नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ « Khabarhub

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का अभियन्ता नैनसिंह महरले विपत्तिको यो घडीमा पार्टीको महाधिवेशन केही समय सार्नुपर्ने बताएका छन् । पार्टीभन्दा देश र जनताको पीडालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

भदौ १० को भोटेकोशी बाढीाबाट क्षतिग्रस्त देवघाट, त्रिशूलीलगायत बाढीपहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा सहभागी भएर काठमाडौं फर्किएका महरले कांग्रेसका सम्पर्क समितिका सभापतिसँगको छलफलमा यस्तो धारणा राखेका हुन्।

उनले भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको तथा वर्षायामका कारण अधिकांश सडक तथा यातायातका मार्ग अवरुद्ध रहेको अवस्थामा नेपाली कांग्रेसको १५औँ महाधिवेशन केही समय सारेर भए पनि पार्टीभित्र एकता बनाउनुपर्नेमा जोड दिए ।

‘आज हजारौँ नेपाली नागरिक विपत्तिमा छन्। कतै घर बगेका छन्, कतै परिवारले आफन्त गुमाएका छन्, कतै गाउँ नै सडक सञ्जालबाट विच्छेद भएको छ। यस्तो संवेदनशील अवस्थामा कांग्रेसको सम्पूर्ण ध्यान महाधिवेशनको जोडघटाउमा होइन, पीडित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्छ,’ महरले भने।

रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढी तथा पहिरोले जनजीवन नराम्ररी प्रभावित भएको उल्लेख गर्दै उनले विपत्तिको समयमा राजनीतिक दलको वास्तविक परीक्षा हुने बताए।

महरले महाधिवेशनलाई अनिश्चितकालसम्म सार्ने नभई दशैँपछि सम्पन्न हुने गरी केही समय मिति परिवर्तन गर्न सकिने प्रस्ताव अघि सारेका छन्।

यसबाट विपत्तिमा परेका नागरिकलाई राहत तथा पुनर्स्थापनामा कांग्रेसलाई प्रभावकारी रूपमा परिचालन गर्न सकिने र पार्टीभित्र देखिएका असन्तुष्टि, दूरी तथा विभाजनलाई संवादमार्फत सम्बोधन गर्दै बृहत् एकताको वातावरण निर्माण गर्न पर्याप्त समय मिल्ने उनको भनाइ छ।

‘महाधिवेशन व्यक्तिको जित–हार तय गर्ने अवसर मात्र होइन, कांग्रेसको भविष्य तय गर्ने ऐतिहासिक क्षण हो। त्यसैले हतारमा महाधिवेशन गरेर पार्टीलाई अझ विभाजित बनाउनु भन्दा केही समय लिएर सबैलाई समेट्ने, मन मिलाउने र कांग्रेसलाई एकताबद्ध बनाउने बाटो रोज्नु बुद्धिमानी हुन्छ,’ उनले भने।

कांग्रेसभित्रको एकता कुनै गुट वा व्यक्तिको स्वार्थका लागि नभई लोकतन्त्र, संविधान र देशको भविष्यका लागि आवश्यक रहेको महरले स्पष्ट पारे।

‘आज कांग्रेसलाई कुर्सीको होइन, एकताको आवश्यकता छ; प्रतिस्पर्धाको होइन, सहकार्यको आवश्यकता छ। देश संकटमा रहेका बेला कांग्रेसभित्रै विभाजनको राजनीति गरेर जनताको विश्वास जित्न सकिँदैन। त्यसैले सबै नेताहरूले व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर एकताको पक्षमा निर्णायक कदम चाल्नुपर्छ,’ उनले भने।

विपत्तिमा जनताको साथ, पार्टीभित्र एकताको प्रयास र त्यसपछि मात्रै महाधिवेशन कांग्रेसको अहिलेको प्राथमिकता हुनुपर्नेमा महरले जोड दिए। उनले महाधिवेशनको मिति केही समय सार्ने विषयलाई कमजोरीका रूपमा नभई कांग्रेसलाई अझ बलियो, एकताबद्ध र जनमुखी बनाउने राजनीतिक अवसरका रूपमा लिनुपर्ने धारणा राखेका छन्।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  १२ : ३१ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै