अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको आजपाको निष्कर्ष « Khabarhub

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको आजपाको निष्कर्ष


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक शासनको संज्ञा दिएको छ । आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष साहले पेश गरेको राजनीतिक प्रतिवेदनमा फेक शासनको भण्डाफोर गर्ने र जनआन्दोलनको दिशामा अग्रसर हुने मूल निष्कर्ष निकालिएको छ ।

आजपाले देश अन्त्यहीन संकटको यात्रामा अग्रसर रहेको र ऐतिहासिक जेन-जी आन्दोलनसमेत अर्थहीन भएको निचोड निकालेको छ । 

वालेन्द्र शाहको नेतृत्वमा सरकार बन्दा जनतामा ठूलो अपेक्षा भएपनि सरकारले समयमै प्रतिफल दिन नसक्दा जनतामा असन्तोष र आक्रोश बढेको आजपाको ठहर छ । 

आजपाले शक्तिशाली नयाँ सरकार बन्दा पनि सबै क्षेत्रमा सकारात्मकता देखिनुको साटो निराशा छाएको र नेपालको राष्ट्रिय स्वाधीनता नै संकटमा परेको निष्कर्ष निकालेको छ । उसले नेपालमा पछिल्लो समय वैदेशिक हस्तक्षेपसमेत बढिरहेको दाबी गरेको छ ।

देशलाई संकटबाट निकाल्न र आम जनतालाई देशको वास्तविक मालिक बनाउनको लागि नक्कली शासनको भण्डाफोर गर्न जरुरी रहेको पनि आजपाले आवश्यकता औँल्याएको छ । 

अहिले देशमा भन्ने एउटा र गर्ने अर्को अर्थात फेक शासन हाबी रहेको आजपाको आरोप छ । अध्यक्ष साहकाअनुसार अहिले नेपालमा छद्यमभेषी राजनीति हाबी छ । छद्यमभेषी राजनीतिलाई परास्त गर्न संघर्षबाहेक अर्को विकल्प पनि नभएको साहको बुझाई छ ।

२००७ सालदेखि पछिल्लो समय भएको ऐतिहासिक जेन-जी विद्रोहसम्म आई पुग्दा नेपालमा भएका सबै खाले साना तथा ठूला आन्दोलन कुनै न कुनै रुपमा सम्झौतामा टुङ्गिएको कारण देशले सही दिशा लिन नसकेको अध्यक्ष साहको बुझाई छ ।
 
रास्वपा नेतृत्वको वर्तमान सरकारले सुरुदेखि नै लोकतन्त्रमाथि प्रहार गरेको र नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारहरूलाई पनि प्रारम्भदेखि नै संकचुन गर्ने प्रयास गरेको आजपाको आरोप छ । 

वर्तमान सरकारले नागरिक सर्वोच्चता, पूर्ण प्रेस स्वतन्त्रता, संसदीय सर्वोच्चताको मूल मर्ममाथि नै प्रहार गरिरहेको अयक्ष साहको आरोप छ । उनले वर्तमान सरकारले कानूनी शासनको उपहास गर्नुको साथै मनोमानी शासनको अभ्यास सुरु गरेको दाबी गरेका छन् । 

पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले वर्तमान सरकारबाट भएका गलत कामका फेहरिस्त सार्वजनिक गर्दै सरकार “स्वतन्त्रता, समानता, विधिको शासनलगायतका लोकतान्त्रिक अधिकारहरू”लाई समाप्त पार्दै सर्वसत्तावादको दिशामा अग्रसर रहेको गम्भीर आरोप लगाएका छन् ।

साहले नेपालमा महाशक्ति राष्ट्रहरूको सक्रिय उपस्थिति र चलखेल बढ्दो रहेको उल्लेख गर्दै भू–राजनीतिक द्वन्द्वको चपेटामा देश पर्ने त होइन भन्ने गम्भीर खतरा उत्पन्न भएको आशंका व्यक्त गरेका छन् । 

पछिल्लो समय भारत र चीनसँगको नेपालको सम्बन्ध खलबलिएको साहको टिप्पणी छ । उनले भनेका छन्,’छिमेकी देशहरूले सुरक्षा चासोलाई लिएर सक्रियता बढाइरहेका छन् । छिमेकीलाई जीवन्त संवादमार्फत आश्वस्त पार्नुको सट्टा वर्तमान सरकार “शून्य संवाद” को नीतिमा अग्रसर छ ।’

प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादबारे खासगरी नेपालले पनि भारतको धेरै ठाउँमा भूमि मिचेको छ भनेर सार्वभौम संसद्मा दिएको अभिव्यक्तिको कारण कुटनीतिक संकट गहिरिएको आजपाको बुझाई छ । 

वर्तमान सरकार राष्ट्रकै अस्तित्व समाप्त गर्नतर्फ अग्रसर रहेको आजपाको आरोप छ । यस्तै, देशको अर्थतन्त्र पनि संकटमा फस्दै गएको आजपाको निष्कर्ष छ । 

अर्थतन्त्रका सबै खाले सूचाकांक नकारात्मक रहेको उल्लेख गर्दै आजपाले अर्थतन्त्र संकटमा फसेकोप्रति चिन्ता व्यक्त गर्दै सुधारको लागि गम्भीर र हस्तक्षेपकारी कदम चाल्न सुझाएको छ ।

सरकारको अनावश्यक हस्तक्षेपले राज्य निष्प्रभावी हुँदै गएको र अहिले दुई तिहाइको सरकार बन्दा पनि जनतामा एकखालको ढुक्कताको स्थिति नदेखिएको आजपाको ठहर छ । 

अहिले संवैधानिक अंगहरुबीच शक्ति सन्तुलन खलबलिएको पनि अध्यक्ष साहले प्रतिवेदनमा उल्लेख गरेका छन् । साहले चुनावमा नेपाली सेनाले खेलेको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाएका छन् । उनले नेपाली सेनाले चुनावमा अमुक पार्टीलाई जिताउन हराउनको लागि भूमिका खेलेको कुरा उल्लेख गरेका छन् ।

उनकाअनुसार अहिले न्यायालय न्याय निरूपण गर्न डराएको, सरकारको हस्तक्षेपको कारण सर्वोच्च अदालत द्वन्द्वको केन्द्र बनेको छ । यस्तै, सुरक्षा निकायले देशमा शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न नसकेको र जनतामा एक किसिमको असुरक्षाको भय पैदा भएको पनि साहले प्रतिवेदनमा जोडदार रुपमा विषय उठाएका छन् । 

वर्तमान सरकारले सुशासन कायम गर्न नसकेको र उल्टै सुशासनको धज्जी उडाउने काम गरेको साहको आरोप छ । यस्तै, भ्रष्टाचारीलाई कारबाही गर्छु भनेर भनिएको भएपनि व्यवहारमा त्यस्तो नदेखिएको आजपाको टिप्पणी छ ।

भुटानी शरणार्थी प्रकरण, बाँसबारी जग्गा काण्ड, वाइडबडी काण्ठ, टेरामक्स प्रकरण, गिरिबन्धु टी स्टेट काण्ड, सहकारी ठगी काण्ड, ललिता निवास जग्गा काण्ड, यति, ओम्नीदेखि सुन तस्करीलगायतका देशका चर्चित भ्रष्टाचारका काण्डहरूमा वर्तमान सरकार मौन बसेको आजपाको दाबी छ । कतिपय छानबिनको प्रक्रिया अगाडि बढाएको भएपनि ती सबैमा सरकार पूवाग्रही देखिएको पनि आजपाको आरोप छ ।

अध्यक्ष साहले आजपा सम्मिलित ९ दलीय मोर्चा बनाउनुको कारणसमेत प्रतिवेदनमा चर्चा गरेका छन् । उनकाअनुसार देशलाई सही निकास दिन र संकटबाट बचाउनको लागि अग्रगामी मोर्चा बनेको हो । मोर्चाले वैदेशिक हस्तक्षेपविरुद्ध लड्ने र स्वाधीनताको रक्षा गर्ने पनि उनले स्पष्ट पारेका छन् । 

यस्तै, सर्वसत्तावाद विरुद्ध लड्ने र लोकतन्त्रको रक्षा गर्ने कुरा मोर्चाको मुख्य उद्देश्य रहेको छ । मोर्चा प्रतिक्रियवादीहरुको षड्यन्त्र, घेराबन्दी एवं हस्तक्षेप रोक्न सक्षम रहेको साहको विश्वास छ । आफूहरूले कुनै सत्ता प्राप्तिको लागि नभएर केवल संघर्षको लागि मोर्चा बनाएको कुरा पनि साहले स्पष्ट पारेका छन् ।

प्रतिवेदनमा संघर्षका कार्यक्रमदेखि जेन-जी आन्दोलनसम्मका चर्चा गरिएको छ । आजपाले दलतन्त्रको विरुद्ध सुरुदेखि नै संघर्ष गर्दै सिस्टम सुधारसहित व्यवस्था परिवर्तनकोलागि आफूहरूले तेस्रो जनआन्दोलनको उद्घोष गरेको कुरा जेनजी आन्दोलनसम्म आई पुग्दा सही साबित भएको उल्लेख गरेको छ । 

तर, जेन-जी आन्दोलनपछि मुलुकमा सिस्टम सुधारसहित अन्तरिम सरकार बन्नुपर्नेमा त्यसमा नेपाली सेना र विदेशी शक्तिहरूको साँठगाँठ र षड्यन्त्रबाट पुरानै व्यवस्था बचाउने खेल भएको साहको आरोप छ । 

अब देशलाई वर्तमान संकट र दलदलबाट बचाउनको लागि फेक शासनको भण्डाफोरसहित सिस्टम सुधारको आवश्यकता औँल्याएको आजपाले अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको भनेको छ ।
 

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ३ : ५९ बजे

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौँ– भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा

मैनालीलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित