हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार « Khabarhub

हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको खोज तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्‍याएको योगदानका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन् । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले मङ्गलबार स्टकहोममा पुरस्कार घोषणा गरेको हो ।

८२ वर्षीय हालजेन अमेरिकाको विस्कन्सिन–म्याडिसन विश्वविद्यालयसँग आबद्ध छन् । उच्च–ऊर्जा न्युट्रिनो ब्रह्माण्डका अत्यन्त ऊर्जाशील स्रोतबाट आउने सूक्ष्म कण हुन् । उनको अनुसन्धान तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्‍याएको योगदानले यस्ता कणको खगोलीय मूल पहिचान र अध्ययनमा महत्त्वपूर्ण आधार तयार गरेको छ ।

यस वर्षको नोबेल पुरस्कारको रकम एक करोड २० लाख स्विडिस क्रोनर रहेको छ । यो रकम करिब १२ लाख अमेरिकी डलर बराबर हो । पुरस्कार एक जना व्यक्ति, केही पुरस्कार विजेताको समूह वा कुनै संस्थालाई प्रदान गर्न सकिने व्यवस्था छ । गत वर्ष तीन जना वैज्ञानिकले परमाणुभन्दा साना कणमा देखिने ‘क्वान्टम टनेलिङ’ नामक असामान्य घटनासम्बन्धी अनुसन्धानका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए ।

उनीहरूको अनुसन्धानले एमआरआई उपकरणबाट अत्यन्त संवेदनशील मापन गर्न सकिने प्रविधिको विकासमा सहयोग पुर्‍याउनुका साथै अझ प्रभावकारी मोबाइल फोन र तीव्र गतिको कम्प्युटर विकासका लागि आधार तयार गरेको थियो । यस वर्षको नोबेल पुरस्कार घोषणा सोमबार चिकित्साशास्त्रतर्फको पुरस्कारबाट सुरु भएको हो ।

सो पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिएको छ । उनीहरूको अनुसन्धानले मस्तिष्कले कसरी काम गर्छ भन्ने अध्ययनका लागि प्रकाशको प्रयोग गर्ने उपकरण विकास गर्न योगदान पुर्‍याएको छ ।

नोबेल पुरस्कारअन्तर्गत बिहीबार रसायनशास्त्र र साहित्यतर्फका पुरस्कार घोषणा गरिनेछ । शुक्रबार शान्तितर्फको पुरस्कार प्रदान गरिनेछ भने आगामी सोमबार आर्थिक विज्ञानतर्फको नोबेल स्मृति पुरस्कार घोषणा गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : ३३ बजे

तापक्रम वृद्धिको जोखिम बढ्दै, कोप–३१ मा जलवायु संकटबारे बहस

काठमाडौँ– विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती

टाइमको जलवायु प्रभावशाली सूचीमा परेकन वाग्लेलाई रास्वपाको बधाई

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अमेरिकी पत्रिका ‘टाइम’को सन्

‘सभापति गगन थापाविरुद्ध राज्य नै भ्रम फैलाउँदै छ, निष्पक्ष छानबिन गरौँ’

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य इन्जिनियर दीपकबाबु कँडेलले पार्टी सभापति

जुम्लामा लोभ हुँदै पानी घट्ट 

जुम्ला– जुम्लामा पछिल्लो समयमा परम्परागत पानी घट्टहरू लोभ हुँदै गएका

चार खेल खेलेर एनपीएलबाट फर्किए डेभिड वार्नर

 काठमाडौँ – अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर