सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ « Khabarhub

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ



एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने सन्देश दिँदै अभिनेत्री सुस्मिता लामाले आफ्ना तस्बिरलाई लिएर हुने टिप्पणीप्रति धारणा सार्वजनिक गरेकी छन्।

अभिनेत्री सुस्मिता लामा सामाजिक सञ्जालमा नयाँ–नयाँ तस्बिर तथा भिडियो सेयर गरिरहन्छिन्। उनका पोस्टमा फ्यान तथा शुभेच्छुकको प्रतिक्रिया पनि उत्तिकै आउने गर्छ।

कहिले ‘केसी’ थर प्रयोग गरेको विषयमा त कहिले आफ्नै गीत रिमेक गरिएको विषयमा प्रतिक्रिया दिएर चर्चामा आउने सुस्मिता पछिल्लो समय भने एआई प्रविधिबाट तयार गरिएका तस्बिरका कारण चर्चामा छिन्।

सामाजिक सञ्जालमा उनका केही तस्बिरलाई लिएर एआई प्रयोग गरिएको हुनसक्ने भन्दै प्रश्न उठेपछि सुस्मिताले लामो स्टाटसमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छन्। उनले राम्रो देखिने कुनै पनि तस्बिर देख्नेबित्तिकै ‘यो त एआई हो’ भनेर निष्कर्ष निकाल्ने प्रवृत्तिबाट टाढा रहन आग्रह गरेकी छन्।

सुस्मिताका अनुसार अहिलेको डिजिटल समयमा फोटोमा सामान्य सुधारदेखि लिएर कलर करेक्सन, लाइटिङ तथा क्रिएटिभ एडिटिङसम्मका लागि एआई उपयोगी प्रविधि बनिसकेको छ। त्यसैले फोटोमा एआईको प्रयोग हुँदैमा त्यसलाई गलत रूपमा बुझ्न नहुने उनको भनाइ छ।

‘एआई प्रयोग गर्नु कुनै गलत कुरा होइन,’ उनले उल्लेख गरेकी छन्। आधुनिक प्रविधिको प्रयोग गरेर तस्बिरलाई अझ आकर्षक बनाउन सकिने भए पनि त्यसलाई नै व्यक्तिको वास्तविक रूप वा मेहनतको सम्पूर्ण आधार मान्न नहुने उनको धारणा छ।

उनले एआईबाट फोटो तयार पार्न पनि समय, सीप, मेहनत र पैसा खर्च हुने बताएकी छन्। सबै एआई उपकरण निःशुल्क नहुने भन्दै यसको प्रयोगलाई बाहिरबाट हेर्दा जस्तो सहज देखिन्छ, वास्तविकता त्यति मात्र नभएको उनले संकेत गरेकी छन्। तर सुस्मिताको स्टाटसको मुख्य सन्देश भने ‘राम्रो देखिन एआई मात्रै पर्याप्त हुँदैन’ भन्नेमा केन्द्रित छ।

उनले आफूलाई स्वस्थ, फिट र आत्मविश्वासी राख्न वर्षौंदेखि मेहनत गर्दै आएको बताएकी छन्। स्वस्थ जीवनशैली, अनुशासन, नियमित अभ्यास, त्याग र समर्पण पनि व्यक्तिको बाहिरी तथा भित्री व्यक्तित्व निर्माणका महत्त्वपूर्ण आधार भएको उनको भनाइ छ।

सुस्मिताले सामाजिक सञ्जालमा आफूले फोटो मात्र नभई वास्तविक भिडियो पनि नियमित रूपमा सेयर गर्ने गरेको उल्लेख गरेकी छन्। उनका अनुसार भिडियोमा पनि आफू त्यस्तै देखिने र फोटोमा पनि त्यही व्यक्तित्व देखिने भएकाले फोटो र भिडियो दुवैलाई तुलना गरेर हेर्न सकिन्छ।

त्यसैले कुनै तस्बिर आकर्षक देखियो भन्दैमा तत्काल ‘एआईबाट बनाइएको हो’ भन्ने निष्कर्षमा पुग्नु उचित नहुने उनले बताएकी छन्। उनको यो भनाइले सामाजिक सञ्जालमा पछिल्लो समय बढ्दै गएको अर्को बहसलाई पनि छोएको छ। प्रविधिको विकाससँगै वास्तविक फोटो र एआईबाट परिमार्जित वा सिर्जना गरिएका तस्बिर छुट्याउन कठिन हुँदै गएको छ। यसले कलाकार तथा सार्वजनिक व्यक्तिले सामाजिक सञ्जालमा राख्ने सामग्रीलाई लिएर अनुमान र टिप्पणी गर्ने क्रम पनि बढाएको छ।

यही सन्दर्भमा सुस्मिताले फोटोको अन्तिम परिणाम मात्र नभई त्यसको पछाडि रहेको मेहनत, अनुशासन र समर्पणलाई पनि बुझ्न आग्रह गरेकी छन्। ‘कुनै फोटो वा भिडियोको पछाडि कति मेहनत, अनुशासन र समर्पण लुकेको हुन्छ भन्ने बुझ्ने प्रयास गरौँ। आलोचना गर्नुअघि सम्मान गर्न सिकौँ,’ उनको भनाइ छ।

आफू आज जुन अवस्थामा पुगेकी छन्, त्यसमा आफ्नो निरन्तर मेहनतसँगै भगवान् महादेवको असीम कृपा र आशीर्वाद रहेको पनि सुस्मिताले उल्लेख गरेकी छन्। त्यसका लागि आफू सधैँ कृतज्ञ रहेको बताउँदै उनले स्टाटसको अन्त्यमा ‘हर हर महादेव’ लेखेकी छन्।

सुस्मिताको यो भनाइलाई केवल एआई फोटोको बचाउका रूपमा मात्र हेर्नुभन्दा पनि प्रविधि प्रयोग र वास्तविक मेहनतबीचको अन्तर बुझाउने प्रयासका रूपमा लिन सकिन्छ। किनकि तस्बिरलाई सुन्दर बनाउन एआईले साथ दिन सक्छ, तर त्यो सुन्दरता कायम राख्न चाहिने मेहनत, अनुशासन र आत्मविश्वास कुनै प्रविधिले तयार पार्न सक्दैन।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ८ : ४१ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना