अमेरिकी अदालतमा मदुरो : म अझै पनि राष्ट्रपति हुँ, मलाई ‘अपहरण’ गरेर ल्याइयो « Khabarhub

अमेरिकी अदालतमा मदुरो : म अझै पनि राष्ट्रपति हुँ, मलाई ‘अपहरण’ गरेर ल्याइयो


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार न्यूयोर्क सिटीको अदालतमा बयान दिएका छन् ।

उनले आफू ‘निर्दोष’, ‘सभ्य व्यक्ति’ रहेको बताउँदै अमेरिकाद्वारा ‘अपहरण गरिएको’ उल्लेख गरेका छन्। शनिबार अमेरिकाले आफ्नो देशमाथि गरेको सैन्य कारबाहीपछि यो उनको पहिलो सार्वजनिक अभिव्यक्ति हो।

मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाको विशेष बलले कराकासस्थित निवासबाट कब्जा गरेर लगेको थियो।

अन्तर्राष्ट्रिय कानुनविपरीतको उक्त कदमको व्यापक निन्दा भएको छ । उक्त कारबाहीपछि उनीहरूलाई संघीय अदालतमा ‘नार्कोटेरोरिज्म’ लगायतका आरोपमा सुनुवाइका लागि उपस्थित गराइएको हो।

सोमबार दिउँसो १२ बजे अमेरिकी जिल्ला न्यायाधीश एल्भिन के हेलरस्टिनसमक्ष उनीहरूलाई छोटो कारवाहीका लागि उपस्थित गराइयो। यससँगै उनीहरू अमेरिकामा मुद्दा सामना गर्न सक्छन् कि सक्दैनन् भन्ने लामो कानुनी लडाइँ सुरु भएको छ।

हातकडी लगाइएर निलो जेल पोसाकमा रहेका मदुरो र उनकी पत्नीलाई सुरक्षाकर्मीले अदालतमा ल्याए। अंग्रेजीमा भएको कारवाही स्पेनी भाषामा अनुवाद सुन्न दुवैले हेडसेट लगाएका थिए।

मदुरोले दोष अस्वीकार गर्दै न्यायाधीशलाई भने, ‘म अपहरणमा परेँ। म निर्दोष र सभ्य व्यक्ति हुँ, म मेरो देशको राष्ट्रपति हुँ।’

अदालत बाहिर सडकपारि प्रहरीले अमेरिकी अपहरणको विरोध गर्ने सानो प्रदर्शनकारी समूहलाई तितरबितर पारेको थियो । उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर मदुरो समर्थक दर्जनजतिलाई हटाएको थियो। त्यहाँ एक व्यक्तिले अमेरिकी कारबाहीविरुद्ध प्रदर्शन गरिरहेकाहरूबाट भेनेजुएलाको झन्डा खोसेको दृश्य देखियो।

यदि दोषी ठहरिएमा मदुरो, उनकी पत्नी, छोरा र अन्य तीन जनालाई लागूऔषध कार्टेलसँग मिलेर हजारौँ टन कोकिन तस्करी गराउन सहयोग गरेको आरोपमा आजीवन कारावास हुन सक्छ। केही पर्यवेक्षकका अनुसार मदुरोलाई कार्टेलसँग जोड्ने ठोस प्रमाण छैन।

मदुरोका वकिलहरूले उनको गिरफ्तारीको वैधानिकता चुनौती दिने बताएका छन्। उनीहरूको दाबी छ, मदुरो परदेशी सार्वभौम राष्ट्रका प्रमुख भएकाले अभियोजनबाट प्रतिरक्षा पाउने हैसियतमा छन्। यद्यपि अमेरिका र केही देशहरूले उनलाई भेनेजुएलाको वैध नेता मान्यता दिएका छैनन्।

अराइन्मेन्टका क्रममा फ्लोरेसले पनि आफूमाथि लागेका अमेरिकी आरोप अस्वीकार गरिन्। न्यायाधीश हेलरस्टिनले मदुरोलाई मार्च १७ मा अर्को सुनुवाइका लागि उपस्थित हुन आदेश दिएका छन्।

अमेरिकीविरुद्ध ‘आक्रमण’ को आरोप

सुनुवाइको अन्त्यतिर मदुरोका वकिल ब्यारी जे पोलाकले उनका ग्राहक ‘सार्वभौम राष्ट्रका प्रमुख’ भएकाले त्यही हैसियतअनुसारका विशेषाधिकार पाउनुपर्ने बताए।

पोलाकका अनुसार उनको ‘सैन्य अपहरणको वैधानिकतामाथि प्रश्न’ छन् । ती कानुनी चुनौतीहरूलाई लिएर ‘ठूलो संख्यामा’ पूर्वविचार निवेदन दर्ता गरिनेछ।

यसअघि तस्वीरहरूमा मदुरो र उनकी पत्नीलाई कडा सुरक्षा घेरामा हेलिकप्टरबाट थुनुवा केन्द्रबाट अदालततर्फ ल्याइँदै गरेको देखिएको थियो। उनीहरूलाई दुई दिनअघि कराकासबाट जबरस्ती उठाइएको थियो।

सोमबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठकमा महासचिव एन्टोनियो गुटेरेसले वासिङ्टनले मदुरोलाई नियन्त्रणमा लिँदा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन भएकोमा चिन्ता व्यक्त गरे।

‘३ जनवरीको सैन्य कारबाहीमा अन्तर्राष्ट्रिय कानुनका नियमहरू पालना नभएको देखिन्छ। चार्टरले कुनै पनि राज्यको भौगोलिक अखण्डता वा राजनीतिक स्वतन्त्रतामाथि बल प्रयोग गर्ने वा धम्की दिने कुरालाई निषेध गर्छ,’ गुटेरेसले संयुक्त राष्ट्रसंघको चार्टर उल्लेख गर्दै भने।

‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न सबै सदस्य राष्ट्रहरूले चार्टरका सबै प्रावधान पालना गर्न निरन्तर प्रतिबद्ध रहनु जरुरी छ’, उनले भने ।

संयुक्त राष्ट्रसंघका लागि भेनेजुएलाका राजदूत सामुएल मोनकाडाले अमेरिकाले आफ्नो देशमाथि अवैध सशस्त्र आक्रमण गरेको आरोप लगाए।

मोनकाडाका अनुसार भेनेजुएलामा बमबारी, नागरिक संरचनाको ध्वंस, नागरिक र सैनिकको ज्यान गएको र मदुरो तथा उनकी पत्नीको ‘अपहरण’ गरिएको छ।

कार्यरत राष्ट्रप्रमुखलाई अपहरण गर्नु अन्तर्राष्ट्रिय कानुनको मूल मान्यता, अर्थात् पदमा रहेका नेताको व्यक्तिगत प्रतिरक्षाको उल्लङ्घन भएको उनले बताए। यस्तो कदमले सबै देशका लागि खतरनाक उदाहरण स्थापित गर्ने चेतावनी पनि दिए।

भेनेजुएलाका शक्तिशाली सहयोगी रूस र चीनले मदुरोको अपहरणको कडा निन्दा गर्दै उनको रिहाइको माग गरे।

अमेरिकाका सहयोगी फ्रान्स र कोलम्बियाले पनि वासिङ्टनको सैन्य कारबाहीले अन्तर्राष्ट्रिय कानुन कमजोर बनाएको भन्दै चिन्ता व्यक्त गरे।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक भाल्ट्जले भने मदुरोको नियन्त्रणलाई ‘कानुन कार्यान्वयनको कारबाही’ भन्दै बचाउ गरे।

‘संयुक्त राज्य अमेरिकाले एक नार्कोट्राफिकरलाई पक्राउ गरेको हो, जो अब अमेरिकामै मुद्दा सामना गर्नेछ,’ भाल्ट्जले भने।

उनले मदुरो ‘अमेरिकी जनताविरुद्ध आक्रमणका लागि जिम्मेवार’, ‘पश्चिमी गोलार्द्ध अस्थिर बनाउने’ र ‘भेनेजुएलाका जनतालाई अवैध रूपमा दमन गर्ने’ व्यक्ति भएको आरोप लगाए।

विशाल तेल सम्पदा

दक्षिण अमेरिकाको यो देशमा भएको तीव्र घटनाक्रमपछि भेनेजुएलाको प्रतिक्रियातर्फ सबैको ध्यान गएको छ। आइतबार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको भेनेजुएलामा अमेरिका ‘नियन्त्रणमा’ रहेको दाबी गरेका थिए।

यसैबीच, उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई सोमबार अन्तरिम राष्ट्रपति रूपमा औपचारिक रूपमा शपथ गराइएको छ।

५६ वर्षीया श्रम कानुनकी वकिल रोड्रिगेजलाई राष्ट्रिय सभाका अध्यक्ष तथा उनका दाजु होर्जे रोड्रिगेजले शपथ गराएका हुन्। उनी निजी क्षेत्रसँग नजिकको सम्बन्ध र सत्तारुढ दलप्रतिको निष्ठाका लागि चिनिन्छिन्।

सुरुमा रोड्रिगेजले राष्ट्रपतिको नियन्त्रणविरुद्ध कडा अडान लिएकी थिइन्, जसलाई केहीले ‘अमेरिकी गनबोट कूटनीति’को पुनरागमन भनेका थिए। तर अहिले उनले वासिङ्टनसँग ‘सहकार्य’ गर्न तयार रहेको संकेत दिएकी छन्।

एक विश्लेषकका अनुसार विपक्षीहरू मदुरोलाई सत्ताबाट हटाउन अमेरिकी हस्तक्षेपको कदर गर्छन्, तर ट्रम्पले भेनेजुएलालाई ‘चलाउने’ योजना बोलेको कुराले उनीहरू चिन्तित छन्।

कराकासस्थित निजी विश्वविद्यालयका प्राध्यापक होसे म्यानुएल पुएन्तेले अल जजिरालाई भने, ‘ट्रम्पले भेनेजुएलाका जनताको निर्णय मान्यता दिएका छैनन्। हामी अमेरिकी उपनिवेश होइनौँ। हामी स्वतन्त्र देश हौँ।’

‘हामी लोकतन्त्रतर्फ संक्रमण, संस्थाहरू पुनर्निर्माण, अर्थतन्त्र र तेल क्षेत्र पुनर्जीवित गर्न चाहन्छौँ। तर अहिलेसम्म ट्रम्पबाट त्यो देखिँदैन,’ उनले भने।

‘तपाईं सफल हुनुहुन्न’

सोमबार भेनेजुएलाको राष्ट्रिय सभा ‘लेट्स गो, निको!’ भन्ने नारासहित सुरु भएको थियो। सांसदहरूले मदुरोको अपहरणको निन्दा गरे।

वरिष्ठ सांसद फर्नान्डो सोतो रोजासले भने, ‘अमेरिकी राष्ट्रपति ट्रम्प आफूलाई संसारको अभियोजक, न्यायाधीश र प्रहरी ठान्छन्।’

‘हामी भन्छौँ, तपाईं सफल हुनुहुन्न । अन्ततः हाम्रो वैध राष्ट्रपति निकोलस मदुरो विजयी भएर मिराफ्लोरेस (राष्ट्रपति भवन) फर्किनेछन्,’ उनले थपे।

रोड्रिगेज सन् २०१८ देखि मदुरोकी उपराष्ट्रपति रहँदै आएकी छन्। उनले तेलमा निर्भर अर्थतन्त्र र डर लाग्दो गुप्तचर संयन्त्रसमेत सम्हाल्दै आएकी थिइन्।

ट्रम्प र अन्य अमेरिकी अधिकारीहरूले तेलसम्पन्न देशलाई आफ्नो दृष्टिकोणअनुसार चलाउन दबाब दिने भनिरहेका बेला मदुरो प्रशासनका वरिष्ठ अधिकारीहरूको समूहले भेनेजुएला नियन्त्रणमा राखेको देखिन्छ।

आइतबार कराकासमा करिब २,००० मदुरो समर्थकले प्रदर्शन गरे। मोटरसाइकलमा सशस्त्र मानिसहरू पनि सहभागी थिए। भेनेजुएलाली सेनाले रोड्रिगेजलाई मान्यता दिएको र शान्ति कायम राख्न आग्रह गरेको छ।

ह्वाइट हाउसले आइतबार भन्यो, उसलाई शासन परिवर्तन होइन, मदुरोको हटाइ मात्र चाहिएको हो र त्यसपछि अमेरिकी कम्पनीहरूले तेल स्रोत प्रयोग गर्न सक्ने अनुकूल सरकार चाहिएको हो, त्यो सरकार उनका पूर्व सहकर्मीहरूले भरिएको भए पनि।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  २ : ४९ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान