नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् केन्द्रको सुरुङबाट दुई जनालाई सकुशल उद्धार गरेको छ ।
बाढीले धेरै परिवारको खुसी खोसेका बेला अँध्यारो सुरुङभित्रबाट आएको एउटा सानो आवाजले भने उद्धार टोली र पीडित परिवारमा नयाँ आशा जगाएको थियो। शुक्रबार बिहान सुरुङभित्रबाट ‘हेलो…हेलो…’ भन्ने आवाज सुनिएपछि उद्धारमा खटिएको टोलीले त्यहाँ मानिस जीवितै रहेको पुष्टि गरेको थियो ।
उद्धार टोलीका प्रमुख तथा नेपाली सेनाका प्रमुख सेनानी गङ्गा बरालले सुरुङभित्रतर्फ ‘कोही हुनुहुन्छ रु’ भनेर आवाज दिएपछि उताबाट ‘हेलो…हेलो…’ भन्ने मधुरो आवाज आएको बताए ।
त्यसपछि आफूहरूले सुरुङभित्र रहेका व्यक्तिलाई हौसला दिँदै “हामी आउँदै छौँ है १ चिन्ता नगर्नुहोस्, नेपाली सेना उद्धार गर्न आउँदै छ” भनेको उनले बताए ।
आवाज सुनेपछि उद्धार टोलीले खोजी तथा उद्धारको कामलाई थप तीव्र बनाएको थियो। करिब एक घण्टाको निरन्तर प्रयासपछि सुरुङभित्र फसेका दुई जनालाई सकुशल बाहिर निकाल्न नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजको विपद् व्यवस्थापन टोली सफल भएको हो ।
माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् केन्द्रमा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाहलाई शुक्रबार बिहान करिब ९ः३५ बजे उद्धार गरिएको थियो । त्यसैगरी मेकानिकल सुपरभाइजर कवीरजङ्ग महर्जनलाई बिहान १०ः०५ बजे सकुशल बाहिर निकालिएको थियो ।
दुई जनाको उद्धारले बाढीका कारण निराश बनेका उनीहरूका परिवार, आफन्त र शुभचिन्तकमा ठूलो आशा जगाएको छ । अँध्यारो र जोखिमपूर्ण सुरुङभित्र जीवनको खोजीमा नेपाली उद्धार टोलीले गरेको निरन्तर प्रयासको यो महत्वपूर्ण सफलता बनेको छ ।
उद्धार अभियानको नेतृत्व प्रमुख सेनानी बरालले गरेका थिए। उनको नेतृत्वमा नेपाली सेनाको स्पेशल फोर्स, विपद् व्यवस्थापनको खोज तथा उद्धार टोली, प्राविधिक इन्जिनियर, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारी, जलविद्युत् आयोजनाका विज्ञ तथा भौगोलिक इन्जिनियर उदय न्यौपानेसहितको संयुक्त टोली परिचालन भएको थियो ।
उद्धारका लागि एक ‘सिफ्ट’मा १८ जनाका दरले टोली परिचालन गरिएको थियो। सुरुङ रहेको स्थान पहिचान गर्नु नै उद्धार टोलीका लागि पहिलो ठूलो चुनौती बनेको थियो ।
सुरुङको प्रवेश बिन्दु पहिचान भएपछि त्यहाँ भरिएको लेदोले थप समस्या सिर्जना गरेको थियो । त्यसपछि उक्त बिन्दुभन्दा करिब १० मिटर अगाडि अर्को होल खोपेर उद्धार टोली सुरुङभित्र प्रवेश गरेको थियो ।
प्रमुख सेनानी बरालका अनुसार सुरुङ पहिचान गर्न सक्ने अवस्था नै नरहेकाले खोजीमा केही समय लागेको थियो । तर निरन्तरको प्रयासपछि उद्धार टोलीले आफूले अपेक्षा गरेको परिणाम प्राप्त गरेको उनले बताए ।
बिहीबार साँझ ६ बजेदेखि उद्धार टोलीले सुरुङभित्र खोज तथा उद्धारको काम तीव्र बनाएको थियो। खाना खाइसकेपछि टोली काममा खटिएको थियो। आवश्यक उपकरण ल्याउन केही समय आवतजावत गर्नुपरे पनि उद्धारको काम भने रोकिएको थिएन ।
करिब ११ घण्टाको निरन्तर प्रयासपछि सुरुङभित्र जीवित मानिस भेटिएका थिए । “बिहीबार साँझ ६ः०० बजेदेखि काम सुरु गरेका थियौँ । खाना खाइसकेर काम सुरु गरेकाले निरन्तर काम गरेका थियौँ । केही इक्युपमेन्ट लिन आवतजावत गरियो, अन्यथा निरन्तर ११ घण्टा खोज तथा उद्धारकर्मीको प्रयासमा सफलता पायौँ”, प्रमुख सेनानी बरालले भने।
सुरुङभित्र प्रवेश गर्ने क्रममा सङ्लो पानी देखिएपछि उद्धार टोलीमा आशा थप बलियो बनेको उनले बताए। सुरुङभित्र रहेका व्यक्तिलाई जीवितै बाहिर ल्याउन सकिन्छ भन्ने विश्वासका साथ टोलीले चौबिसै घण्टा काम गरिरहेको थियो।
“जीवन ल्याउन सकिन्छ भन्नेमा आशा राखेर नै काम गरेका हौँ । हामीले टनेल प्रवेशको होल खोपेर भित्र पस्दा सङ्लो पानी देखेपछि अझै उत्साहित भएका थियौँ”, बरालले बताए।
उद्धारका क्रममा सुरुङभित्रको अवस्था थप कठिन बनेमा प्रयोग गर्नेगरी अक्सिजनसमेत तयारी अवस्थामा राखिएको थियो। तर दुई जनाको उद्धारका क्रममा अक्सिजन प्रयोग गर्नुपर्ने अवस्था नआएको उनले बताए।
लामो समयसम्म जोखिमपूर्ण अवस्थामा खोजी तथा उद्धारमा खटिएर दुई जनालाई जीवितै बाहिर निकाल्न सफल भएपछि प्रमुख सेनानी बरालले यसलाई विशेष सफलता भएको बताए।
“एकदमै सक्सेस अनुभूति । एउटा विशेष के छ भने नेपालीले पनि केही गर्न सक्दो रहेछ है १ यत्तिको संरचनामा नेपाली उद्धारकर्मी, नेपाली विज्ञ संलग्न टिमले चाहना गरेको उच्चतम सफलता पाएको हो”, उनले भने।
उनका अनुसार इच्छाशक्ति र स्वच्छ भावनाका साथ काम गर्ने हो भने नेपालीले कठिनभन्दा कठिन काम पनि गर्न सक्छन्।
तर दुई जनाको सकुशल उद्धारसँगै सुरुङभित्र खोजीका क्रममा एक जनाको शवसमेत फेला परेको छ। शवको पहिचान भने हुन बाँकी रहेको प्रमुख सेनानी बरालले जानकारी दिए।
माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् केन्द्रका अनुसार भोटेकोशी बाढीपछि आयोजनामा कार्यरत ४६ जना कर्मचारी सम्पर्कविहीन छन्। सुरुङभित्र अझै रहेका व्यक्तिको अवस्थाबारे यकिन हुन सकेको छैन।
नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले सुरुङ तथा प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको कामलाई निरन्तरता दिइरहेको छ।
भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले धेरै परिवारलाई पीडा र निराशामा धकेलेको छ। आफ्ना आफन्तको खोजीमा परिवारहरू अझै प्रतीक्षामा छन्।
तर यही अँध्यारो र कठिन समयबीच सुरुङभित्रबाट आएको ‘हेलो।।। हेलो।।।’ आवाजले एउटा महत्वपूर्ण सन्देश दिएको छ—आशा अझै बाँकी छ।
त्यही आवाजलाई पछ्याउँदै उद्धार टोली अघि बढ्यो र अन्ततः दुई जनालाई जीवितै बाहिर निकाल्न सफल भयो।
यो उद्धारले जस्तोसुकै कठिन परिस्थिति भए पनि निरन्तर प्रयास, दृढ इच्छाशक्ति र समन्वयबाट जीवन बचाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।












प्रतिक्रिया