काठमाडौं – बलरहरूको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको हो ।
चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै अलआउट भयो । यो जितसँगै चार खेलबाट पाँच अंक जोडेको चितवन अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पोखराले भने लगातार चौथो हार बेहोरेको छ । चार खेलबाट अंक जोड्न नसकेको पोखरा तालिकाको पुछारमा छ ।
पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए । उनले ४४ बलमा तीन चौका र एक छक्का प्रहार गरे । युवराज सम्राले १९ तथा किरण ठगुन्ना र अर्जुन घर्तीले समान १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पोखराले सुरुवातदेखि नै दबाब झेल्नुपरेको थियो । ओपनर कुशल भुर्तेल पहिलो ओभरको तेस्रो बलमै चार रन बनाएर आउट भए । त्यसपछि युवराज सम्रा र अर्जुन कुमालले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे । सम्रा १४ बलमा १९ रन बनाएर आउट भएपछि पोखराको ब्याटिङ क्रम सम्हालिन सकेन ।
अर्जुन कुमालले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरे पनि उनलाई अर्को छेउबाट पर्याप्त साथ मिलेन । सदिरा समराविक्रमा चार र महेदी हसन सात रनमा आउट भए । कप्तान चमिका करुणारत्ने पनि दुई रनमै पभेलियन फर्किए ।
बलिङमा चितवनका रिजन ढकालले उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभरमा २४ रन खर्चेर चार विकेट लिए । कमलसिंह ऐरीले दुई ओभरमा एक मेडन राख्दै सात रन दिएर तीन विकेट हात पारे । डान मोस्ले, मौसम ढकाल र कुशल मल्लले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो ।
चितवनका कप्तान सिकन्दर राजाले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ३७ रन बनाए । उनले १६ बलमा दुई चौका र चार छक्का प्रहार गरे । रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डाविड मालानले २८ रनको योगदान दिए ।
ओपनर अर्जुन साउद र डाविड मालानले पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै चितवनलाई राम्रो सुरुवात दिलाएका थिए । अर्जुनले २७ बलमा दुई चौका र एक छक्का प्रहार गरे भने मालानले २८ बलमा तीन चौका प्रहार गरे ।
त्यसपछि ब्याटिङमा आएका रवि बोपाराले एक छेउ सम्हाल्दै इनिङ्स अघि बढाए । डान मोस्ले दुई र यस सिजन पहिलो खेल खेलिरहेका मार्की खेलाडी कुशल मल्ल ११ रनमा आउट भए । ८६ रनमा चार विकेट गुमाएको अवस्थामा बोपारा र कप्तान राजाले पाँचौँ विकेटका लागि ६० रनको साझेदारी गरे ।
बोपाराले २८ बलमा तीन चौका र एक छक्कासहित ३५ रन बनाए । तर, अन्तिम ओभरमा पोखराका कप्तान चमिका करुणारत्नेले बोपारा र राजालाई आउट गर्दै चितवनको रन गति रोक्ने प्रयास गरे ।
पोखराका लागि चमिका करुणारत्ने, विपिन खत्री र कुशल भुर्तेलले समान दुई विकेट लिए । लगातार तीन खेलमा पराजित भएपछि पोखराले यस खेलअघि कप्तानी परिवर्तन गरेको थियो । कुशल भुर्तेलको स्थानमा श्रीलंकाली खेलाडी चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । तर, कप्तान परिवर्तन गर्दा पनि पोखराले हारको शृंखला तोड्न सकेन ।














प्रतिक्रिया