काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्ने तय भएको छ । नेपालको अनुरोधपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गरी प्रधानमन्त्री शाहलाई उक्त दिन महासभामा सम्बोधनको समय तोकेको हो ।
न्यूयोर्कस्थित नेपाली नियोगले परराष्ट्र मन्त्रालयमार्फत पठाएको संशोधित तालिका प्रधानमन्त्री सचिवालयमा पुगेको छ । त्यसअनुसार अमेरिका भ्रमणको तयारी अगाडि बढाइएको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार न्यूयोर्कस्थित नेपाली नियोगबाट प्रधानमन्त्रीको सम्बोधन असोज ८ अर्थात् सेप्टेम्बर २४ मा तोकिएको जानकारी प्राप्त भएको छ । यससँगै मन्त्रालयले उक्त जानकारी प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ ।
अहिलेसम्म न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा हुने ८१औँ महासभामा ११८ देशका प्रतिनिधिहरू सम्बोधनका लागि सूचीकृत भइसकेका छन् । अधिकांश वक्ता राष्ट्रप्रमुख, सरकारप्रमुख वा परराष्ट्रमन्त्री नै रहने अपेक्षा गरिएको छ ।
परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री सचिवालयका अधिकारीहरूका अनुसार भोटेकोशी विपद्पछि प्रधानमन्त्री शाह आफैं महासभामा सम्बोधन गर्न जाने तयारी भएको हो । यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सम्बोधन गर्ने तयारी गरिरहेका थिए । प्रधानमन्त्री शाहले विशेषगरी विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएका विपद्प्रति नेपालको संवेदनशीलतालाई ध्यानमा राख्दै क्षतिपूर्ति र जलवायु न्यायका विषय उठाउने अपेक्षा गरिएको छ ।
भोटेकोशी विपद्पछिको उद्धार तथा राहत कार्य जारी रहेकाले अमेरिका भ्रमणलाई सकेसम्म छोटो राखिने अधिकारीहरूले बताएका छन् । न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्रीले कतिवटा द्विपक्षीय तथा अन्य साइडलाइन बैठकमा सहभागी हुने भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन ।
यो प्रधानमन्त्री बनेपछि शाहको पहिलो विदेश भ्रमण हुनेछ । प्रधानमन्त्री बनेयता उनले कुनै पनि देशका राष्ट्रप्रमुख वा सरकारप्रमुखसँग प्रत्यक्ष भेट गरेका छैनन् । न्यूयोर्कमा रहँदा सम्भव भएसम्म अमेरिका, चीन र भारतका नेताहरूसँगको भेटलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग महासभामा जाने अझै निश्चित छैन ।
त्यस्तै चिनियाँ राष्ट्रपति सी जिन्पिङ सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको औपचारिक भ्रमणमा रहने भए पनि महासभामा सहभागी हुने तालिका छैन। त्यसैले न्यूयोर्कमा छिमेकी भारत र चीनका सरकार प्रमुखसँग शाहको भेट असम्भवप्रायः देखिएको छ ।
प्रधानमन्त्री सहभागी हुने भएपछि परराष्ट्रमन्त्री खनाल प्रतिनिधिमण्डलका सदस्यका रूपमा रहनेछन् । परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्री शाहले महासभामा सम्बोधन गरेर फर्कने र परराष्ट्रमन्त्री खनालले अन्य द्विपक्षीय तथा साइडलाइन बैठकहरूको नेतृत्व गर्ने देखिन्छ।
प्रधानमन्त्री कार्यालयका स्रोतअनुसार शाहको भ्रमण दलमा प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्य समावेश हुनेछन् । परराष्ट्र सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघीय मामिला महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल र अधिकारी कुमारराज खरेल पनि प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा रहने अपेक्षा गरिएको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग प्रमुख लोकबहादुर थापा प्रतिनिधिमण्डलका सदस्यका रूपमा महासभामा सहभागी हुनेछन् ।












प्रतिक्रिया