काठमाडौं- नेपाली कांग्रेसमा देखिएको कलह प्रदेश कार्यसमिति सभापतिसम्म पुगेको छ।
सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी ५ जना प्रदेश कार्यसमिति सभापतिहरूले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले घोषणा गरेको विशेष महाधिवेशनको औचित्य सकिएको बताएका हुन् ।
उनीहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्तावअनुसार आगामी वैशाख २८ गतेदेखि पन्ध्रौँ महाधिवेशन हुनुपर्ने पक्षमा आफूहरूलाई उभ्याएका हुन्।
सुदूरपश्चिम कार्यसमिति सभापति वीरबहादुर बलायरले सानेपामा सञ्चारकर्मीहरूसँग बोल्दै विशेष महाधिवेशनको औचित्य सकिएकाले कार्यसम्पादन समितिको निर्णयअनुसार अब नियमित महाधिवेशनमै जानुपर्ने बताए ।
उनीसहित कोशी प्रदेश कार्यसमिति सभापति उद्धव थापा, मधेशका कार्यसमिति सभापति कृष्णप्रसाद यादव, बागमती सभापति इन्द्र बानियाँ, कर्णाली सभापति ललितजंग शाहीले संयुक्त वक्तव्य निकालेर विशेष महाधिवेशनविरुद्ध उभ्याएका हुन् ।
तर उनीहरूको वक्तव्यमा गण्डकीका शुक्रराज शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले हस्ताक्षर गरेका छन् ।
बलायरले लुम्बिनी र गण्डकीको प्रदेश सभापतिहरूसँग पनि यसबारे सम्वाद भइरहेको जानकारी दिए । लुम्बिनी सभापति आफूहरू साथमै रहेको जवाफ दिएको उनले दाबी गरे। उता गण्डकी सभापति शर्माले पुस २४ सम्म निर्णय दिने बताएको उनको जिकिर थियो ।
‘लुम्बिनीका सभापतिलाई आग्रह गरेका छौँ । गण्डकीका सभापतिले समय माग्नु भएको छ’, उनले भने, ‘वर्तमान परिस्थितिमा पार्टीको आधिकारिक धारणाको पक्षमा उभिनु पर्छ भन्ने हाम्रो मान्यता हो। विशेष अधिवेशनको औचित्य सकिएको कुरा कार्यसम्पादन समितिले भनिसकेको छ।’














प्रतिक्रिया