काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान र निर्णयविपरीत गतिविधि गरेको आरोपमा लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यसहित विभिन्न तहका जनप्रतिनिधि तथा नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो।
पार्टी संरक्षक महन्थ ठाकुरको उपस्थितिमा तथा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकका निर्णय शुक्रबार सार्वजनिक गरिएको हो। बैठकले लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा समेत सहभागी भएको भन्दै पार्टीका चार प्रदेशसभा सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। निष्कासनमा पर्नेमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सन्तोषकुमार पाण्डेय, समानुपातिकतर्फबाट निर्वाचित हेमा बेल्वासे केसी, बाँके निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित आदेशकुमार अग्रवाल रहेका छन्।
पार्टीले स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा विभिन्न तहमा आबद्ध अन्य नेता–कार्यकर्तामाथि पनि अनुशासनसम्बन्धी कारबाही गरेको जनाएको छ। निष्कासनमा पर्ने स्थानीय जनप्रतिनिधिहरूमा सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचलित्तर महतो, सुखवा नन्कारकट्टी गाउँपालिका वडा नम्बर ४ का रमेशकुमार यादव, धनगढीमाई नगरपालिका वडा नम्बर ७ का विजयकुमार महतो, कर्जन्हा नगरपालिका वडा नम्बर ६ का प्रकाशमान श्रेष्ठ, वडा नम्बर ८ का शम्भुकुमार व्यार, वडा नम्बर ९ का मो. मुस्तकिम र वडा नम्बर ११ का किस्मत राई रहेका छन्।
पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष संजयकुमार पटेल तथा वडा नम्बर १ का अध्यक्ष लालबाबु राउत बरैलाई पनि पार्टीले निष्कासन गरेको छ। यस्तै प्रदेश नम्बर १ बाट समानुपातिकतर्फ निर्वाचित प्रदेशसभा सदस्य निर्मला तावा, खोटाङ जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिका उपप्रमुख गुरुराज राईसहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई पनि कारबाही गरिएको छ। जसपा नेपालले खोटाङ, भोजपुर, उदयपुर, इलाम र सुनसरीका विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई पनि पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको जनाएको छ।
बैठकले रसुवागढीको भोटेकोशीमा भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाएका देश तथा विदेशका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, बाढीपीडितको राहत, उद्धार र व्यवस्थापनका लागि सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने माग गरेको छ। राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले ‘नेपालको वर्तमान राजनीतिक अवस्था र जसपा नेपालको रणनीतिक दिशा’ विषयक राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको जनाएको छ।
जसपा नेपालको केन्द्रीय समितिको बैठक आगामी असोज १३, १४ र १५ गते काठमाडौंमा आयोजना गर्ने निर्णय पनि गरिएको छ। यस्तै, बैठकले अग्रगामी मोर्चाको गठनलाई स्वागत र समर्थन गर्दै मोर्चाले घोषणा गर्ने कार्यक्रमहरूमा पार्टी पंक्तिलाई सक्रिय सहभागिता जनाउन निर्देशन दिएको छ। पार्टी संगठन सुदृढीकरण र कार्यकर्ता अभिमुखीकरणका लागि जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सञ्चालन गर्ने निर्णय पनि भएको छ। पश्चिम नवलपरासीमा भदौ २१ गते, रुपन्देहीमा भदौ २२ गते तथा कपिलवस्तु र दाङमा भदौ २३ गते प्रशिक्षण कार्यक्रम आयोजना गरिने जसपा नेपालले जनाएको छ।












प्रतिक्रिया