काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन् । महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित भएकी हुन् । निर्वाचित भएपछि पहिलो पटक खबरहबसँग कुरा गर्दै भुसालले थोरै भावुकता र धेरै जिम्मेवारी बोध भएको जानकारी दिइन् । आफ्नो मुख्य उद्देश्य कांग्रेस एक बनाउन रहेको बताउँदै महिलाहरूको समावेशिताको मुद्दालाई अगाडि बढाएर पार्टीले उपसभापति र महामन्त्रीमा महिला कोटा छुट्याएकोमा धन्यवाद दिइन् ।
उपसभापतिमा आफूलाई निर्विरोध निर्वाचित गराउने सम्पूर्णलाई धन्यवाद दिँदै उनले निर्विरोध निर्वाचित गराएकोमा सप्राइज भएको बताइन् । भुसाल कांग्रेसमा एकताको महाधिवेशन हुन नसकेकोमा थोरै निराश पनि छिन् । कांग्रेसले महिलाहरूलाई प्राथमिकता दिएकोले महिला नेतृत्वमै पुग्ने अवस्था नजिक रहेको बताउँछिन् । प्रस्तुत छ कांग्रेस उपसभापति पुष्पा भुसालसँग गरिएको कुराकानीको सम्पादित अंश-
बधाई छ यहाँ निर्विरोध रुपमा महिला उपसभापतिमा विजय हुनुभयो…
धेरै धेरै धन्यवाद । आदरणीय महिला साथीहरुले मप्रति गर्नुभएको माया र सम्मान हो । उहाँहरुले गर्नुभएको विश्वास, माया सम्मान र हौसलाका लागि म एक दमै धेरै धन्यवाद दिन चाहन्छु । नेपाली कांग्रेसमा धेरै जना महिलाहरु उपसभापति आउने नेतृहरु हुनुहुन्छ । तर उहाँहरुले मलाई विश्वास गरेर नै यसरी निर्विरोध निर्वाचित गराउनु भएछ म त सप्राइज भए ।
तपाईँ पहिलो पटक विधान अनुसार महिला उपसभापति बन्नुभएको छ, विशेष महाधिवेशनबाट पनि उपसभापति नै हुनुहुन्थ्यो । अहिले कस्तो लागेको छ ?
उपसभापति, महामन्त्री जस्ता निर्णायक ठाउँमा महिला चाहिन्छ भनेर हामी धेरै जनाले आवाज उठाउँदै आएका थियौँ । त्यसलाई नेतृत्व तहमा रहनुभएका साथीहरुले पनि विधानमै समेटेर जानुभयो । यो एकदमै हाम्रा निम्ति सुनौलो अवसर थियो । यो व्यक्तिको कुरा होइन, पार्टीले एउटा निर्णायक ठाउँमा महिला उपसभापतिको सुनिश्चित गरेको छ, महामन्त्री सुनिश्चित गरेको छ । पहिलो कुरा त्यो नै एकदमै धेरै उत्साहित र स्वागतयोग्य छ ।
पार्टी सभापति र अरु नेताहरूले पार्टीलाई लोकतान्त्रिक समावेशी र ऐतिहासिक बनाउनुपर्छ भन्ने उद्देश्यले यी पदहरूलाई योग्य ठानेर राखिदिनुभयो । विधान संशोधन भएर धेरै महिला नेतृहरुले अवसर पाउने बाटो खुल्यो । उम्मेदवारीको कुरा गर्दा सबैलाई प्रतिस्पर्धामा जान बाटो खुल्ला नै हो । कसैलाई निषेध र बन्देज पनि थिएन । भर्खरै निर्विरोध भएको भनेर जुन हिसाबले बाहिर कुराहरु आइराखेको छ, यो प्रतिस्पर्धा भनेको आन्तरिक लोकतान्त्रिक पद्धति पनि हो । प्रतिस्पर्धा गर्न पाएको भए राम्रै हुन्थ्यो ।
उपसभापतिमा अरु महिलाले पनि आकांक्षा राख्नु भएको थियो तर आफू अग्रज भएको हिसाबले रोकियो भन्ने लगायतका कुराहरू पनि आइरहेका छन् नि ?
कसलाई त्यस्तो भयो र ? मलाई त त्यो जानकारी छैन । मैले भनि नै राहेको छु- म लोकतान्त्रिक प्रक्रियालाई अपनाएर निर्वाचन लड्न चाहन्थेँ । तर साथीहरुले उम्मेदवारी दिनुभएन, त्यसमा कुनै समस्या भएन । म आफ्नै तयारीमा थिएँ । अरु कुरा चाहिँ मेरो जानकारीमा भएन । आफू विशेष महाधिवेशनबाट पनि उपसभापति भएको हिसाबले त्यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता थियो । कसैलाई निषेध गर्ने भन्ने कुरा त सवालै हुँदैन नि !
कतिको उत्साहित हुनुहुन्छ?
