बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण « Khabarhub

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोट कारागारको पर्खाल र गेट तोडेर केही कैदीबन्दी भागेको र उनीहरूलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको खुलेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार बाढीको मौका छोपेर करिब ५० जना कैदीबन्दी कारागारबाट भागेका थिए । उनीहरू करिब १०० मिटरसम्म बाहिर पुगिसकेपछि सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएका थिए ।

भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिने क्रममा केही सुरक्षाकर्मी घाइतेसमेत भएका थिए । प्रधानमन्त्री शाहका अनुसार भाग्न नसकेका केही कैदीबन्दीले समेत सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए ।

नुवाकोटको विदुर नगरपालिका–६, खम्पा क्याम्पमा रहेको केन्द्रीय कारागारमा बाढी आउँदा ९२३ जना कैदीबन्दी रहेका थिए । त्रिशूली नदीमा पानीको सतह बढ्दै गएपछि कारागारको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कमान्डरसहित ५२ जना सुरक्षाकर्मीले तत्काल उद्धारको पहल गरेका थिए ।

बाढीले कारागार आसपासका संरचनामा क्षति पुर्‍याउन थालेपछि सुरक्षाकर्मीले दुईवटा भवनमा रहेका सबै कैदीबन्दीलाई तुलनात्मक रूपमा सुरक्षित मानिएको माथिल्लो भवनमा सारेका थिए ।

त्यतिबेलासम्म त्रिशूली नदीको तटीय क्षेत्रमा रहेको कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोष्ट र पर्खालमा बाढीले क्षति पुर्‍याइसकेको थियो। कैदीबन्दी राखिएको भवनको पहिलो तलासम्म समेत लेदोसहितको बाढी प्रवेश गरिसकेको थियो ।

कारागारको संरचना नै जोखिममा परेको अवस्थामा कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्नुका साथै कारागारबाट भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिनुपर्ने दोहोरो चुनौती सुरक्षाकर्मीमाथि आएको थियो ।

प्रधानमन्त्री शाहले विपद्को यस्तो कठिन परिस्थितिमा सुरक्षाकर्मीले कैदीबन्दीको सुरक्षासँगै आसपासका स्थानीय बासिन्दाको ज्यान जोगाउनसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

उनले भोटेकोशी–त्रिशूली बाढीका बेला सुरक्षाकर्मीले देखाएको साहसलाई उदाहरणीय भन्दै प्रशंसा गरेका छन् । बाढीले ठूलो क्षति पुर्‍याइरहेका बेला समेत सुरक्षाकर्मीले आफ्नो ज्यानको जोखिम मोलेर नागरिक तथा कैदीबन्दीको उद्धार र सुरक्षामा खटिएको उनको भनाइ छ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवाबाट नुवाकोट हुँदै त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। सोही बाढीका क्रममा केन्द्रीय कारागारसमेत उच्च जोखिममा परेको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ९ : १० बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा