इरानमा तीन दशक शासन चलाएका आयातोल्लाह अली खामेनेईको अन्त्येष्टि सुरु « Khabarhub

इरानमा तीन दशक शासन चलाएका आयातोल्लाह अली खामेनेईको अन्त्येष्टि सुरु


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तीन दशकभन्दा बढी समयसम्म शासन गरी इरानलाई मध्यपूर्वको राजनीतिमा शक्तिशाली खेलाडीका रूपमा स्थापित गरेका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको बहुप्रतिक्षित अन्त्येष्टि प्रक्रिया सुरु भएको छ । अमेरिका र इजरायलसँगको युद्धको सुरुवातमा मारिएका खामेनेईको शनिबारदेखि सुरु हुने अन्त्येष्टिले इरानलाई मात्र होइन, सम्पूर्ण मध्यपूर्वी भूराजनीतिलाई नै एउटा अन्योलपूर्ण मोडमा पुर्‍याइदिएको छ ।

सन् १९८९ मा इस्लामिक क्रान्तिका प्रणेता आयातोल्लाह रुहोल्लाह खोमेनीको निधनपछि इरानको शासन सम्हाल्न आइपुगेका खामेनेई सुरुवाती दिनमा कमजोर धार्मिक साख भएका र केही खस्रो स्वभावका नेता मानिन्थे । तर, पूर्ववर्ती सर्वोच्च नेता खोमेनीको क्रान्तिकारी विचारलाई राज्यको स्थायी संयन्त्रमा रूपान्तरण गर्ने चुनौतीपूर्ण जिम्मेवारी उनैले पूरा गरे । उनले परम्परागत सैन्य रणनीतिलाई त्याग्दै मध्यपूर्वमा आफ्ना ‘प्रोक्सी’ (सहयोगी लडाकु समूह) हरूको सञ्जाल ‘प्रतिरोधको अक्ष’ (एक्सिस अफ रेसिस्टेन्स) निर्माण गरे ।

लेबनानको हज्बोल्लाह, यमनका हुथी विद्रोही, प्यालेस्टाइनको हमास र इराकका मिलिसियाहरूलाई उनको बलियो आर्थिक र सैन्य समर्थन थियो । तर, सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि चर्किएको मध्यपूर्वको युद्धले अन्ततः खामेनेईले दशकौँ लगाएर बुनेको यही ‘प्रतिरोधको अक्ष’ लाई कमजोर बनाइदियो र उनको आफ्नै अवसानको कारण पनि बन्यो ।

खामेनेईको कार्यकाल आणविक महत्वाकांक्षा र विश्वव्यापी प्रतिबन्धहरूसँगको टकरावका कारण सधैँ चर्चामा रह्यो । उनले आणविक हतियारलाई गैरइस्लामिक भन्दै फतवा जारी गरे पनि शान्तिपूर्ण ऊर्जाका नाममा इरानको आणविक कार्यक्रमलाई कहिल्यै रोकिन दिएनन् । सन् २०१५ को आणविक सम्झौताबाट सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बाहिरिएपछि इरानले हतियार बनाउन मिल्ने उच्च तहको युरेनियम भण्डारण गर्न थालेको थियो। यही आणविक महत्वाकांक्षालाई रोक्न सन् २०२५ मा अमेरिका र इजरायलले गरेको बमबारी र हाल जारी युद्धले इरानका आणविक केन्द्रहरूलाई नै निसाना बनाइरहेका छन्।

भित्रि रूपमा भने खामेनेईको शासनकाल कडा राजनीतिक दमन र आर्थिक संकटका विरुद्ध भएका भीषण जनविद्रोहहरूले भरियो। सन् २००९ को चुनावी धाँधलीविरुद्धको आन्दोलन, २०१७ र २०१९ को आर्थिक संकटविरुद्धको प्रदर्शन, र २०२२ मा महसा अमिनीको मृत्युपछि भड्किएको ‘हिजाब विरोधी’ आन्दोलनलाई खामेनेईले सुरक्षा बल प्रयोग गरेर क्रूरतापूर्वक दबाए।

सन् २०२५ को अन्त्यतिर त इरानमा इतिहासकै ठूलो आर्थिक र राजनीतिक विरोध प्रदर्शन चर्कियो, जहाँ इस्लामिक गणतन्त्रकै अन्त्यको माग गरिएको थियो। अधिकारवादीहरूका अनुसार उक्त आन्दोलन दबाउन सात हजारभन्दा बढी नागरिकको ज्यान लिइएको थियो, जसले इरानी समाजलाई स्तब्ध बनाएको थियो।

खामेनेईको अन्त्येष्टि भइरहँदा अब इरानको भविष्य के होला भन्ने गम्भीर प्रश्न खडा भएको छ। उनका छोरा आयातोल्लाह मोज्ताबा खामेनेईलाई नयाँ सर्वोच्च नेता त छानिएको छ, तर आफ्ना पिता मारिएको सोही आक्रमणमा उनी पनि घाइते भएको विश्वास गरिन्छ र उनी अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी जनतालाई ‘आफ्नो सरकार आफैँ कब्जा गर्न’ आह्वान गरे पनि तेहरानका सडकमा अहिले कट्टरपन्थीहरूको बाक्लो उपस्थिति देखिन्छ । खामेनेईको बिदाइपछिको इरान कुन दिशामा मोडिनेछ भन्ने कुरा देशको राजनीति र अर्थतन्त्रमा बलियो पकड जमाएको शक्तिशाली रिभोलुसनरी गार्ड कोर आईआरजीसीको कदममा निर्भर हुने देखिन्छ ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ७ : ५६ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२