उत्साहित छु । जिम्मेवारी बढेको छ । यसलाई एउटा गौरवका रुपमा हेर्ने हो । कांग्रेस ठूलो विरासत बोकेको पार्टी भएपनि महिलाहरू पार्टीमा समावेशी हुने क्रम ज्यादै न्यून थियो । सबैले मलाई आशा र भरोसाको रुपमा हेर्नुभएको छ, त्यस हिसाबले सहभागिता र समावेशिताको हिसाबमा मबाट भोलिको लागि महिला नेतृत्व तयार पार्ने वातावरण बनाउने कार्य हुन्छ। अहिलेसम्म कांग्रेसको इतिहासमा महिला नेतृ नेतृत्वमा पुगेको देखिँदैन । यसलाई पनि मैले गम्भीर रुपमा लिएर त्यतातिर लाग्ने तर्फ ध्यान दिन्छु । राष्ट्रिय राजनीतिमा महिलाहरूका मुद्दालाई दह्रो रुपमा उठाउन मेरो भूमिका रहन्छ । म यहाँलाई यति चाहिँ भन्न सक्छु- कांग्रेसमा महिलाले नै नेतृत्व गर्ने दिन अब धेरै टाढा छैन । यसका लागि सबै साथीहरू सकारात्मक र प्रेरणादायी हुनुहुन्छ ।
कांग्रेस अहिले छरिएको छ एकताको महाधिवेशन हुन सकेन, अब कसरी अगाडि बढ्नुपर्छ ?
अहिले हामी महाधिवेशनमै छौँ । त्यसैले महाधिवेशनपछि एउटा निर्णय गरेर पार्टीमा छलफल र सहकार्य मार्फत एकताका लागि सबै तर्फबाट प्रयास हुन्छ । यो पार्टीलाई अझै कसरी मजबुत बनाउने र सबैलाई विश्वासको केन्द्र कसरी बनाउने भन्ने विषयमा घनिभूत छलफल गर्छौँ । तल्लो तहमा संगठन बिग्रिएको छ, हामी जरासम्म पुग्नुपर्ने छ । त्यहाँ पुगेर कसरी संगठन निर्माण गर्ने र हिजोकै कांग्रेस कसरी बनाएर बलियो दिशामा लाने भन्ने विषयमा गम्भीर विमर्श गर्न बाँकी छ । त्यसै हिसाबले हामीले पार्टीलाई अगाडि बढाउँछौँ ।
खास गरेर अहिले तपाईँले महाधिवेशनमा धेरै मिस गरेको कुरा चाहिँ के हो ?
होइन महिलाहरूको नेतृत्व स्थापित हुनुपर्छ । अरु पार्टीभन्दा कांग्रेस धेरै लोकतान्त्रिक पार्टी हो । तर हामी नै यसमा पहिलो उदाहरण बनेर अगाडि बढ्नुपर्छ भन्ने मेरो कुरा थियो । सबै साथीहरु एकजुट हुन नसकेकोमा, अरु नआउनु भएका साथी र अग्रजहरुलाई पक्कै पनि मिस गरियो । नेतृत्व तहमा महिलाहरूलाई पार्टीले अवसर दियो, यो पनि अविस्मरणीय छ । मलाई यसले एकदमै भावुकता र उत्प्रेरणा मिलेको छ । पार्टीभित्र समावेशिता र महिला नेतृहरू माथिल्लो तहमा पुग्ने एउटा अवसरको रुपमा मैले हेरेको छु । आगामी दिनमा कांग्रेसको मूल नेतृत्वमा पनि महिला पुग्न अब समस्या हुँदैन । त्यसकारण यहाँसम्म पुर्याउनका लागि विधान संशोधन गरेर हाम्रा नेताहरूले जुन अवसर र भूमिका खेल्नुभएको छ, त्यसका लागि म उहाँहरू सबै नेतृत्व र साथीहरुलाई धन्यवाद दिन चाहन्छु । खासमा कांग्रेसमा साथीहरुले यो कुरा नबुझ्दिनु भएको भए महिला सहभागिताको स्थिति ज्यादै न्यून थियो । सहममन्त्रीमा मात्रै महिला आउने अवस्था थियो ।
तपाईँ पहिलो पटक निर्वाचित भएपछि मसँग कुरा गरिरहनु भएको छ । अब पार्टी एक बनाउन चाहिँ के रोल खेल्नुहुन्छ ?
पार्टी संगठन दह्रो र बलियो बनाउनका लागि अझै धेरै खट्नुपर्नेछ । नेतृत्वको हिसाबले पार्टी एक बनाउनका लागि विचार विमर्श छलफल एकीकरणका एजेण्डा तयार पार्नका लागि अझ धेरै भूमिका खेल्नु छ । सम्पूर्ण रूपमा आफ्नो शक्ति विवेक र क्षमता लगाएर पनि पार्टी एक बनाउने अभियानलाई आआफ्नो ढंगबाट अगाडि बढाउने पनि संकल्प छ । यो हाम्रो एउटा जिम्मेवारी पनि हो ।














प्रतिक्रिया