बेरुत – संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा अघि बढाइएको युद्धविराम प्रयासबीच पनि इजरायलले लेबनानमा सैन्य आक्रमणलाई निरन्तरता दिएको छ। हेजबुल्लाहविरुद्ध थप सैन्य कारबाहीको चेतावनी दिएलगत्तै इजरायली वायु सेनाले शुक्रबार दक्षिणी लेबनानका विभिन्न गाउँ र सहरमा हवाई आक्रमण गरेको हो।
गत फागुन २८ गते इरानका सर्वोच्च नेताको हत्याको प्रतिशोधस्वरूप हेजबुल्लाहले चैत २ गते इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि मध्यपूर्वमा फैलिएको द्वन्द्वको चपेटामा परेको थियो।
यसैबीच, वासिङ्टनमा यस साता सम्पन्न लेबनानी र इजरायली प्रतिनिधिबीचको बैठकपछि सशर्त युद्धविरामको घोषणा गरिएको थियो। तर हेजबुल्लाहले उक्त प्रस्तावप्रति असहमति जनाउँदै प्रभावकारी युद्धविराम र दक्षिणी लेबनानबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने अडान राखेको छ।
इजरायलले इरानसँगको युद्ध सुरु भएयता लेबनानमा आफ्नो आक्रमण झन् तीव्र बनाएको छ। शुक्रबार इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले दक्षिणी लेबनानको सराफान्डसहित सातवटा सहर तथा गाउँका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत जारी सन्देशमा नागरिकहरूलाई आफ्नो घर छाडेर कम्तीमा एक किलोमिटर टाढा खुला क्षेत्रमा जान आग्रह गरेका छन्। हेजबुल्लाहका लडाकु, सैन्य पूर्वाधार वा हतियार भण्डारणस्थल नजिक बसोबास गर्नेहरू उच्च जोखिममा रहेको चेतावनी पनि दिइएको छ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार चेतावनी जारी गरिएका क्षेत्रबाट ठूलो संख्यामा मानिस विस्थापित भएका छन् भने केही गाउँमा आक्रमणसमेत भइसकेको छ।
दक्षिणी सहर टायरमा भएको इजरायली आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको लेबनानी नागरिक सुरक्षा स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। टायरस्थित जबल अमेल अस्पताल नजिकै राति भएको आक्रमणमा चार जनाको मृत्यु तथा सात जना घाइते भएका छन्। अर्को आवासीय क्षेत्रमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने दुई बालबालिकासहित पाँच जना घाइते भएका छन्।
यसअघि हेजबुल्लाहका महासचिव नईम कासिमले बिहीबार वासिङ्टनमा घोषणा गरिएको युद्धविराम प्रस्ताव अस्वीकार गरेका थिए। इजरायली रक्षामन्त्री इजरायल काट्जले पनि सेनाले आफ्नो सैन्य अभियान जारी राख्ने बताएका छन्। उनले हेजबुल्लाहले इजरायली बस्तीहरूमा आक्रमण जारी राखे बेरुतसम्म सैन्य कारबाही विस्तार गर्न सकिने चेतावनी दिएका छन्।
टायर क्षेत्रका अधिकांश बासिन्दालाई घर छाड्न निर्देशन दिइएपछि धेरै नागरिक अन्य सहरतर्फ पलायन भएका छन्। आश्रयस्थलहरू भरिएपछि कतिपय विस्थापितहरू गाडी वा अस्थायी शिविरमा बस्न बाध्य भएका छन्।
सन् १९७५ देखि १९९० सम्म चलेको लेबनानी गृहयुद्धपछि पनि हतियार नत्यागेको हेजबुल्लाहलाई लेबनान सरकारले सैन्य रूपमा अवैध समूह घोषणा गरेको छ। इजरायलसँग सीमा जोडिएको लिटानी नदीको दक्षिणी क्षेत्रमा उक्त समूहलाई निःशस्त्र बनाउने प्रयास जारी रहेको बताइएको छ।













प्रतिक्रिया