काठमाडौं-विशेष अदालत काठमाडौं महानगरपालिकाको ठेक्का प्रक्रियामा भ्रष्टाचारको आरोपमा मुद्दा चलिरहेका सहसचिव प्रदीप परियारसहित सात जनालाई सफाइ दिएको छ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले तत्कालीन प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारसहित सातजनालाई सफाइ दिएको हो ।
यो मुद्दामा रेविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जनार्दन गिरिमाथिको आरोप प्रमाणित नभएको ठहर विशेषले गरेको हो।
काठमाडौं महानगरपालिकाको ठेक्का नं. ०६-२७-०८०-०८१-एनसीबीडब्लु-केएमसी अन्तर्गत समाखुसी करिडोरबाट बासुन्धरा–मेपीसम्मको संरचना निर्माण कार्यमा बोलपत्र मूल्याङ्कन प्रक्रियामा अनियमितता र हानिनोक्सानी भएको दाबी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको थियो ।
तर अदालतले प्राविधिक प्रस्ताव मूल्याङ्कन गर्दा समानान्तर निर्माण सेवा प्रालिले आफ्नो मुद्दासम्बन्धी आवश्यक विवरण नदिएको विषयमा गरिएको कम अंकको निर्णयलाई गलत वा बदनियतको रूपमा मान्न सकिने आधार नभएको ठहर गरेको छ।
आर्थिक प्रस्तावमा कबुल गरिएको अंकबारे निर्णय गर्ने समिति र अधिकारीलाई जानकारी नहुने अवस्थामा अन्य बोलपत्रदातासँग सम्झौता गरेर रकम हानि गरेको भन्ने पनि प्रमाणित नभएको देखिएको अदालतले जनाएको छ।
अदालतले बोलपत्र आव्हान र मूल्याङ्कन प्रक्रिया नियमानुसार भएको र कल्पवृक्ष–कोहिनुर जेभीलाई ठेक्का दिइएको ठहर गर्दै सबै प्रतिवादीलाई आरोपबाट सफाइ दिएको हो।













प्रतिक्रिया