सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना « Khabarhub

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटको आज विदुरमा बसेको बैठकमा सञ्चारमन्त्री डा तिमिल्सिनाले बाढीपश्चात् प्रभावित क्षेत्रमा विभिन्न माध्यमबाट निरन्तर खोज तथा उद्धार, उपचार र प्रभावित नागरिकलाई सुरक्षित तथा उपयुक्त आश्रयस्थलमा राख्ने प्रबन्ध गरिएको जानकारी दिए ।

उनका अनुसार प्रभावित क्षेत्रमा २१ हजारभन्दा बढी संयुक्त सुरक्षाफौजको जनशक्ति परिचालन गरिएको छ। प्रभावितको खोज तथा उद्धारका लागि दैनिक २५ वटासम्म हेलिकप्टर परिचालन गर्नुका साथै आवश्यक यन्त्र, उपकरण तथा सहायता सामग्री प्रयोग भइरहेको उनले बताए ।

अब जतिसक्दो छिटो खोज तथा उद्धारको काम सम्पन्न गरी पुनःउत्थानतर्फ केन्द्रित हुने तयारीमा सरकार रहेको उनले स्पष्ट पारे ।

“बाढी प्रभावित क्षेत्रमा स्थलदेखि हवाईमार्गमार्फत कहीँकतै उद्धारमा ढिलो भयो भन्ने गुनासो आउन नदिई गरिएको उद्धारमा कुनै कमजोरी हुन दिएका छैनौँ”, सञ्चारमन्त्री डा तिमिल्सिनाले भने, “खोज तथा उद्धारसहित नागरिकको पुरिएका व्यक्तिगत धनसम्पत्ति सुरक्षितपूर्वक निकाल्न अहिले पनि सुरक्षाकर्मी निरन्तर प्रभावित क्षेत्रमा खटिएका छन्।”

बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका सुरुङमार्गमा उद्धारका लागि सुरक्षाकर्मी अहोरात्र खटिएर केही सुखद् नतिजासमेत निकाल्न सफल भएकाले उद्धारमा ढिलाइ भयो भन्न नमिल्ने उनले बताए ।

सुरुङमार्गमा बाढीले ठूलो क्षति पुर्‍याएपछि कुनै नामोनिसानसमेत नरहने अवस्थामा प्रवेशबिन्दु पहिचान गरी दिनरात नभनी खोज तथा उद्धार गरिएको उनले जानकारी दिए । निरन्तरको प्रयासबाट सुरुङभित्र रहेका व्यक्तिको जीवन बचाउन सफलता मिलेको उनले बताए ।

अहिले पनि खोज तथा उद्धारका लागि सुरक्षाकर्मी निरन्तर प्रभावित क्षेत्रमा खटिएको उल्लेख गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले हराइरहेका व्यक्तिको अवस्था पत्ता लगाउन राज्यले कुनै कसर बाँकी नराख्ने बताए ।।

एउटा व्यक्तिको ज्यान बचाउन आवश्यक पर्ने खर्चको हिसाबभन्दा पनि नागरिकको जीवन रक्षा राज्यको प्राथमिकता भएको उहाँको भनाइ थियो।

“पुग्न र पहुँच राख्न कहीँ पनि बाँकी नराखी एउटा व्यक्तिको ज्यान बच्छ भने कति खर्च लाग्छ भन्ने हिसाब नराखी हराएका व्यक्तिको अवस्था खोज्न राज्यले कुनै कसर बाँकी राख्दैन”, उहाँले भन्नुभयो।

यसैबीच, भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिको पुनःउत्थानका लागि सरकारले तत्कालीन तथा दीर्घकालीन योजना ल्याउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो।

क्षतिग्रस्त स्थानमै तत्काल बस्ती पुनःनिर्माण गर्न हतार नगर्न उहाँले प्रभावित नागरिकलाई आग्रह गर्नुभयो।

“बाढीले क्षति पुर्‍याएको स्थान वेत्रावतीलाई पुनः पहिलेको जस्तै उठाउनुपर्छ भन्ने आवाजहरू सुन्न थालेको छु”, सञ्चारमन्त्री डा तिमिल्सिनाले भन्नुभयो, “अहिलेको जस्तो विध्वंश आगामी दिनमा पनि नआउला भन्न सकिन्न।”

उहाँले नागरिकलाई सुरक्षित स्थानमा आवासको व्यवस्था गर्न सरकारले सहयोग तथा अनुदानसहितको योजना ल्याउने बताउनुभयो।

“बस्तीलाई क्षति पुर्‍याएर बगर भएका स्थानमा बस्ती बसाल्न हतारिनुहुन्न”, उहाँले भन्नुभयो, “वेत्रावतीलाई अहिलेको स्थानमा नै नभई सुरक्षित स्थानमा वेत्रावतीको रूपमा उठाउन राज्य नै लागिपर्दछ।”

बाढीबाट भौतिक संरचनामा ठूलो क्षति पुगेपछि नागरिकको दैनिकी सहज बनाउन सरकारले पूर्वाधार निर्माणका विभिन्न काम एकसाथ अघि बढाइरहेको पनि उहाँले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ११ : ०७ बजे

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार