काठमाडौं– नेपाल औषधि व्यवसायी संघले नियमविपरीत सञ्चालन भइरहेका अनलाइन तथा डिजिटल फार्मेसीमाथि तत्काल कारबाही गर्न माग गरेको छ ।
संघले औषधि व्यवस्था विभागका महानिर्देशक डा. नारायण ढकाललाई ध्यानाकर्षण पत्र बुझाउँदै अनलाइन तथा डिजिटल माध्यममार्फत भइरहेको औषधिको बिक्री, वितरण र प्रचार–प्रसार तत्काल नियन्त्रणमा लिन आग्रह गरेको हो ।
संघका अनुसार औषधि ऐन २०३५, औषधि बिक्री वितरण संहिता २०८० तथा अन्य प्रचलित औषधि सम्बन्धी ऐन–कानुनमा अनलाइन तथा डिजिटल माध्यमबाट औषधि बिक्री–वितरण गर्ने सम्बन्धी स्पष्ट व्यवस्था छैन ।
संघले यस किसिमको प्रचलनले चिकित्सकको प्रेस्क्रिप्सनको अवहेलना, औषधिको दुरुपयोग, जनस्वास्थ्यमा जोखिम, तथा फार्मेसीहरूबीच अस्वस्थ प्रतिस्पर्धा जस्ता समस्या उत्पन्न हुने ठहर गरेको छ ।
साथै सामाजिक सञ्जालमार्फत औषधिको विज्ञापन, अस्वस्थकर अफर, प्रतिस्पर्धा तथा होम डेलिभरी जस्ता गतिविधिमाथि कडाइका साथ नियमन गर्न र ऐन उल्लङ्घन गर्ने व्यक्ति वा संस्थामाथि कानुन बमोजिम कारबाही गर्न संघले विभागसँग माग गरेको छ ।















प्रतिक्रिया