मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन « Khabarhub

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ।

मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानव सभ्यताकै कलङ्कका रूपमा रहेको र सङ्गठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गर्नुभएको हो।

“प्रविधिको सही प्रयोग र सजगता: मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता” भन्ने नाराका साथ यो दिवस मनाइँदै छ। प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन आइरहेको बताउनुभएको छ।

उहाँले मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप नीतिगत तथा संस्थागत सुधार गर्दै आएको जानकारी दिनुभएको छ। यसका लागि तिनै तहको सरकार र सम्बन्धित सबै सरोकारवालाको समन्वय तथा सहकार्यमा विभिन्न पहल भइरहेको उहाँको भनाइ छ।

प्रधानमन्त्री शाहका अनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई पालेर्मो प्रोटोकलअनुकूल हुने गरी संशोधन गर्ने विधेयक संसद्‌मा दर्ता गरिएको छ। यसबाट मानव बेचबिखन तथा ओसारपसारबाट पीडितको अन्तर्राष्ट्रिय स्तरमा मानव अधिकार संरक्षणका लागि राज्यहरूबीच सहयोग र समन्वय बढाउन सहज हुने अपेक्षा गरिएको छ।

विद्यमान कानुनी तथा संस्थागत संयन्त्रलाई सङ्घीय संरचनाअनुरूप बनाउने क्रममा मानव बेचबिखनविरुद्धको नीति जारी गरी कार्यान्वयनमा ल्याइएको पनि प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ।

उहाँले मानव बेचबिखनविरुद्धको अभियानमा सङ्घीय सरकारका अतिरिक्त प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ।

“हाम्रो साझा पहल र संयुक्त प्रयासले मात्र मानव बेचबिखनमुक्त समाज बनाउन सम्भव हुनेछ,” प्रधानमन्त्री शाहले सन्देशमा उल्लेख गर्नुभएको छ।

उहाँले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध नेपाल सरकारको अभियानमा निरन्तर सहयोग, समन्वय र सहकार्य गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै सरकारको प्रतिबद्धतामा साथ, सहयोग र ऐक्यबद्धताका लागि आग्रह गर्नुभएको छ।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  १० : ४७ बजे

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै