सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सय दिनमा के-के गर्‍यो ? « Khabarhub

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सय दिनमा के-के गर्‍यो ?


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकार गठनको १०० दिनभित्र सम्पादन भएका मुख्य कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । संसद्‌मा रहेका प्राविधिक तथा प्रशासनिक जटिलतालाई हटाउँदै नागरिकलाई प्रत्यक्ष राहत दिने प्रकृतिका शासकीय सुधार र विकासका कामहरू मन्त्रालयले सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २०८३ असार १६ गतेसम्म २३ लाख ७५ हजारभन्दा बढी सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई सम्पन्न भएको छ । यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै द्रुत (फास्ट ट्र्याक) माध्यमबाट २ लाख १७ हजारभन्दा बढी लाइसेन्स छापिएको मन्त्रालयले जनाएको छ ।

नागरिकको सहजताका लागि हुलाकमार्फत ८ लाखभन्दा बढी लाइसेन्स सम्बन्धित जिल्ला पठाइएको छ भने कास्की, मोरङ, बाँके, सुनसरी, बझाङ, कालिकोट र पर्सा गरी ७ जिल्लामा १ हजार ८९ वटा लाइसेन्स सेवाग्राहीको घरमै पुर्‍याउने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी, २ लाख ६ हजारभन्दा बढी राहदानी (पासपोर्ट) हुलाकमार्फत जिल्लाहरूमा ढुवानी गरिएको छ । हुम्ला र भोजपुरबाहेकका ७५ जिल्लामा ५ हजार ७२८ थान राहदानी जिल्ला हुलाक कार्यालयमार्फत सिधै सेवाग्राहीको घरदैलोमै वितरण गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

मन्त्रालयले प्रविधिको दुरुपयोग रोक्न अवैध अनलाइन सट्टेबाजी र जुवा खेलाउने २६ वटा बेटिङ एप तथा २ लाख ४८ हजार ६७६ वटा डोमेन लिंकहरू नेपालभित्र सञ्चालन हुन नपाउने गरी बन्द गराएको छ ।

साइबर सुरक्षा र प्रविधि क्षेत्रलाई नियमन गर्न सूचना प्रविधि, साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स (AI) सम्बन्धी विधेयकहरूको मस्यौदा तयार पारिएको छ । साथै विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत भइसकेको छ ।

लामो समय र बढी लागत लाग्ने हुलाकको डाँकरेखा पुनरावलोकन गरिएको छ । जसका कारण यसअघि पोखराबाट पाल्पासम्म पुग्न १० दिन लाग्ने हुलाक वस्तु अब मात्र २ दिनमा पुग्ने भएको छ । देशका ५० वटा हुलाक कार्यालयलाई प्रविधिमैत्री ‘स्मार्ट हुलाक’ बनाउन छनोट गरिएको छ ।

यसैगरी, हुलाक सेवालाई विविधीकरण गर्दै १७ वटा अस्पतालबाट १ हजार २३३ वटा स्वास्थ्य प्रयोगशालाका नमुनाहरू सुरक्षित रूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासम्म पुर्‍याउने कार्य गरिएको छ । विश्वविद्यालयहरूसँगको सम्झौता बमोजिम २६३ थान शैक्षिक प्रमाणपत्रहरू पनि विद्यार्थीको घरसम्मै पुर्‍याइएको छ ।

मन्त्रालयका अनुसार नेपाल टेलिकमको ८०० मेगाहर्ज ब्यान्डमा थप ५ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएसँगै ४G इन्टरनेटको गति ५९.७५ प्रतिशतले वृद्धि भएको छ । सेवा सुधारका कारण टेलिकमको डाटा ट्राफिकमा २४.२ प्रतिशतले वृद्धि भएको छ ।

महिनापिच्छे ब्यालेन्स काटिने झन्झट हटाउन टेलिकमले २९९, ४९९ र ७९९ रुपैयाँका ३० दिने ‘नमस्ते रिकरिङ’ स्वतः नवीकरण प्याकेजहरू सुरु गरेको छ । यसका साथै ‘पे एज यू गो’ डाटा ९० प्रतिशत खपत भएपछि ग्राहकलाई अलर्ट म्यासेज जाने र चाहेको बेला यो सेवा बन्द गर्न सकिने सुविधा मिलाइएको छ । अब ग्राहकले अनलाइनबाटै इ-सिम लिन सक्ने र नयाँ सिमका लागि अनलाइन आवेदन दिएर नजिकैको पसलबाट संकलन गर्न सक्ने प्रणाली बनाइएको छ ।

भौगोलिक रूपमा दुर्गम मानिएका ताप्लेजुङको पाथीभरा र ओलाङचुङगोला, मुगुको रारा मुर्माटप, डोल्पाको त्रिपुरासुन्दरी तथा संखुवासभाको उत्तरी सीमा किमाथांका जस्ता विकट स्थानहरूमा फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । हाल देशका ७५० स्थानीय तहमा फोरजी/एलटीई सेवाको पहुँच पुगिसकेको मन्त्रालयले दाबी गरेको छ ।

मन्त्रालयले प्रसारण इजाजत र चलचित्र जाँचपास जस्ता ३ देखि ७ दिन लाग्ने सेवाहरूलाई पुनर्संरचना गरी १ देखि ३ दिनभित्रै उपलब्ध गराउन थालेको छ । लामो समयदेखि बन्द रहेको काठमाडौँ हात्तीसारस्थित जय नेपाल चलचित्र घरलाई पुनः सञ्चालनको इजाजत दिइएको छ ।

मिडिया अनुगमनका क्रममा आचारसंहिता उल्लंघन गर्ने ४६ वटा मिडिया तथा गैर-मिडिया सामग्रीलाई कारबाहीका लागि साइबर ब्यूरोमा पठाइएको छ । सरकारी सेवातर्फ सङ्घ, प्रदेश र स्थानीय तहका ७०४ सरकारी निकायहरूलाई एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा आबद्ध गरिएको छ भने सबै सरकारी पोर्टलहरूलाई अपाङ्गतामैत्री बनाइएको छ ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ४ : ४२ बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन