काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठले पाँच फिल्ममा सहकार्य मात्रै गरेनन्, उनीहरु ओपन रिलेसनमा पनि बसे ।
यी दुईको संयुक्त अभिनय रहेको पाँचौं फिल्म ‘भाइरल गोर्खे’ भने ब्रेकअपपछिको पहिलो सहकार्य हो ।
अहिले उनीहरु यसको प्रचारमा व्यस्त छन् । माघ १ गते प्रदर्शन मिति तोकिएको छ ।
ब्रेकअपपछि सौगात र श्रृष्टि कसरी सार्वजनिक स्थानमा प्रस्तुत हुन्छ भन्ने चासोकै बीच ट्रेलर रिलिज कार्यक्रममा श्रृष्टिले सौगातलाई ‘दाइ’ लगाएर सम्बोधन गरिन् ।
शंका छैन, श्रृष्टिभन्दा सौगातको उमेर ठूलो हो । तर, आफ्नो मन पर्ने हिरोलाई उसकै पूर्वप्रेमिकाले ‘दाइ’ लगाएर सम्बोधन गरेको दर्शकलाई सामान्य लागेन । उक्त अंश बोलेको भिडियो भाइरल भयो । श्रृष्टि ट्रोल पनि बनिन् ।
यो पनि : जब सौगातलाई पूर्वप्रेमिकाले दाइ भनिन्…
त्यसयता श्रृष्टि यो विषयमा स्पष्टीकरण दिने मौका पर्खिरहेकी रहेछिन् । यही फिल्मबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा भिडियो भाइरल बनेको कुरा उठ्यो । उनले कुरा उठाउने पत्रकारलाई धन्यवाद दिँदै भनिन्, ‘म यो बारेमा बोल्न खोजिरहेकी थिएँ । धन्यवाद तपाईंले प्रसंग निकाल्नुभयो ।’
आफूले सौगातलाई कहिल्यै दाइको नातामा सम्बोधन नगर्ने र उक्त बेला जिब्रो चिप्लिएको उनको स्पष्टीकरण छ ।
उनले थपिन्, ‘प्रश्न सोध्नेले सौगात दाइ भन्नुभयो । म पनि त्यही फ्लोमा गएर दाइ भनेछु । वास्तवमा म उहाँलाई दाइ भन्दिनँ । नामले नै बोलाउने गर्छु ।’
सौगातले पनि श्रृष्टिलाई साथ दिए । उनले भने, ‘मलाई थाहा थियो उसको जिब्रो चिप्लिएको हो भनेर । किनकि मैले उसलाई चिनेको छु नि त । त्यसबेला दाइ भनिहाल्यो, त्यही बेला मलाई अब यो कुरा भाइरल हुने भयो भन्ने लागेको थियो । नभन्दै त्यही भयो ।’
श्रृष्टिले दाइ भन्दा आफ्नो चित्त भने नदुखेको सौगातले सेयर पनि गरे । ब्रेकअपपछि पनि आफूहरुको सम्बन्ध साथीकै रहेको उनीहरुको भनाइ छ ।













प्रतिक्रिया