‘नौ मुठ्ठे’ गाई जोगाउन प्रधानमन्त्री बालेनसँग सांसदको माग « Khabarhub

‘नौ मुठ्ठे’ गाई जोगाउन प्रधानमन्त्री बालेनसँग सांसदको माग

गाई संरक्षण र ब्रान्डिङका लागि केन्द्रलाई दबाब


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित कैलाली क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य केपी खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँगको भेटमा ‘नौ मुठ्ठे’ गाईको संरक्षण र व्यावसायिक प्रवर्द्धनको मुद्दा उठाएका छन् ।

विशेष गरी सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा पाइने नौ मुठ्ठे गाई छिमेकी जिल्ला बाजुरा, बझाङ र डोटीका केही क्षेत्रमा पनि पाइन्छ । प्रधानमन्त्रीसँगको भेटमा उनले अछामको रामारोशनमा राष्ट्रिय ‘नौ मुट्ठे’ गाई संरक्षण तथा अनुसन्धान केन्द्र स्थापना गर्ने ठोस योजना पेस गरेका छन् ।

उनका अनुसार यसको व्यावसायिक प्रवर्द्धनले सुदूरपश्चिममा कृषि पर्यटनको ढोका खोल्नेछ । विदेशी पर्यटक विश्वकै सानो गाई हेर्न र यसको गुणकारी दूधको स्वाद लिन अछाम पुग्ने वातावरण बनाउनु नै अबको मुख्य लक्ष्य हुनुपर्ने खनालले बताएका छन् ।

किन भनियो नौ मुट्ठे ?
यो गाईको नाम नै यसको शारीरिक विशेषताको परिचय हो । जानकारका अनुसार मानिसको हातको मुट्ठीले नाप्दा भुइँदेखि जुरोसम्म जम्मा नौ मुठ्ठे (करिब ८०–९० सेन्टिमिटर) मात्र उचाइ हुने भएकाले यसलाई नौ मुठ्ठे भनिएको हो ।

अछामको रामारोशन, बान्नीगढी जयगढ, मङ्गलसेन र ढकारीका उच्च पहाडी भेग यसका मुख्य बासस्थान हुन् । बाजुरा, डोटी र बझाङका केही भागमा पनि यो गाई छिटफुट रूपमा पाइन्छ । तर संरक्षण अभावमा पछिल्लो समय यो गाई लोप हुने अवस्थामा पुगिसकेको सरोकारवाला बताउँछन् ।

वर्षेनि सङ्ख्या घट्दै
पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा यो गाईको सङ्ख्या घटेर करिब ६ सय ७९ मा सीमित भएको छ । जसमा करिब ३ सय ६८ गाई, ९१ साँढे र ३ सय १० बाछाबाछी छन् । पशु चिकित्सक कार्यालयका प्रमुख बाल्मीकि जोशीका अनुसार यो गाई अहिले जिल्लाका साँफेबगर, चौरपाटी, मङ्गलसेन, विनायक, पञ्चदेवललगायत पाँच स्थानीय तहमा फाटफुट रूपमा मात्र पाइन्छ ।

क्रस प्रजनन बढ्नु, कम दूध उत्पादन हुनु, व्यावसायिक आकर्षण घट्नु, गाउँबाट बसाइँसराइ, खेती प्रणाली परिवर्तन हुनु र खेतीयोग्य जमिन बाँझो भएसँगै गाई पाल्नेको सङ्ख्या पनि घट्दै गएको जोशीले बताए । अहिले मानिस बढी आम्दानी हुने भैँसी र उन्नत जातका गाईतिर आकर्षित छन् । सानो गाई पालेर खासै फाइदा नहुने भएकाले पनि नौ मुठ्ठे गाई लोप हुने अवस्थामा पुगेको जोशीको बुझाइ छ ।

गौशाला योजना अलपत्र
सुदूरपश्चिम प्रदेश सरकारले ‘नौ मुठ्ठे’ गाई संरक्षणका लागि गौशाला स्थापना गर्ने योजना अघि सारे पनि कार्यान्वयनमा समस्या देखिएको जोशी बताउँछन् । उनका अनुसार पर्यटकीय दृष्टिकोणले सहज मानिएको साँफेबगर नगरपालिकामा गौशाला निर्माण गर्ने भनेर केही गाई राखिएको छ । तर जग्गा उपलब्ध नहुनु र स्थानीयको चासो अभावका कारण संरचना निर्माण अन्योलमा परेको छ ।

“जग्गा दिन कोही तयार छैन, राज्यले किन्न पनि मिल्दैन । त्यसैले गौशाला बन्ने अवस्था कमजोर छ,” जोशीले भने । त्यस्तै अर्को ठूलो समस्या गाउँ रित्तिँदै जानु रहेको उनले बताए । धेरैजसो युवा रोजगारीका लागि बाहिर गएका छन्, खेतीयोग्य जमिन बाँझो रहँदै गएको छ र पशुपालन परम्परा हराउँदै गएको उनको भनाइ छ ।

“पहिले गोबर, मल र यो जातको गोरु साना गह्रामा सजिलै लाग्ने भएकाले जोत्नका लागि गाई अनिवार्य पालिन्थ्यो, अहिले ट्रयाक्टर आएपछि त्यो आवश्यकता पनि घट्यो,” जोशीले भने ।

महत्त्व भए पनि बेवास्ता
पशु चिकित्सक कार्यालय प्रमुख जोशीका अनुसार जैविक विविधताको हिस्सा मानिएको यो गाई सानो कदको भएकाले कम स्रोतमा पाल्न सकिन्छ । धार्मिक तथा सांस्कृतिक प्रयोगमा पनि अन्य जातको गाईभन्दा यसलाई शुद्ध मानिन्छ । यसको दूध र घिउ पनि अत्यन्तै पोषिलो र औषधीय गुणले भरिपूर्ण मानिन्छ । तर बजार पहुँच कमजोर भएकाले किसानले प्रत्यक्ष लाभ लिन नसकेको उनले बताए ।

यो गाईको पुच्छरदेखि जुरोसम्म दैनिक १५ पटकका दरले २० दिन लगातार दुवै हातले मसाज गर्दा मानिसको रक्तचाप सन्तुलित हुने र मानसिक रोगीलाई समेत राहत मिल्ने जनविश्वास रहिआएको छ ।

केन्द्रकै भूमिका आवश्यक
यसको संरक्षणका लागि स्थानीय तहले मात्र केही गर्न नसक्ने भन्दै सङ्घीय र प्रदेश सरकारको सक्रिय पहल आवश्यक रहेको जोशी बताउँछन् । “यो सुदूरपश्चिमकै पहिचान हो, तर संरक्षणका लागि कसैले गम्भीर पहल गरेको देखिँदैन । केन्द्रले विशेष कार्यक्रम ल्याउनुपर्छ,” जोशीले भने ।

अछामी ‘नौ मुठ्ठे’ गाई केवल पशु नभई जैविक, सांस्कृतिक र आर्थिक सम्पत्ति हो । समयमै ठोस संरक्षण, अनुसन्धान र बजार व्यवस्थापन नभए यो दुर्लभ जात इतिहासमा मात्र सीमित हुने खतरा छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ९ : २३ बजे

व्यवसायी अग्रवाल छुटे

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी शंकर अग्रवाल छुटेका

पश्चिम एशिया युद्धले युक्रेन ओझेलमा

इस्तानबुल- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पश्चिम एशियामा चर्किंदै गएको युद्धले

सभामुख डीपी अर्यालले गरे पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदभार

केही कानुन उद्योगी-व्यवसायीमैत्री छैनन्, संशोधन गर्नुपर्छ : चन्द्र ढकाल 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वर्तमान

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

काठमाडौं– सरकारले अधिवक्ता डा. नारायण कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