गुल्मीको भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक स्थापना « Khabarhub

गुल्मीको भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक स्थापना


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गुल्मी– लाहुरेहरूको गाउँका रूपमा परिचित गुल्मीको सत्यवती गाउँपालिका– ८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस प्राप्त कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ ।

प्रथम विश्वयुद्धका क्रममा जर्मन सेनाविरुद्ध बहादुरी प्रदर्शन गरेवापत बेलायत सरकारले रानालाई सर्वोच्च सैनिक सम्मान भिक्टोरिया क्रस प्रदान गरेको थियो । लाहुरेहरूको इतिहास जीवित राख्ने उद्देश्यसहित निर्माण गरिएको भार्से ग्यालरी परिसरमा रानाको सालिक स्थापना गरिएको हो ।

जिल्लाको कालीगण्डकी गाउँपालिका–७ फोक्सिङ निवासी कर्नबहादुर रानाको जन्म सन् १८९८ मा भएको थियो । उनले १९ वर्षको कलिलो उमेरमै सन् १९१९ मा बेलायतका राजा जर्ज पाँचौँबाट भिक्टोरिया क्रस प्राप्त गरेका थिए । रानाको सन् १९७३ मा ७४ वर्षको उमेरमा निधन भएको थियो ।

रानाको सालिक स्थापनाले दिवङ्गत तथा जीवित सम्पूर्ण लाहुरेहरूको सम्मान भएको सालिकका परिकल्पनाकार लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले बताए । इतिहास संरक्षणका लागि व्यक्तिगत अग्रसरतामा सालिक स्थापना गरिएको भन्दै स्थानीयवासीले बुढाथोकीप्रति आभार प्रकट गरेका छन् ।

भार्से भूपू सङ्घको नेतृत्वमा करिब १६ लाख लागतमा सालिक निर्माण गरिएको हो । गुल्मेली मूर्तिकार यमबहादुर थापाले एक वर्षभन्दा बढी समय लगाएर रानाको सालिक निर्माण गरेका हुन् ।

नेपाल सरकारका तर्फबाट कुनै औपचारिक सम्मान नपाएकाले व्यक्तिगत लगानीमार्फत उक्त सालिक निर्माण गरिएको भार्से भूपूसङ्घका कोषाध्यक्ष नरबहादुर बुढाथोकीले जानकारी दिए ।

प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण भार्सेमा भूपूगोर्खा ग्यालरी र भार्से ग्यालरी स्थापना गरिएको छ । ग्यालरीमा प्रथम विश्वयुद्ध लड्ने ८४ र दोस्रो विश्वयुद्ध लड्ने १७८ जनाको फोटो र सङ्क्षिप्त इतिहास सङ्कलन गरिएको छ ।

भूपूगोर्खा ग्यालरीमा हालसम्म पहिलो र दोस्रो विश्वयुद्ध लडेका ३४ जना दिवङ्गत व्यक्तिहरूको तस्बिर तथा विवरण राखिएको छ । ग्यालरीमा कम उमेरमा विश्वकै प्रतिष्ठित पदक भिक्टोरिया क्रस प्राप्त गर्ने कर्नबहादुर राना, भारतीय सेनामा नेपालबाट पहिलो कर्नेल श्रीप्रसाद बुढाथोकी तथा उनका पिता गिरीप्रसाद बुढाथोकीको तस्बिरसमेत राखिएको छ ।

भार्सेमा जन्मिएर हाल हङकङमा रहेका लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीको नेतृत्वमा ग्यालरी स्थापना गरिएको हो । उनले ग्यालरी निर्माणका लागि अहिलेसम्म करिब ५७ लाखभन्दा बढी रकम व्यक्तिगत रुपमा लगानी गरिसकेका छन् ।

ग्यालरीमा हाल भारतीय, बेलायती र नेपाली सेना, प्रहरी तथा राष्ट्रसेवक कर्मचारीहरूको चार सयभन्दा धेरै तस्बिरहरूकाे राखिएको छ । (रासस)

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १० : ३३ बजे

चुनावसम्मलाई एमालेले तोक्यो प्रदेश संयोजक, संगठन विभागमा भानुभक्त

काठमाडौं- एघारौँ महाधिवेशनपछि नेकपा एमालेले प्रदेश संयोजकहरू तोकेको छ ।

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

भरतपुर– चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको

एमालेले चुनावी घोषणा पत्र ओलीको नेतृत्वमा लेख्ने, ईश्‍वर पोखरेललाई पनि राखियो

काठमाडौं- नेकपा एमालेले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा

एमालेले बादललाई बनायो फागुन २१ को चुनावी कमाण्डर

काठमाडौं- नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादललाई आगामी फागुन २१