काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आजदेखि कालोपत्रे गर्ने काम सुरु गरिएको छ ।
धुलिखेल चोकबाट एकतर्फी कालोपत्रे सुरु गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । स्तरोन्नति भइरहेको उक्त चार किलोमिटर सडकमध्ये पहिलो चरणमा २ दशमलव ५ किमी कालोपत्रे हुने भएको हो ।
कालोपत्रे गर्नका लागि रातिको समयमा सडक आवागमन रोकेर निर्माण भइरहेको सो कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए ।
उनका अनुसार यही चैत ७ .देखि २० गतेसम्म र चैत २१ देखि ३० गतेसम्म रातिको समयमा आवागमन रोकेर काम भइरहेको छ । सो अवधिमा टिपरलगायत मालवाहक सवारीलाई भने पूर्णतः निषेध गरिएको छ ।
उक्त खडकखण्डको बाँकी एक दशमलब पाँच किलोमिटर दोस्रो चरणमा कालोपत्रे गरिने छ । ग्राभेलमाथि २० सेन्टीमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र अस्फाल कालोपत्रे गर्ने काम हुने जनाइएको छ ।
लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तार कार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता कार्य गरिएपछि पुनः स्तरोन्नति कार्यलाई तीव्रता दिइएको हो ।
कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो ।
उक्त सडकखण्डमा कालोपत्रको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिने प्रमुख योगेशको भनाइ छ । सात मिटर चौडाइको बन्ने उक्त सडकखण्डमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोग गरिने जनाइएको छ ।
सो सडकखण्डमा तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो ।
सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशतसमेत निर्माणको काम हुन नसकेको अवस्थामा कार्यालयले २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएका उक्त निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो ।
सो निर्माण कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्ने गरी ठेक्का लिएको थियो ।
उक्त सडकखण्ड अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमा रहेको छ । रासस













प्रतिक्रिया