ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने « Khabarhub

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढाएको छ ।

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हर्दिपसिंह पुरीले ऊर्जा सङ्कटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको बताएका छन् ।

विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता तथा दोस्रो ठूलो एलपीजी आयातकर्ता भारतले अमेरिका–इरान द्वन्द्वका क्रममा ‘स्ट्रेट अफ होर्मुज’मा लगाइएका प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो । 

अमेरिका र इरानबीच युद्ध रोक्ने अस्थायी सहमतिपछि खाडी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः सुरु भएको छ भने बजारमा मूल्य स्थिर हुन थालेको छ ।

मन्त्री पुरीका अनुसार भारतले हालसम्म अन्वेषण नगरिएका करिब दुई लाख ५० हजार वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको छ ।

भारतको तेल मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२५/२६ मा स्वदेशी कच्चा तेल उत्पादन दुई करोड ५९ लाख ८० हजार मेट्रिकटन रहेको थियो । यो उत्पादनले भारतको कुल कच्चा तेल आवश्यकताको करिब १० प्रतिशत मात्र पूरा गर्छ ।

ऊर्जा आपूर्तिको विविधिकरणका लागि भारतले कच्चा तेल आयात गर्ने देशको सङ्ख्या २७ बाट बढाएर ४१ पुर्‍याएको छ । यस क्रममा इरान, भेनेजुएला, रुस तथा विभिन्न अफ्रिकी मुलुकबाट पनि आयात बढाइएको छ ।

रुसी तेल खरिदका विषयमा अमेरिका र युरोपबाट आलोचना भए पनि मन्त्री पुरीले भारतले वैचारिक दृष्टिकोणभन्दा आफ्ना ऊर्जा आवश्यकतालाई प्राथमिकता दिएको बताएका छन् ।

भारतको स्वदेशी कच्चा तेल उत्पादन मुख्यतः मुम्बईको अपतटीय क्षेत्र, राजस्थान, गुजरात तथा आसाममा केन्द्रित छ । मन्त्री पुरीले अन्डमान तथा निकोबार द्वीप आसपासको समुद्री क्षेत्रलाई ऊर्जा सम्भावनाले भरिएको क्षेत्रका रूपमा उल्लेख गर्दै त्यहाँ गहिरो समुद्री क्षेत्रमा अन्वेषणलाई तीव्र पारिने बताए ।

उहाँका अनुसार भारतले गहिरो समुद्री अन्वेषणका लागि पेट्रोब्रास, टोटलएनर्जीज, बीपी, शेल तथा एक्सनमोबिलजस्ता अन्तरराष्ट्रिय कम्पनीसँग सहकार्य गरिरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२५ मा ’समुद्र मन्थन’ अभियान घोषणा गर्दै समुद्रमुनिको तेल तथा ग्यास भण्डारको खोजीलाई राष्ट्रिय प्राथमिकतामा राखेका थिए । 

सरकारले सन् २०७० सम्म कार्बन तटस्थता हासिल गर्ने लक्ष्य राखे पनि तीव्र आर्थिक वृद्धि र बढ्दो ऊर्जा मागका कारण तेलको खपत निरन्तर बढिरहेको छ । 

भारतले नवीकरणीय ऊर्जा, आणविक ऊर्जा तथा इथेनोल मिश्रित इन्धनको प्रयोग विस्तार गर्दै ऊर्जा स्रोतको विविधिकरणमा पनि लगानी बढाइरहेको छ ।

मन्त्री पुरीले भारतको ऊर्जा खपत सन् २०२१ मा दैनिक ५० लाख ब्यारेलबाट बढेर हाल करिब ५६ लाख ब्यारेल पुगेको र निकट भविष्यमै दैनिक ६० लाख ब्यारेल पुग्ने अनुमान गरिएको बताए । 

उनले करिब १० अर्ब अमेरिकी डलरको लगानीमार्फत तेल तथा ग्यास अन्वेषणलाई तीव्र बनाइने र अहिलेसम्म अन्वेषण नगरिएको करिब १० लाख वर्ग किलोमिटर क्षेत्रमा पनि अध्ययन अघि बढाइने जानकारी दिए  । रासस
 

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  १२ : ३८ बजे

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका