वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण मध्यावधि निर्वाचन आगामी नोभेम्बर ३ मा हुँदैछ।
राष्ट्रपति ट्रम्पको नाम मतपत्रमा नरहे पनि काङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर तथा हजारौँ राज्यस्तरीय पदका लागि हुने निर्वाचनले उनको प्रशासनको आगामी राजनीतिक मार्गमा प्रत्यक्ष प्रभाव पार्नेछ।
निर्वाचनमा प्रतिनिधि सभाका ४३५ र सिनेटका ३५ सिटका लागि प्रतिस्पर्धा हुँदैछ। प्रतिनिधि सभामा बहुमत कायम गर्न २१८ सिट आवश्यक पर्छ। हाल रिपब्लिकनका २१८, डेमोक्रेटिकका २१४, एक स्वतन्त्र सदस्य रहेका छन् भने दुई सिट रिक्त छन्।
सिनेटमा रिपब्लिकनका ५३ र डेमोक्रेटिकका ४७ सदस्य छन्। सिनेटमा बहुमत हासिल गर्न डेमोक्रेटिक पार्टीलाई थप चार सिट आवश्यक पर्नेछ।
सेप्टेम्बर १४ र १५ मा गरिएको पीबीएस न्युज, एनपीआर र मारिस्टको सर्वेक्षणमा काङ्ग्रेसका उम्मेदवार छनोट गर्दा ५३ प्रतिशत दर्ता मतदाताले डेमोक्रेटिक उम्मेदवारलाई समर्थन गर्ने बताएका थिए। रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्ने मतदाता ४१ प्रतिशत थिए।
स्वतन्त्र मतदातामध्ये डेमोक्रेटिक उम्मेदवारको पक्षमा ५७ प्रतिशत र रिपब्लिकन उम्मेदवारको पक्षमा ३२ प्रतिशत समर्थन देखिएको सर्वेक्षणले जनाएको छ।
सेप्टेम्बरमा सार्वजनिक विभिन्न सर्वेक्षणमा राष्ट्रपति ट्रम्पको अनुमोदन दर ३२ देखि ४१ प्रतिशतको बीचमा देखिएको छ। यसले मध्यावधि निर्वाचनमा ट्रम्पको लोकप्रियता र उनको प्रशासनप्रतिको जनमत महत्वपूर्ण बन्ने संकेत गरेको छ।
निर्वाचन प्रचारप्रसारमा समेत ठूलो रकम खर्च भइरहेको छ। सन् २०२५–२६ को निर्वाचन चक्रमा राजनीतिक विज्ञापनमा करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ। क्यालिफोर्नियाको गभर्नरको प्रारम्भिक निर्वाचनमा मात्रै करिब ३३ करोड डलर खर्च भएको बताइएको छ।
यस वर्ष काङ्ग्रेसको प्रारम्भिक निर्वाचनमा दुई हजार ४९७ उम्मेदवार सहभागी भएका थिए। नोभेम्बर ३ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सन् २०२४ मा प्रमुख दलबाट उम्मेदवार बनेकाहरूबीच ४४ स्थानमा पुनः प्रतिस्पर्धा हुँदैछ। राज्य तथा स्थानीय तहका निर्वाचनसमेत जोड्दा अघिल्लो निर्वाचनका उम्मेदवारबीच हुने पुनः प्रतिस्पर्धाको संख्या ४७४ पुग्नेछ।
मध्यावधि निर्वाचनमा काङ्ग्रेसको नियन्त्रण कुन दलको हातमा जान्छ भन्ने विषयले राष्ट्रपति ट्रम्पको आगामी दुई वर्षको कार्यकालमा नीति निर्माण, बजेट तथा प्रशासनिक निर्णयमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया