका पश्चिम बंगाल, असम, पुद्दुचेरी, तामिल नाडु र केरला राज्यमा मतदान भएको थियो ।

आज सार्वजनिक मतपरिणाम अनुसार पश्चिम बंगालमा भारतीय जनता पार्टीले विशाल जित हासिल गरेको छ । पश्चिम बंगालमा यसअघि राज्यको शासन चलाइरहेकी मुख्यमन्त्री ममता बनर्जी नेतृत्वकोे तृणमूल कांग्रेस टीएमसीले अनपेक्षित हार व्यहोरेको छ ।

पछिल्लो मतपरिणाम अनुसार पश्चिम बंगालमा भारतीय जनता पार्टी भाजपाले ११५ सिटमा जित हासिल गरेको आज तकले जनाएको छ । पार्टीले अन्य ८९ सिटमा अग्रता कायम गरेको छ । यस अनुसार भाजपाले राज्यमा २०४ सिटमा जित हासिल गर्ने देखिएको छ । अघिल्लो विधानसभामा भाजपाको ६५ सिट रहेको थियो । कुल २९४ सिट रहेको पश्चिम बंगाल विधानसभामा सरकार बनाउनका लागि १४८ सिट पर्याप्त हुन्छ ।

यसअनुसार भाजपाले राज्यमा स्पष्ट बहुमत सहित नयाँ सरकार बनाउने निश्चित भएको छ । राज्यमा भाजपाका शीर्ष नेता सुवेन्दु अधिकारी मुख्यमन्त्री बन्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी नदीग्राम र भवानीपुर निर्वाचन क्षेत्रबाट उम्मेदवार छन् । नदीग्राममा अग्रता लिएका उनी भवानीपुरमा भने ममता बेनर्जीसँग पछि परेका छन् ।

त्यसैगरी, सत्तारुढ तृणमूल कांग्रेस सम्मिलित गठबन्धनले ४७ स्थानमा जित र ३६ सिटमा अग्रता कायम गरेको आज तकले जनाएको छ । यसअनुसार तृणमूल नेतृत्वको गठबन्धनले कुल ८३ सिट जित्ने देखिएको छ । अघिल्लो विधानसभामा तृणमूल कांग्रेस सम्मिलित गठबन्धनको २२३ सिट रहेको थियो ।

लोकसभामा विपक्षी नेता राहुल गान्धीको कांग्रेस पार्टी भने यस निर्वाचनमा केबल एक सिटमा जित हासिल गरेको छ भने एक सिटमा अग्रता कायम गरेको छ । अघिल्लो विधानसभामा कांग्रेसको एक सिट रहेको थियो । कुनै समय पश्चिम बंगालमा निकै शक्तिशाली रहेका वामपन्थी दलहरु भने केबल दुई सिटमा चित्त बुझाएका छन् ।

उता पश्चिम बंगालको छिमेकी असममा पनि भाजपा सम्मिलित गठबन्धन जिततर्फ उन्मुख भएको छ । असममा भाजपा सम्मिलित गठबन्धनले ९७ सिटमा जित हासिल गर्दा चार सिटमा अग्रता लिएको आज तकले जनाएको छ । यसअनुसार पार्टीले कुल १०१ सिट जित्ने अपेक्षा गरिएको छ । अघिल्लो विधानसभामा भाजपा सम्मिलित गठबन्धनको कुल ८० सिट रहेको थियो ।

असम विधानसभामा कुल १२६ सिट रहेका छन् । सरकार बनाउन ६४ सिट आवश्यक पर्छ । यसअनुसार असममा भाजपाका प्रभावशाली नेता हिमन्ता विस्वा सरमा नै मुख्यमन्त्री पदमा कायम रहने जनाइएको छ । त्यस्तै, असममा कांग्रेस सम्मिलित गठबन्धनले १५ सिटमा जित हासिल गर्दा सात सिटमा अग्रता कायम गरेको छ । यस अनुसार पार्टीले २२ सिट जित्ने आज तकको प्रक्षेपण छ । अघिल्लो विधानसभामा कांग्रेस सम्मिलित गठबन्धनको २३ सिट रहेको थियो ।

दक्षिणी राज्य तामिल नाडुमा पनि यस पटकको निर्वाचनमा व्यापक राजनीतिक परिवर्तन देखिएको छ । तामिल नाडुमा अभिनेता चन्द्रशेखरन् जोसेफ (थलपति) विजय नेतृत्वको नवगठित तामिलग भेत्री खजगम (टीभीके) पार्टीले ६५ सिटमा जित हासिल गर्दा ४३ सिटमा अग्रता कायम गरेको आज तकले जनाएको छ ।

त्यसैगरी, वतर्मान मुख्यमन्त्री मुथुभेल करुणानिधि (एमके) स्टालिन नेतृत्वको द्रविड मुनेत्र खजगम (डीएमके) पार्टी सम्मिलित गठबन्धनले २९ सिटमा जित हासिल गर्दा ४५ सिटमा अग्रता कायम गरेको छ । यसअनुसार डीएमकेले कुल ७४ सिट जित्ने प्रक्षेपण गरिएको छ । यसअघि विधानसभामा डीएमके सम्मिलित गठबन्धनको १५८ सिट रहेको थियो ।

त्यस्तै, अल इण्डिया अन्ना द्रविड मुन्नेत्र खजगम (एआईएडीएमके) पार्टी सम्मिलित गठबन्धनले २६ सिटमा जित हासिल गर्दा २६ सिटमा अग्रता कायम गरेको छ । यस अनुसार पार्टीले कुल ५२ सिटमा जित हासिल गर्ने आज तकको प्रक्षेपण छ । यसअघिकोे विधानसभामा यो पार्टी सम्मिलित गठबन्धनको ६७ सिट रहेको थियो ।

कुल २३४ सिट रहेको तामिल नाडु विधानसभामा सरकार बनाउन ११८ सिट आवश्यक पर्छ । यससँगै राज्यमा थलपति विजयको नेतृत्वमा नयाँ सरकार बनाउने निश्चित भएको छ । यद्यपि सरकार बनाउन आवश्यक बहुमत नभएकाले उनले कुन दलसँग साझेदारी गर्छन् भन्ने चाहिँ अझै प्रष्ट भइसकेको छैन ।

तामिल नाडुको छिमेकी केरलाका मतदाताले पनि यस पटकको निर्वाचनमा मत परिवर्तन गरेको देखिएको छ । राज्यमा यसअघि सरकार चलाइरहेको वामपन्थी मोर्चाले यसपाली नराम्रो पराजय व्यहोरेको छ । राज्यमा वाम मोर्चाले केबल ३४ सिटमा जित हासिल गर्दा एक सिटमा अग्रता कायम गरेको छ । अघिल्लो विधानसभामा वाम मोर्चाको कुल ९५ सिट रहेको थियो ।

त्यस्तै, कांग्रेस नेतृत्वको संयुक्त लोकतान्त्रिक मोर्चाले ९९ सिटमा जित हासिल गरेको छ । अघिल्लो विधानसभामा यो मार्चाको कुल ४१ सिट रहेको थियो । कुल १४० सिट रहेको केरला विधानसभामा सरकार बनाउनका लागि ७१ सिट पर्याप्त हुन्छ ।

त्यस्तै, भारतको केन्द्रशासित दक्षिणी क्षेत्र पुद्दुचेरीमा पनि भारतीय जनता पार्टी सम्मिलित गठबन्धनले विशाल अग्रता कायम गरेको छ । भाजपा सम्मिलित गठबन्धनले १४ सिटमा जित हासिल गर्दा ४ सिटमा अग्रता कायम गरेको आज तकले जनाएको छ ।

त्यस्तै, कांग्रेस सम्मिलित गठबन्धनले चार सिटमा जित हासिल गर्दा दुई सिटमा अग्रता कायम गरेको छ । अन्य दल र स्वतन्त्र उम्मेदवारले ६ सिटमा जित हासिल गरेको छ । ३० सिट रहेको पुद्दुचेरी सभामा सरकार बनाउन १६ सिट पर्याप्त हुन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ७ : ५१ बजे

राप्ती नदीमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम पूरा

नेपालगन्ज– बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन

ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन खुला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु,

कास्कीमा रोपाइँ तीव्र, ४७ प्रतिशत रोपाइँ सकियो

लेखनाथ– अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची– अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा

टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज