काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा अहिले सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अहिले सुदूरपश्चिमले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याउँदै कर्णालीले जवाफी ब्याटिङ गरिरहेको छ ।
खेलमा कर्णालीले पाचौँ विकेट गुमाएको छ । खेलको ९ ओभर ५ बलमा कर्णालीका हुसेन तलात आउट भए । दीपेन्द्रसिंह ऐरीको बलमा एलबीडब्लू आउट भए ।
आउट हुनुअघि उनले चार बलमा एक रन बनाए ।
यसअघि टस जितेर कर्णालीले पहिला फिल्ड रोजेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १७६ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि ओपनर शैफ जैबले सर्वाधिक ३५ रन जोडे । उनले एक छक्का र चार चौका प्रहार गरे । अर्का ओपनर विनोद भण्डारीले २२ बलमा २७ रन जोड्दा दुई चौका र दुई छक्का हिर्काए ।
त्यसैगरी ब्रान्डन म्याकमलेनले २४, इशान पाण्डे २३, कप्तान दीपेन्द्रसिंह ऐरी १०, आरिफ शेख ११ रन बनाएर आउट भए । उसका लागि थरिन्दु रत्नायकेले नटआउट २२ रन बनाउँदा स्कट कुगेलेनले नटआउट १३ रन थपे ।
सुदूरपश्चिमलाई सस्तैमा रोक्न कर्णालीका लागि मार्क वाटले दुई विकेट हात पार्दा नन्दन यादव, सुहेन तलात र सूर्य तामाङले एकएक विकेट लिए ।
तीन खेलमा दुई जित र एक हारको सामना गरेको कर्णाली चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ । यता चार खेलमा दुई हार र दुई जित निकालेको सुदुरपश्चिम समान चार अंक भए पनि रनरेटका आधारमा तालिकाको छैटाैँ स्थानमा छ ।














प्रतिक्रिया